सरकारले ठूलो आर्थिक चलखेलमा परेर इम्बोस्ड नम्बर प्लेट लागू गर्न खोज्दैछ, हामी जडान नै गर्दैनौंः महासचिव नेपाल

काठमाडौं । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेसँगै यातायात क्षेत्रमा ठूलो तरंग उत्पन्न भएको छ । फेरि विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि पनि कुनै दण्ड वा जरिवाना नहुने भनेर सूचना निकालेको छ ।

सरकारको यो एकतर्फी र अव्यवहारिक निर्णयले सम्पूर्ण यातायात क्षेत्रलाई धराशायी बनाउने भन्दै व्यवसायीहरूले कडा आपत्ति जनाएका छन् । पर्याप्त पूर्वाधारको अभाव, अस्वाभाविक शुल्क, राष्ट्रिय पहिचानको अवमूल्यन र नागरिकको तथ्याङ्क सुरक्षामाथिको गम्भीर खतरा जस्ता विषय उठाउँदै व्यवसायीहरूले सरकारको निर्णय नसच्चिए संघर्षमा उत्रिने चेतावनी दिएका दिएका छन् ।

यसै सन्दर्भमा, सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालसँग नेपाल प्रेसले सरकारको यो कदम, यसले निम्त्याउन सक्ने जटिलता र व्यवसायीहरूको आगामी रणनीतिबारे विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, महासचिव नेपालसँग राजाराम न्यौपानेले गरेको अन्तर्वार्ताको सम्पादित अंशः

– सरकारले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको छ । यातायात व्यवसायीहरूले यसको ठाडै विरोध गर्नुको पछाडि कारण के हो ?

हाम्रो विरोध प्रणालीको विरुद्धमा भन्दा पनि सरकारले यो प्रणाली लागू गर्न अपनाएको हतारो, अपारदर्शी प्रक्रिया र जोरजबर्जस्तीपूर्ण शैलीको विरुद्धमा हो । यो सरकारको कुनै नयाँ निर्णय होइन; विगतमा पनि पटक–पटक यस्ता सूचना जारी भएको थियो । तर, व्यवसायीको तार्किक प्रतिवाद र पूर्वाधारको चरम अभावका कारण रोकिएका थियो । अहिले फेरि, बिना कुनै तयारी, असोज १ गतेदेखि अनिवार्य गर्ने र नियम पालना नगर्नेलाई जरिवाना तिराउने धम्कीपूर्ण सूचना जारी गरिएको छ । सरकारले यो सूचना सच्याउने छ । समस्याको जड भनेको पूर्वाधार नै नबनाई प्रणाली लाद्न खोज्नु हो । यसले समाधानभन्दा बढी जटिलता निम्त्याउने निश्चित छ ।

– पूर्वाधारको अभावलाई प्रमुख समस्या भन्नुभयो । यो प्रणाली सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक तथा भौतिक पूर्वाधारको अवस्था कस्तो छ । त्यसमा कहाँ कमजोरी देख्नुहुन्छ ?

पूर्वाधारको अवस्था शून्य बराबर छ भन्दा फरक पर्दैन । इम्बोस्ड प्लेटमा भएको चिप्सलाई पढ्न (रिड गर्न) सक्ने क्यामेरा र प्रविधि चाहिन्छ । सरकारले उपत्यकामा जम्मा ६ वटा क्यामेरा जडान गरेको थियो । जसमध्ये बनेपा–धुलिखेल सडक विस्तारका क्रममा दुईवटा काम नलाग्ने भइसकेको छ । अब चारवटा क्यामेराको भरमा देशभरका करिब ५८ लाख सवारीसाधनको निगरानी कसरी सम्भव छ ?

सबैभन्दा गम्भीर कुरा त, यो प्रणालीबाट संकलन हुने तथ्याङ्क (डाटा) भण्डारण र नियन्त्रण गर्ने निकाय (कन्ट्रोल सेन्टर) नेपाल सरकारसँग छँदै छैन । एउटा विदेशी ठेकेदार कम्पनीलाई चिप्स जडानको जिम्मा दिइएको छ । तर, त्यो कम्पनीले संकलन गरेको सम्पूर्ण डाटाको सुरक्षा र स्वामित्व कोसँग रहन्छ ? विदेशमा यस्तो संवेदनशील प्रणाली सरकारले आफ्नै पूर्ण नियन्त्रणमा राखेको हुन्छ । हाम्रो देशमा भने नागरिक र सवारी साधनको सम्पूर्ण विवरण एक विदेशी कम्पनीको हातमा राज्यले सुम्पिँदैछ । जुन राष्ट्रिय सुरक्षाका दृष्टिकोणले अत्यन्तै खतरनाक छ ।

– इम्बोस्ट नम्बर प्लेटले सर्वसाधारण र व्यवसायीमाथि कस्तो आर्थिक भार पर्ने देख्नुहुन्छ ? यसको शुल्क निर्धारण प्रक्रियामा कुनै चलखेल भएको तपाईँहरूको आशङ्का हो ?

इम्बोस्ट नम्बर प्लेटमा ठूलो आर्थिक चलखेल भएको हाम्रो ठहर छ । छिमेकी मुलुक भारतमा ३०० देखि ५०० भारु (नेपाली ४८० देखि ८००) मा जडान हुने नम्बर प्लेटलाई नेपालमा २५ सयदेखि ३६ सय रुपैयाँसम्म तोकिएको छ । मोटरसाइकलको २५ सय, तीन पाङ्ग्रेको २९ सय र ठूला गाडीको ३६ सय रुपैयाँसम्म तिर्नुपर्ने भनेर तोकेको छ । यो व्यवस्था सरासर आर्थिक शोषण हो । यो शुल्क कुन आधारमा निर्धारण गरियो ? यसले व्यवसायी र आम नागरिकलाई अर्बौँको अनावश्यक आर्थिक भार बोकाउँदै छ । यो निर्णय केही निश्चित व्यक्ति र ठेकेदार कम्पनीलाई पोस्ने उद्देश्यमा प्रेरित देखिन्छ । कमिसन र आर्थिक अपारदर्शिताको गन्ध प्रष्टै आइरहेको छ ।

– इम्बोस्ट नम्बर प्लेटको विरोध केवल आर्थिक र प्राविधिक विषयमा मात्र सीमित छ कि यसमा राष्ट्रिय पहिचान र नागरिकको गोपनीयताको सवाल पनि जोडिएको छ ?

इम्बोस्ट नम्बर प्लेटको विषय पैसा र प्रविधिको मात्रै होइन । यो हाम्रो राष्ट्रिय स्वाभिमान, भाषा र नागरिकको गोपनीयतासँग प्रत्यक्ष जोडिएको छ । देवनागरी लिपिमा लेखिँदै आएको नम्बर प्लेटलाई विस्थापित गरी अंग्रेजी भाषामा लेख्नु भनेको हाम्रो राष्ट्रिय भाषा र लिपिको ठाडो अवमूल्यन हो । ५८ लाख सवारीसाधनमा अंग्रेजी नम्बर प्लेट राख्दा हाम्रो लिपिको पहिचान के हुन्छ ?

५८ लाख सवारी धनीको सम्पूर्ण व्यक्तिगत विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर आदि) एउटा विदेशी कम्पनीको पहुँचमा हुनु भनेको नागरिकको गोपनीयता माथिको खेलबाड हो । भोलि त्यो डाटाको दुरुपयोग भयो वा अन्यत्र बेचियो भने त्यसको जिम्मेवारी कसले लिन्छ ? यो राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषय हो । जसमा सरकार पूर्ण रूपमा गैरजिम्मेवार देखिएको छ ।

– यातायात व्यवसायीले लामो समयदेखि यातायात प्राधिकरण गठन, वैज्ञानिक भाडा समायोजन जस्ता मागहरू राख्दै आएका थिए । ती मागहरूलाई बेवास्ता गरेर सरकारले किन यही विषयलाई प्राथमिकता दियो जस्तो लाग्छ ?

सरकारको प्राथमिकतामा कहिल्यै पनि यातायात क्षेत्रको दिगो सुधार परेन । हामीले वर्षौँदेखि यातायात क्षेत्रको समग्र व्यवस्थापनका लागि एक शक्तिशाली यातायात प्राधिकरण गठन गर्न माग गर्‍यौं । तर सुनुवाइ भएन । २२ लाखभन्दा बढी स्मार्ट लाइसेन्स छाप्न नसकेर नागरिकलाई चिटको भरमा चलाइरहेको छ । वैज्ञानिक भाडा समायोजन समयमा हुँदैन । यी तमाम आधारभूत सुधारका कामलाई पन्छाइएको छ । जुन परियोजनामा तत्काल आर्थिक लाभ देखिन्छ । त्यस्ता विषयलाई मात्रै सरकारले प्राथमिकता दिएको स्पष्टै देखिन्छ । यो कदम यातायात सुधारका लागि नभएर कसैलाई लाभ पुर्‍याउनकै लागि चालिएको हो ।

– सरकारले यो निर्णय फिर्ता लिएन र सरोकारवालासँग वार्ता गरेन भने तपाईँहरूको आगामी कदम के हुन्छ ? आन्दोलनको स्वरूप कस्तो हुन सक्छ ?

सरकारले इम्बोस्ट नम्बर प्लेट जडान गर्ने निर्णय त्यागेन र यो अव्यवहारिक निर्णय फिर्ता लिएन भने हामी निर्णायक संघर्षमा जान बाध्य हुनेछौं । हाम्रो आन्दोलन सडकमा टायर बाल्ने वा जुलुस निकाल्ने मात्रै हुनेछैन । हामी शान्तिपूर्ण असहयोग आन्दोलन गर्छौँ । हामी कुनै पनि हालतमा यो नम्बर प्लेट जडान गर्दैनौँ । हाम्रा सवारीसाधन जहाँ–जहाँ छन्, त्यहीँ पुरानै नम्बर प्लेटमा चल्छन् । यदि ट्राफिक प्रहरीले समात्यो भने हामी गाडी त्यहीँ छोडेर हिँड्छौँ । सरकारले कति गाडी थुन्न सक्छ ?

हामीले स्पष्ट भनेका छौँ । हामी प्रविधिका विरोधी होइनौँ । तर, तयारी बिनाको जोरजबर्जस्ती मान्दैनौँ । यो हाम्रो बाध्यता हुनेछ र यसबाट आम जनतालाई पर्न जाने असुविधाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्नेछ ।

– इम्बोस्ट नम्बर प्लेटको समस्याको समाधान के हो ? सरकारले के गर्‍यो भने तपाईँहरू यो प्रणालीमा जान तयार हुनुहुन्छ ?

इम्बोस्ट नम्बर प्लेटको समाधान एकदमै सरल छ । सरकारले सबैभन्दा पहिला यो एकतर्फी निर्णय स्थगित गरेर हामी जस्ता सरोकारवाला पक्षसँग वार्ता सुरु गर्नुपर्छ । यसका लागि लागि तथ्याङ्क भण्डारण र व्यवस्थापन गर्ने प्रणाली पूर्ण रूपमा नेपाल सरकारको नियन्त्रणमा हुनुपर्छ ।

राष्ट्रिय पहिचानका आधारमा नम्बर प्लेट देवनागरी लिपिलाई अनिवार्य कायम राख्नु आवश्यक छ । यसको मूल्य घटाएर आम नागरिक र व्यवसायीले तिर्न सक्ने बनाउनु आवश्यक छ । देशभरका सडकमा नम्बर प्लेट रिड गर्ने क्यामेरा र प्रविधिको विस्तार तथा हराएको वा बिग्रिएको नम्बर प्लेट २४ देखि ७२ घण्टाभित्रै पाउने बनाउनु पर्ने छ ।

यी विषयमा सरकार गम्भीर भएर सुधार गर्न तयार हुन्छ, भने हामी सहकार्य गर्न तयार छौँ । अन्यथा, हामी कुनै पनि हालतमा यो अव्यवहारिक र राष्ट्रघाती निर्णय स्वीकार गर्ने छैनौँ ।

Comments

One response to “सरकारले ठूलो आर्थिक चलखेलमा परेर इम्बोस्ड नम्बर प्लेट लागू गर्न खोज्दैछ, हामी जडान नै गर्दैनौंः महासचिव नेपाल”

  1. Hem magar Avatar
    Hem magar

    Sahi kura garnu vayeko xa

Leave a Reply

Your email address will not be published. Required fields are marked *