काठमाडौं । जेनजीको आन्दोलनको क्रममा सिंहदरबारमा भएको आक्रमणले राजधानीको प्रशासनिक केन्द्रलाई पनि प्रभावित बनायो ।
आन्दोलनकारीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र नेकपा काँग्रेस र नेकपा (एमाले) संसदीय दलका कार्यालयलाई लक्षित गर्दै ध्वस्त बनाए, जबकि अन्य अधिकांश मन्त्रालय र सरकारी निकाय भने अपेक्षाकृत सुरक्षित भेटिएका छन् ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका कार्यालय संघीय संसद सचिवालय भवन भित्र रहेका कारण जोगिए । सिंहदरबारमा रहेका थोरै कर्मचारीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले हस्तक्षेप नगर्दा प्रधानमन्त्री कार्यालयसहित त्यहाँ रहेका अधिकांश सवारी साधन ध्वस्त भए ।
नेपाल प्रेसकर्मीले आइतबार सिंहदरबारको विस्तृत अनुगमन गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालय सबैभन्दा बढी निशानामा परेकाे पाइयाे । त्यहाँका अधिकांश कोठा, भित्ता र सवारी साधनरू पूर्ण रूपमा नष्ट भए । त्यस्तै, नेपाली काँग्रेस र नेकपा (एमाले) संसदीय दलका कार्यालयमा पनि क्षति पुगेको पाइयो ।
सिंहदरबार नजिकै रहेको नरसिंह दल गण र त्यस नजिकैको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भवन भने सुरक्षित छन् । त्यति मात्रै नभएर गणकै नजिकै रहेको कसुरजन्य विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग तथा त्यहाँको डाटा सेन्टर पनि सुरक्षित रह्यो । नेपाली सेनाका अधिकारी र सुरक्षा गार्डले आन्दोलनकारीलाई केहि नगर्न अनुरोध गरेपछि पुरानो गृह मन्त्रालयको भवनमा आगजनी वा क्षति नगरी सकेको देखिन्छ । यसले देखाउँछ कि सुरक्षा परिचालन र कर्मचारीको सचेतनाले कतिपय महत्वपूर्ण भवन जोगाउन भूमिका खेलेको थियो ।

सिंहदबारको मुख्य गेटमा नजिकै रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि आन्दोलनको आँधीबाट बच्न सफल भयो । रेडियो नेपालका कर्मचारी राजेन्द्रविक्रम शाहीको अनुनय विनयपछि मन्त्रालय र रेडियो नेपाल दुवै सुरक्षित रहे । तथापि, परराष्ट्र मन्त्रालयको पछाडिको सानो भवनमा भने क्षति भएको छ । पार्किङमा रहेका सवारी साधन जलाइएका छन् र नजलाइएका गाडीमा डण्डाले प्रहार गरिएको छ । तीनवटा गाडी पूर्ण रूपमा ध्वस्त छन् भने बाँकी सवारी साधनमा तोडफोड गरिएको छ ।


आन्दोलनकारीको प्रमुख निशाना एमाले र काँग्रेसको संसदीय दलको कार्यालय परे । एमाले संसदीय दलको कार्यालयमा तत्कालीन एमाले संसदीय दलको नेता केपी शर्मा ओलीको कार्यकक्ष र नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्ष प्रमुख लक्षित देखियो । त्यहाँका भित्ता समेत भत्काइएको र सामग्री नष्ट गरिएको देखियो । यद्यपि एमालेका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालका कार्यकक्ष भने सुरक्षित रहे । काँग्रेस संसदीय दलको कार्यालयमा कर्मचारी कोठा र बैठक कक्ष जोगिएको छ, तर काग्रेस क्यान्टिनको सामग्री तितरबितर पारिएको छ ।

रक्षा मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि ठूलो क्षतिबाट बचाइएका छन् । नेपाली सेनाको नरसिंह दल गण रक्षा मन्त्रालयसँग जोडिएको हुँदा सुरक्षा प्रभावकारी बनेको अनुमान गर्न सकिन्छ । अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा पनि आगजनी भएको छैन ।परराष्ट्र मन्त्रालयको अगाडिको सवारी साधनमा डण्डाले प्रहार गरिएको भए पनि व्यापक क्षति देखिएको छैन । संघीय संसदको नयाँ भवन पनि सुरक्षित रहेको छ ।



संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पूर्ण रूपमा जोगिएको छ । केवल भुई तलाका झ्यालको सिसा फुटेको देखियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय पनि सुरक्षित रहेको छ, यद्यपि पार्किङमा रहेको केही सवारी साधनमा क्षति पुगेको छ । संघीय संसद सचिवालयको भवन नम्बर एक र दुई पनि जोगिएका छन् । सचिवालयमा कार्यरत कर्मचारी रामप्रसाद सापकोटा लगायतको अनुनय विनयले जोगिएका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पार्किङमा रहेका सवारी साधन जलाइएका छन्, जसको धुवाले संसद सचिवालयको बाहिरी भित्तामा कालो धब्बा बनाएको छ ।




शहरी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रशासकीय अदालत र सिंहदरबारको सर्भिस सेन्टर (सिंहदरबारको प्रमुख क्यान्टिन) पनि जोगिएका छन् । यद्यपि बाहिरी रहेका सवारी साधनमा तोडफोड गरिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा आगजनी भएको छैन । तर पार्किङमा रहेका करिब दर्जन सवारी साधन ध्वस्त भएका छन् ।


महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पार्किङमा रहेका अधिकांश सवारी साधन ध्वस्त भए, बाँकीमा तोडफोड भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भूमिगत पार्किङमा आगो लगाएर सबै सवारी साधन नष्ट भएका छन् । मन्त्रालयको अगाडिको सवारी साधन पनि जलाइएको छ । मन्त्रीको सचिवालय र कार्यकक्षमा क्षति पुगेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा आगो लगाइएको छैन । मात्र पछाडिको पार्किङमा क्षति पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय सुरक्षित छन्, तर बाहिरी सवारी साधनमा तोडफोड र आगजनी भएको छ ।




सबैभन्दा ठूलो ध्वंस गृह मन्त्रालयमा देखियो । यहाँका अधिकांश कोठा, भित्ता र सवारी साधन तहसनहस छन् । सुरक्षाकर्मीले भित्र प्रवेश गर्न नदिए पनि बाहिरबाटै हेर्दा क्षति व्यापक भएको देखिन्छ । तत्कालिन गृहमन्त्री रमेश लेखकको निर्देशनमा जेनजीको आन्दोलनकारीमाथी गोली चलाइएको आरोपका कारणले पनि गृह मन्त्रालय आन्दोलनकारीको मुख्य निशाना बन्यो ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि ठूलो क्षति पुगेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको आन्दोलनको तयारीबारे टिप्पणी गरेको धेरै आन्दोलनकारीलाई मन परेको थिएन । प्रधानमन्त्री कार्यालयको मुख्य ढोकाको क्षेत्र ठिक भए पनि तत्कालीन प्रधानमन्त्री बस्ने कार्यकक्ष भत्किएको, तलदेखि भित्तासम्म सामग्री नष्ट भएको, कुर्सी, टेबल र अन्य प्रमाण नभएको अवस्थामा भेटिएको छ ।

सार्वजनिक सेवा प्रसारण सेवा नेपाल अन्तरगत रहेका रेडियो नेपाल र नेपाल टेलिभिजनमा पनि आन्दोलनकारीले क्षति पुर्याएनन् । त्यहाँ कार्यरत पत्रकार तथा सञ्चारकर्मीले आन्दोलनकारीलाई अनुनय विनय गरेपछि आन्दोलनकारी आगजनी र तोडफोड गर्नबाट पछि हटेका हुन् ।
सिंहदरबारको यस ध्वंसले राजधानीमा प्रशासनिक र राजनीतिक संरचनाको संवेदनशीलता देखाएको छ । आन्दोलनकारीले लक्षित स्थानमा व्यापक क्षति पुर्याए पनि केही मन्त्रालय र कार्यालय कर्मचारीको सचेतनाले जोगिएका छन् । यस घटनाले केवल भौतिक क्षति मात्र नभई नेपालको प्रशासनिक संरचनामा स्थायी प्रभाव र भविष्यका सुरक्षा चुनौतीको संकेत दिएको छ ।
भदौ २४ मा जेनजीको उछृङखल आन्दोलनले प्रशासनिक संरचनामा क्षति पुर्याउन सक्ने भए पनि सुरक्षा व्यवस्था र तत्कालीन कर्मचारीको सक्रियताले केही भवन बचाउन सकिन्छ भन्ने पाठ सिकाएको छ । सिंहदरबारमा देखिएको यो दृश्य केवल ऐतिहासिक घटना मात्रै होइन, भविष्यमा प्रशासनिक सुरक्षा र व्यवस्थापनका लागि शिक्षा बनेको छ ।

Leave a Reply