रूपन्देही ३ मा रेशम चौधरीले छानेको उम्मेदवारलाई सघाउने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय

रुपन्देही । निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को दर्ताले वैधता नपाएपछि यसअघि रुपन्देही ३ को उपनिर्वाचनमा साथ दिएको संघीय लोकतान्त्रिक मञ्चले अब भने त्यो पार्टीका संरक्षक रेशम चौधरीले अगाडि सारेका उम्मेदारलाई सघाउने भएको छ ।

बुधबार जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षता बसेको मोर्चाको बैठकले पूर्वनिर्णयप्रति प्रतिवद्धता जनाउँदै यस्तो निर्णय गरेको जनाएको छ ।

बैठकपछि जारी विज्ञप्तीको तेस्रो बुँदामा उल्लेख छ –‘रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचन प्रयोजनको लाग संघीय लोकतान्त्रिक मोर्चाले साविकमा गरेकै निर्णयप्रति पुनः प्रतिवद्धता जनाउँँदै नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार निश्चय गर्ने जिम्मेवारी दिइएको छ। उक्त निर्वाचन प्रचार प्रसार तथा परिचालनका लागि मोर्चा सचिवालयलाई विशेष जिम्मेवारी दिइएको छ।’

आफ्नो पार्टीले दल दर्तामा योग्यता नपाएपछि नाउपाका संरक्षक रेशम चौधरीले रूपन्देही–३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउने संकेत गरिसकेका थिए । आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि नाउपा निर्वाचन आयोगमा दर्ता हुन नसकेपछि चौधरीले संयुक्त लोकतान्त्रिक मोर्चाको साथ लिएर स्वतन्त्र उम्मेदवारी दर्ताको तयारी गरेका हुन् ।

आन्तरिक विवादमा फसेको नाउपा उपनिर्वाचनका लागि दलका रूपमा मान्यता पाउन अयोग्य ठहर भएको आयोगले जनाएको छ । यस निर्वाचनमा भाग लिन २७ दलले निवेदन दिएकोमा २६ दललाई योग्य ठहर गरिएको छ । नाउपाभित्रको आन्तरिक विवादले पनि दल दर्तामा समस्या निम्त्यायो ।

संरक्षक चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ गते निवेदन दिएका थिए भने अध्यक्ष रञ्जिता श्रेष्ठले अन्तिम दिन साउन २७ गते निवेदन दिएकी थिइन् । तर निर्वाचन आयोगले रेशम चौधरी पक्षले साउन १४ गते गरेको राष्ट्रिय भेला अवैध ठहर गर्दै त्यसबाट चयन भएका लालवीर चौधरी नेतृत्वलाई मान्यता दिन अस्वीकार गर्‍यो ।

सो भेलामा रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाइएको थियो । तर आयोगले संस्थापक सदस्य नभएको व्यक्तिले अध्यक्ष बन्न नसक्ने निर्णय गरेपछि दल दर्ताको निवेदन खारेज गरियो ।

त्यस्तै, रञ्जिता श्रेष्ठले पनि दल दर्ताका लागि निवेदन दिएकी थिइन् तर उनले पनि आवश्यक कागजात पेश नगरेकाले आयोगले मान्यता दिएन ।

आयोगका अनुसार उनले केन्द्रीय समितिको अनुमोदन र वार्षिक लेखापरीक्षण प्रतिवेदनसमेत पेश गरेकी थिइनन् । पार्टीको संस्थापक सदस्य २१ मध्ये १३ जना रेशम चौधरी पक्षमा रहेका कारण रञ्जितासँग पनि बहुमत छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *