ग्रामथान गाउँपालिका अध्यक्षको उपाध्यक्षलाई चेतावनी युक्त पत्र, मल खादको सिफारिस गरेको भन्दै समिति सदस्य बर्खास्त

विराटनगर । ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले मल खाद उपलब्ध गराउने विषयमा सिफारिस दिएको भन्दै उपाध्यक्ष गुणावती थारुलाई कानूनभन्दा बाहिर गएर चेतावनी युक्त पत्र लेखेका छन् । अध्यक्ष माझीले उपाध्यक्ष थारुलाई कानूनी सीमाभन्दा बाहिर गएर अनधिकृत काम नगर्न चेतावनी दिएका हुन् ।

उपाध्यक्ष थारुले किसानलाई मल खाद उपलब्ध गराउन रासायनिक मल वितरण सिफारिस समितिको संयोजकको हैसियतले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड विराटनगरलाई सिफारिस पत्र पठाएको थिइन् ।

मल वितरण व्यवस्थापन निर्देशिका २०७७ ले उप मेयर र उपाध्यक्षको संयोजकत्वमा सिफारिस समिति बनाउने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार थारुले मल उपलब्ध गराउन सिफारिस गरेकी थिइन् ।

अध्यक्षले उपाध्यक्षलाई काटेको पत्रमा अब उपाध्यक्षबाट भएका त्यस्ता कार्यलाई तत्कालै रोक्नुपर्ने उल्लेख छ। साथै, यसअघि उपाध्यक्षको हस्ताक्षरमा भएका कार्य, कार्यवाही र पत्राचार बदर गरिएको र सम्बन्धित कार्यालयलाई पनि त्यस्तो दर्ता–चलानी नगर्न पत्रमा निर्देशन दिइएको छ ।

यससँगै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पनि सम्बन्धित निकायलाई जानकारी गराउन र भविष्यमा त्यस्ता कार्य नगर्न कडाइका साथ निर्देशन दिइएको छ।

अध्यक्ष माझीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भण्डारी र कृषि विकास शाखाका प्रमुख सुरेन कुमार माझीलाई समितिबाट हटाउने पत्र थमाएका छन्। उनलाई हटाउने पत्र दिइएसँगै समितिको बैठक बस्न सकेको थिएन् ।

ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणावती थारुले अध्यक्षले कारबाहीको पत्र पठाएको बताइन् । उपाध्यक्ष धामीले कृषिमा प्रयोग हुने मल वितरणसम्बन्धी काममा संलग्न भएको भन्दै आफूलाई लक्षित गरेर पत्र पठाइएको बताइन् ।

उपाध्यक्ष थारुको पत्रले साल्ट ट्रेडिङ र कृषि कम्पनी लिमिटेडबाट किसानलाई उपलब्ध गराउने युरिया लगायतका मल आएको उल्लेख गरिन्। प्राप्त मल सहकारी मार्फत सहुलियतमा किसानले प्राप्त गर्नेछन् ।

अध्यक्ष माझी नेकपा माओवादी केन्द्रबाट उप निर्वाचनमा पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षले कानुन उल्लङ्घन गरेर एकलौटी निर्णय गर्नथालेपछि पालिकामा निरन्तर विवाद हुँदै आएको छ । अध्यक्षका कारण पालिकाले अहिलेसम्म बजेट ल्याउन सकेको छैन ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६(४) ख को प्रावधानअनुसार अध्यक्ष अनुपस्थित हुँदा वा अध्यक्षले कार्यभार तोके मात्र उपाध्यक्षले काम गर्न सक्ने व्यवस्था भए पनि उपाध्यक्ष धामीले सिफारिससहितका अनधिकृत कार्य गरेको गुनासो आएको भन्दै अध्यक्ष माझीले उपाध्यक्षलाई चेतावनी सहितको पत्र लेखेका हुन् ।

अध्यक्ष माझीको पत्रको प्रतिलिपि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड विराटनगर र कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरलाई समेत पठाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *