अनमोलको आँट : जसले जलाउन लागिएको विराटनगरको गौरवलाई भिडबाट जोगाए

विराटनगर । भदौ २४, जेनजी आन्दोलनको मौका छोप्दै अराजक समूहले देशभरका सरकारी, निजी र ऐतिहासिक संरचनालाई निशाना बनाए । आगो झोसे, तोडफोड गरे, लुटपाट मच्चाए । यही बीचमा जोगिन सफल भयो विराटनगरको गौरव वीरेन्द्र सभागृह । र, भिडलाई सम्झाउने साहस गरे अनमोल सुब्बाले । अहिले उनको चौतर्फी तारिफ भइरहेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरमा पनि यसको बाछिटा पर्‍यो । प्रदेशसभा, जिल्ला प्रशासनलगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी भइरहेको थियो । धुवाको मुस्लोले ढाकिएको थियो विराटनगरको आकाश ।

त्रासमै थियो विराटनगर । दिउँसै खुलेआम लुटपाट हुँदा र जेनजीको आवरणमा आपराधिक गिरोहले विध्वंश मच्चाउँदा सुरक्षामा खटिएका प्रहरी ज्यान जोगाएर भागिसकेका थिए ।

कोशी प्रदेशको प्रदेशसभा भवन, प्रदेश प्रमुखको कार्यालय, मन्त्रालय र दर्जनौं संरचना ध्वस्त पार्दै अघि बढेको समूह ‘जिन्दावाद’ र ‘मुर्दावाद’ को नारा लगाउँदै विराटनगर-७ को वीरेन्द्र सभागृहमा पुग्यो ।

जिल्ला प्रशासन र हुलाक कार्यालयमा लगाइएको आगोको धुवाँले ढाकेको सभागृहमा एक उत्तेजित हुल मूलगेटको ताला फुटाउँदै भित्र छिरेर जलाउने तयारीमा लाग्यो ।

जेनजी आन्दोलनको अग्रपंक्तिमा थिए २३ वर्षीय अनमोल । काँधमा राष्ट्रिय झण्डा बोकेका उनले भिडलाई सम्झाइ बुझाइ गर्न थाले । विराटनगर-६ का सुब्बा सोमबारदेखि नै आन्दोलनमा सक्रिय थिए । शान्तिपूर्ण आन्दोलनको नेतृत्वमा रहेका उनी दोस्रो दिनको प्रदर्शन हिंसात्मक बनेपछि पछि हटेका थिए । सभागृह जलाउने प्रयास भएपछि हतास अनुहारसहित उनी त्यहाँ आए ।

अनमोललाई तेजनारायण चौधरीसहितका केही युवाले साथ दिए । त्यत्तिकैमा खन्ती, फरुवा बोकेर भित्र छिरेका २-४ जनाले भित्रबाट सामान ल्याएर मोटरसाइकलमा राख्दै ओसार्न थाले ।

अनमोलले बिन्तीभाउ गरेर माहोल नियन्त्रण बाहिर जान दिएनन् । उनले सभागृह बचाउन गरेको हरदम प्रयास अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

भिडलाई अनमोलले सम्झाउँदै भनेका छन्, ‘यो हाम्रै सम्पत्ति हो । हामीलाई नै चाहिन्छ । केही पनि गर्न हुँदैन । यति राम्रो बनेको छ । दाइ यस्तो केही नगर्नु न ! यो जेनजीको आन्दोलन हो । यसमा केही नगरिदिनु न । बाहिरका सामान लैजानु, बरु भित्र नगइदिनू ।’

उनले आग्रह गरिरहँदा प्रधानमन्त्रीको राजीनामा नआएसम्म तोडफोड र आगजनी नरोक्ने भन्दै आक्रोशित भिडले उनलाई धम्की दिन्छ । तर, हार नमानि उनी सम्झाउँछन्, ‘ओली (प्रधामन्त्री केपी शर्मा ओली) ले छोडिसक्यो । यस्ता काम छाडौं ।’

केहीबेर अनुनय विनय गर्दै आक्रोशित भिडलाई मत्थर पारेर बाहिर निकाल्न अनमोल सफल बने । तर, केही लुटपाट र चोरी भने भयो ।

आगजनीबाट सभागृह जोगाएपछि उनले भनेका छन्, ‘हामीले बचाउन सफल भएका छौं, यति राम्रो ठाउँलाई ।’

सभागृह बचाउन भिडलाई ‘कन्भिन्स’ गर्न सफल अनमोलको अहिले चौतर्फी प्रशंसासमेत भइरहेको छ । त्यसदिन आफूलाई रातभर निद्रा नलागेको बताउँदै सुब्बा भोलिपल्ट बिहानै पुगेर हेर्दा सभागृह सुरक्षित देखेपछि मन शान्त भएको सुनाउँछन् ।

‘रातभर मनमा चिन्ता भयो । के भयो होला ? भनेर निदाउनै सकिनँ । भोलिपल्ट बिहानै दौडेर सभागृह पुगेँ । जस्ताको तस्तै देख्दा ढुक्क भएँ । राज्यको सम्पत्ति जोगाउन पाउँदा सन्तोष मिल्यो ।’

जनता आदर्श बहुमुखी क्याम्पसमा बीएसडब्लू तेस्रो सेमेस्टरका विद्यार्थी अनमोल सामाजिक सञ्जालमा सक्रिय छन् ।
सभागृह जोगाउँदाको दृश्य पनि उनले सामाजिक सञ्जालमा राखेका छन् । जुन छोटो समयमै भाइरल भयो ।

उनी वीरेन्द्र सभागृहसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै स्कुल पढ्दा त्यहाँ कार्यक्रम गरेको सम्झिन्छन् । भन्छन्, ‘त्यो सम्झनाले पनि जोगाउन बल मिल्यो ।’

२०३० सालमा बनेको वीरेन्द्र सभागृह विराटनगरको गौरव मानिन्छ । विराटनगर महानगरपालिकाले पुरानो आकृति सुरक्षित राख्दै करिब २३ करोड रूपैयाँ खर्चेर ‘रेट्रोफिटिङ’ गरी पुनः प्रयोगमा ल्याएको छ ।

गतवर्ष रेट्रोफिटिङ पूरा भएपछि सभागृहलाई पुन: खुला गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *