रास्वपाका आकांक्षीहरुले नै थाहा पाएनन् ‘प्राइमरी इलेक्सन’ मा आफूले ल्याएको मत

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ को उपचुनावका लागि उम्मेदवार छनोटमा नयाँ अभ्यासको थालनी गर्यो, जसलाई धेरैले सह्राहना पनि गरे । पार्टीले ९ जना आकांक्षीहरुबीच ‘प्राइमरी इलेक्सन’ गराउनुका साथै अन्य ‘वैज्ञानिक’ विधिहरु अबलम्बन गरेको थियो ।
उम्मेदवार छनोट प्रक्रियालाई सुरुदेखि नै रास्वपाले अति पारदर्शी पनि बनायो ।

आकांक्षीहरुबीच भएका आन्तरिक छलफलदेखि लिएर नेतृत्व तहले उनीहरुसँग व्यक्तिगत रुपमा लिएका अन्तरवार्ताहरुलाई समेत रेकर्ड गरेर सामाजिक सञ्जालमा हालिएको छ । यसले गर्दा पार्टीका सदस्यहरुलाई उम्मेदवारहरुको मूल्यांकन गरेर मत हाल्न सजिलो भयो । तर, अन्तिममा आइपुग्दा यो सबै प्रक्रिया विवादरहित भने बन्न सकेन ।

रास्वपाले गरेको प्राइमरि इलेक्सन आधाभन्दा बढी केन्द्रीय सदस्यले अघोषित बहिष्कार गरे । ६२ जनाको केन्द्रीय समितिमा ३५ जनाले भोट नहाल्नुको कारण अझैसम्म खुलेको छैन । अर्कोतर्फ रुपन्देही ३ का करिब ३ दर्जन पार्टी सदस्यहरुले भोट हाल्न नपाएको भनेर उजुरी गरेका छन् । सिस्टम ह्याक गरेर आन्तरिक चुनावमा धाँधली गरिएको उनीहरुको आरोप छ । नेताहरुले भने पहिलो अभ्यास भएकाले सामान्य कमिकमजोरी भए पनि नतिजा प्रभावित हुने गरी ठूलो गडबडी नभएको बताइरहेका छन् ।

लामो र चरणवद्ध प्रक्रिया पूरा गरेर रास्वपाले हिजो उम्मेदवारको आधिकारिक घोषणा गर्यो । तर, प्राइमरी इलेक्सनको नतिजा भने सुनाइएन । हरेक प्रक्रियाहरु पारदर्शी रुपमा भिडिओ नै बनाएर देखाइरहेको रास्वपाले सबैभन्दा महत्वपूर्ण विषय चाहिँ किन लुकाइरहेको छ भनेर प्रश्न उठ्नु स्वभाविक हो । उम्मेदवारहरु स्वयम्ले पनि आफूले प्राप्त गरेको मत थाहा पाउन सकेका छैनन् ।

रास्वपाको निर्वाचन आयोग स्रोतका अनुसार सबैभन्दा बढी भोट पाउने टप थ्रीमा लेखजंग थापा, सुलभ खरेल र ज्ञानु पौडेल छन् । उनीहरुको भोट धेरै तलमाथि नरहेको स्रोतको दावी छ । तर उनीहरुमध्ये कसको सबैभन्दा धेरै भोट आयो भन्ने चाहिँ स्रोतले बताउन चाहेन । लेखजंगले नै बढी भोट ल्याएको भन्न सकिने अवस्था छैन किनभने प्राइमरी इलेक्सनमा जसले बढी भोट ल्यायो उही उम्मेदवार हुने ग्यारेन्टी थिएन ।

यसपटक उम्मेदवार छनोट विधिमा परिमार्जन गरेर प्राइमरी इलेक्स्नको नतिजालाई ५० प्रतिशतमात्रै अंक भार दिइएको थियो । ४० प्रतिशत अंकभार लिडरसिप एकेडेमीसँग रहने अहिलेको कार्यविधिमा उल्लेख छ । बाँकी १० प्रतिशत पोल्टिकल प्रोग्जेमिटी र समावेशितालाई छुट्ट्याएको छ। तर, लिडरसिप एकेडेमी गठन नभइसकेको हुँदा यो अधिकार सचिवालयलाई नै प्रत्यायोजन गरियो । यसप्रकार प्राइमरी इलेक्सनको नतिजालाई सचिवालयले सहजै उल्टाउन सक्ने परिस्थिति बनेको थियो ।

उम्मेदवार घोषणा हुने दिनमै हिजो सभापति रवि लामिछानेले कारागारमै सबै आकांक्षीहरुलाई पालैपालो भेटे । यो केका लागि थियो भन्ने प्रष्ट भएको छैन । हिजै कार्यवाहक सभापति डीपी अर्याल पनि सभापति भेट्न कारागार पुगे ।

यो सबै ‘सिक्वेन्स’ हेर्दा कतै लेखजंगलाई टिकट दिइने पूर्वनिर्धारित त थिएन भन्ने आशंका अन्य प्रतिस्पर्धीहरुले गर्न थालेका छन् । यद्यपि, उनीहरु केही बोल्न चाहँदैनन् । यसअघि नै जसलाई पार्टीले उम्मेदवार बनाए पनि चित्त बुझाउने भनेर सम्झाैतापत्रमा हस्ताक्षर गरेकाले उनीहरु नैतिक बन्धनमा पनि छन् ।

नाम नखोल्ने शर्तमा एक आकांक्षीले नेपाल प्रेससँग भने, ‘प्राइमरि इलेक्सनको नतिजा थाहा पाउनु र अन्य गतिविधिहरुले हामी अलिकति अन्योलमा परेका छौं । कतै म्याच फिक्सिङ पो भएको हो कि भन्ने शंका उब्जिएको छ ।’

स्रोतका अनुसार केही आकांक्षीहरुले ह्वाट्स एप ग्रुपमा नतिजा आफूहरुले पाउनुपर्ने माग गरेका छन् । तर, अहिलेसम्म उनीहरुको माग सम्बाेधन भएको छैन ।

आकांक्षी मध्येकै मधु अर्यालले प्रारम्भिक नतिजाका बारेमा जान्न चाहेको बताए । उनी निर्वाचन क्षेत्र रहेको रुपन्देही ३ का पार्टी सभापति हुन् र भूगोलमा सुरुवातदेखि खटिएका पात्र हुन् ।

अर्यालले पार्टीले गरेको निर्णयमा आफू प्रतिवद्ध रहेको बताउँदै यसको विवरण छिटै बाहिर आउने विश्वास व्यक्त गरे ।

‘हामीले गरेका विभिन्न चरणका प्रक्रियाहरूको नतिजा सार्वजनिक नै छन्, हिजोको उम्मेदवार छनोट प्रक्रिया एउटा महत्त्वपूर्ण घडी थियो । मैले सम्पूर्ण प्रक्रियालाई मनैदेखि सहयोग गरेको छु । उम्मेदवार छनोट गर्ने कुरा केन्द्रीय समिति सचिवालयले नै बसेर गरेको कुरा हो । पार्टी केन्द्रले पक्कै पनि सार्वजनिक गर्न मिल्ने कुराहरू पठाउनेछ । पार्टीले सार्वजनिक गरेका उम्मेदारका पक्षमा लाग्ने मेरो दायित्व र जिम्मेवारी हो । तर अहिलेसम्म प्राइमरी इलेक्सनको अंक जानकारी नभएकाले यस विषयमा जान्ने उत्सुकता छ’ उनले भनेका छन् ।

अहिले रास्वपाका जिम्मेवार नेताहरु भने यो विषयमा बोल्न चाहिरहेका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *