विद्यालाई निषेध गर्ने निर्णयविरुद्ध गृहजिल्ला भोजपुरमा असन्तुष्टि, नेताहरूले भने- ‘मिसन ८४’ लाई असर पर्छ (भिडिओ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई निषेध गर्दै पार्टीको निर्णयविरुद्ध एमाले भोजपुरको बैठकमा कुरा उठेको छ ।

शनिबारको जिल्ला कमिटी बैठकमा बोलेका ६ जनामध्ये ५ जनाले विद्याबारेको निर्णयले पार्टीको कामकारबाहीमा असर पर्ने भन्दै सच्याउन र एकढिक्का भएर अघि बढ्न नेताहरूको ध्यानाकर्षण गराएका छन् ।

पूर्व जिल्ला अध्यक्ष शरणकुमार राईले भण्डारी पक्षमा खुलेर भोजपुरको कमाण्ड सम्हालेका छन् ।

भण्डारीको गृहजिल्ला भएकाले पनि अहिले पार्टीमा चलिरहेको बहसबारे जिल्ला कमिटीमा कस्तो छलफल हुन्छ चासोसाथ हेरिएको थियो । मानेभञ्ज्याङ (हाल रामप्रसादराई गाउँपालिका-५ आमबोटे) मा जन्मिएकी भण्डारीको माइतीघर अझै रंगरोगनसहित संरक्षण गरिएको छ । भोजपुरमा पढ्दादेखि नै २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) को स्थापनालगत्तै युथलिगको कार्यकर्ताको रूपमा उनले सङ्गठित राजनीतिक जीवन सुरू गरेकी थिइन् ।

बैठकमा बोल्ने जिल्ला कमिटी सदस्यमध्ये अधिकांशले भण्डारीलाई ढोका थुन्दा देशभर पार्टीमा असन्तुष्टि छाएको र यसले मिसन ८४ समेतलाई असर पुग्ने बताएका छन् ।

साल्पासिलिछो गाउँपालिकाका जीवन राईले तल्लो तहबाट जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म सुझाव लैजाने पार्टी पद्धति भएपनि अहिले केन्द्रियता लाद्न थालिएको भन्दै आपत्ति जनाए । उनले भण्डारीको सदस्यताबारे अबको केन्द्रीय कमिटीमा छलफलको विषय बन्नुपर्ने बताए ।

राईले भने, ‘जबजब विधान अधिवेशन आउँछ हामी जिल्लामा आउने र सर्कुलर सुनाउने, पढ्ने जाने काम भइरहेको छ । मिसन ८४ भनिरहँदा अहिले हामी एमालेका कार्यकर्ता हौं भन्ने लाज लाग्न थाल्यो, यो सरकार बनेदेखि नै हामीमाथि घृणा भइरहेको छ । स्थानीय कमिटीको सुझाव माथिल्लो कमिटीमा लैजाने भोजपुरबाट अभ्यास सुरू गरौं । यही हो निर्देशन भनेर हामीलाई बेवास्ता गर्ने काम नहोस् ।’

युवा संघ केन्द्रीय स्वास्थ्य विभागका सचिवसमेत रहेका वीरेन्द्र श्रेष्ठले भण्डारीको सदस्यता चाँडो टुंग्याउन आग्रह गरे ।

‘यो विषय देशैभर झिल्को बनेर आएको छ । मिसन ८४ आउँदैछ त्यसमा असर नपरोस् । पूर्वराष्ट्रपतिले धेरै अनुभव लिइसक्नुभएको छ । उहाँले २ वर्षअघि नै नवीकरण गरिसकेको विषयलाई हामीले विवादित बनाएर लैजाँदा अझ क्षति नहोस् । यो मिल्यो भने एमाले बहुमतसहितको सरकार बनाउन सक्छौं ।’

युवा नेता धुर्वराज राईले पार्टीले फरक-फरक नेताहरूसँग सहकार्य गर्दै जाँदा आफ्नै पार्टीमा इतिहास बोकेको र योगदान गरेकी भण्डारीलाई निषेध गर्न नहुने बताए ।

शीर्ष नेताहरूलाई संवादबाट समस्या सुल्झाउन आग्रह गर्दै उनले भने, ‘शीर्ष नेताहरूकै कारण सल्लाह नै गरेर नवीकरण गरिएको होला । यसमा नेताहरूले नै मिलाइयोस् । यसले ८४ को चुनावमा असर गर्छ । मेरै साङपाङमा १० वर्षदेखि एमालेले सत्ता चलाएको छ, अब के होला भन्ने देख्दैछु ।’

अर्का सदस्य रेवतीरमण थापाले पार्टी सुधारका लागि विभिन्न बुँदामा सुझाव दिएका छन् । मन्त्रीको सचिवालयमा रहने मान्छे पार्टीले निर्णय गर्नुपर्ने साथै सचिवालयमा जानुअघि र जिम्मेवारी सम्हालेको अवधिको सम्पत्ति लेखाजोखा गर्नुपर्ने उनले राय राखे । जनप्रतिनिधिको घमण्ड बढेको भन्दै थापाले आचरण सुधार नेताबाटै गर्नुपर्ने, धरातल भुल्न नहुने र सुविधाभोगी नबन्न ध्यानाकर्षण गराए ।

भोजपुरमा एमाले दुईवटा छ भन्ने हल्ला आउने गरेको भन्दै चुनावले छोपेको र यसलाई चाँडो मिलाउन आग्रहसहित थापाले विद्याबारे भने, ‘आउनेबित्तिकै अध्यक्ष पनि नखोजौं । पार्टी सदस्यबाट वञ्चित पनि नगरौं ।’

षडानन्द नगरपालिकाका मानबहादुर खत्रीले पनि भण्डारीलाई छेक्न नहुने राय राखे । बैठकमा बोलेका अर्का सदस्य प्रचार विभाग प्रमुख केशर राईले पार्टी गतिविधिको प्रचारप्रसारलाई वडा तहसम्म लैजान ‘सूर्य बुलेटिन’ को योजना सुनाए ।

भोजपुरकै नेता पार्टी स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले पूर्वराष्ट्रपतिको सदस्यताबारेको बहस भावनाले नहुने बताउँदै पार्टीले गरेको निर्णयविरुद्ध नजान निर्देशन दिए ।

केन्द्र र प्रदेशबाट जारी गरेको अपानी अनुसार चल्नुपर्ने भन्दै राईले बैठकमा बोलेका ६ जनामध्ये ५ जनाले जिल्ला पार्टीको गतिविधिमा नभई राजनीति विषयमा चासो राखेको भन्दै असन्तुष्टि जनाए ।

उनले भने, ‘वार्षिक कार्ययोजना, कामको समीक्षा र जिल्लाको पार्टीले भोगिरहेका समस्यामा फोकस गर्नुभएन । खाली एउटा राजनीतिक विषयमा अलि बढी चासो राखेर विचार राख्नुभयो । एकजनाले विभागीय कामको कुरा गर्नुभयो ।’

राईको थप भनाइ यस्तो थियो-

विधान मस्यौदामा उमेरको हद र कार्यकालको कुरालाई नराख्ने कुरा गरिएको छ । सदस्यता दुई प्रकारको राख्ने कुरा गरिएको छ । संगठित सदस्यलाई अझ कसिलो र गुणात्मक गर्ने र अर्को सदस्यतालाई खुल्ला गर्ने । पार्टी अध्यक्षको हस्ताक्षरमा एमालेको सदस्यता बोक्न लिन चाहने जसले एमालेलाई समर्थन गर्छ, एमालेलाई भोट हाल्छ, एमालेको सहयोग लिन्छ । एमालेलाई माया गर्ने मन पराउने जोकोहीलाई पनि दिन सकिने खालको सदस्यता अब खुला गर्नुपर्छ । त्यसो नगर्ने हो भने हामी जुन मिसनमा अघि बढिरहेका छौं । त्यसमा ती मान्छेहरूलाई अड्याउन कठिन हुनेछ । एकपटक न्यूनतम शुल्क लिएर प्राप्त गर्न सकिने तर, नवीकरण गर्नुनपर्ने एमालेको जुनसुकै कार्यक्रम अभियानमा सहभागी हुने, भोट हाल्नुपर्ने सदस्यता दुरूपयोग गर्न नहुने गरी लैजान लागिएको छ ।

Comments

One response to “विद्यालाई निषेध गर्ने निर्णयविरुद्ध गृहजिल्ला भोजपुरमा असन्तुष्टि, नेताहरूले भने- ‘मिसन ८४’ लाई असर पर्छ (भिडिओ)”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    तिमी पुराना दलहरूको औचित्य समाप्त भइसक्यो, बिघटन गरेर घरमा बस तिमीहरू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *