फोन सम्पर्क नभएपछि नारायणकाजीले सामाजिक सञ्जालमार्फत दिए प्रधानमन्त्रीलाई ६ सुझाव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमार्फत सुझाव दिएका छन् ।

प्रधानमन्त्री नियुक्त भइसकेपछि प्रत्यक्ष सम्पर्क गर्ने धेरै प्रयास असफल भएकाे भन्दै उनले फेसबुकमार्फत सार्वजनिक सन्देश लेखेका हुन् ।

श्रेष्ठले प्रधानमन्त्रीलाई पठाएको सन्देशमा आफूले फोन वा नजिकका व्यक्तिहरूको मार्फत पनि बधाईसहित सुझाव दिन खोज्दा सम्पर्क हुन नसकेको उल्लेख गरेका छन् ।

‘मैले बधाई र शुभकामना यसअघि नै सार्वजनिक गरिसकेको छु । तर प्रत्यक्ष सम्पर्क हुन नसकेपछि यो सामाजिक सञ्जालमार्फत सुझाव दिन चाहन्छु ।’ उनले लेखेका छन् ।

श्रेष्ठले प्रधानमन्त्रीलाई दिएका सुझावमा ६ वटा मुख्य बुँदा छन्,

दलभन्दा बाहिरका स्वतन्त्र, निष्ठावान र क्षमतावान व्यक्तिहरूलाई मन्त्री बनाएर मन्त्रिपरिषद् चाँडै पूर्णता दिनु ।

देशमा शान्ति–सुरक्षा कायम गर्दै घोषित मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न केन्द्रित हुनु ।

भाद्र २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु ।
ध्वस्त संरचनाहरूको पुनःनिर्माण प्रक्रिया सुरु गर्नु ।

भ्रष्टाचारविरुद्ध सरकारका अघिल्ला कारबाहीलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाउनु ।

प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभामार्फत संघीय संसद्को भूमिका प्रभावकारी बनाउनु ।

श्रेष्ठले प्रधानमन्त्रीलाई लोकरिझ्याईका छिटफुट काममा समय खेर नफाली निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । उनले चेतावनी दिँदै भनेका छन्,’तपाईंको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह संकटमा धकेलिनेछ ।’

उनले सबैलाई सचेत रहँदै सरकारलाई निर्वाचन सम्पन्न गर्न सहयोग गर्न पनि आह्वान गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *