काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्तरिम सरकारले तोकेको मितिमा निर्वाचन नभएका देश भयावह संकटमा जाने बताएका छन्।पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारलाई घोषित मितिमा निर्वाचन गराउने वातावरण बनाउनेतिर सबै लाग्नुपर्ने बताए।
उनले भने, ‘अन्तरिम सरकार बनिसकेको छ, निर्वाचनको मिति घोषणा भइसकेको स्थितिमा अब हामीले त्यही बाटोबाट छिटोभन्दा छिटो घोषित मितिमा निर्वाचन गर्नुपर्छ भनेर एकजुट भएर जानु आवश्यक छ। घोषित मितिमा चुनाव गर्न सरकार असफल भयो भने देशमा भयावह अवस्था आउँछ।’
उनले सबैको आवश्यकतालाई ध्यान दिएर जेनजी आन्दोलनको उपलब्धिलाई गुम्न नदिने गरी अन्तरिम सरकारलाई सफल बनाउनु लाग्नुपर्ने बताए। फागुन २१ को निर्वाचन माओवादी कसको नेतृत्वमा जान्छ ? भन्ने जिज्ञासामा
उनले थपे, ‘हामीले अब पार्टीको बैठक बस्छौँ। हामीले देश बचाउनुपर्छ, राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्नुछ। अहिले जेनजी आन्दोलनको सफलतालाई पनि गुम्न दिन हुँदैन। घोषित मितिमै निर्वाचन हुने वातावरण बनाउनेलगायतको विषयलाई केन्द्रमा राखेर पार्टीभित्र छलफल हुन्छ। छलफल नगरी कुनै निष्कर्षमा पुग्नु हुँदैन। जेनजीलगायत हामी सबैले उठाएको मुद्दाप्रति हाम्रो ध्यान गएकै छ।’
जेनजी आन्दोलनपछि माओवादीसहित कांग्रेस, एमालेमा पनि नेतृत्व परिवर्तन र पार्टी पुर्नगठनको बहस चलिरहेको छ।
उनले जेनजी आन्दोलनका क्रममा २४ गतेको घटना जेनजी नगरेको र दोषीलाई कारबाही गर्नुपर्ने बताए। उनले आगजनी र तोडफोडमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको भन्दै कोही संलग्न भएको देखिए कारबाही गर्ने पनि बताए।
Leave a Reply