इलामकाे खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारिएकाेमा सुहाङकाे आपत्ति, त्यहीँ पुनःस्थापना गर्न माग

काठमाडौं । प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारिएकोमा आपत्ति जनाएका छन् ।

बुधबार बसेको संसद बैठकमा नेम्वाङले कार्यालय सारिएकोमा आपत्ति जनाउँदै त्यहीँ स्थानमा पुनर्स्थापना गर्न मागसमेत गरे ।

‘अहिले इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई, इलामबाट सारेर अन्यत्र जिल्ला लागिएको छ । सो कार्यालयले इलाम, ताप्लेजुङ र पाँचथर– तीन जिल्लाका हजारौँ नागरिकलाई प्रत्यक्ष सेवा पुर्याउँदै आएको थियो’, उनले भने ।

त्यस्तै, उनले सेवा प्रवाहलाई प्रभावकारी बनाउनु सुशासनको पहिलो आधार भएको उल्लेख गर्दै टाढा सारेर होइन, अझ नजिक ल्याएर जनताले सहजै सेवा पाउने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

‘म सम्बन्धित मन्त्रालय र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु —यथाशीघ्र यो कार्यालय इलाममै कायम गरियोस्, वा यसको विकल्प स्वरूप, पूर्ण सेवायुक्त कार्यालय, त्यहीं स्थापना गरियोस्’, उनले भने ।

यस्ताे थियाे उनकाे भनाइ:

सम्माननीय सभामुख महोदय,

– म यस सदनमार्फत फेरि एकपटक सुशासन र सेवा प्रवाहको सवालमा आफ्नो गहिरो चिन्ता व्यक्त गर्न चाहन्छु।

– मैले अस्ति भर्खरै उठाएको कुरा यही हो—सरकार भनेको जनता प्रति उत्तरदायी संस्था हो, जसको प्रत्येक निर्णय र कदमहरूले, जनताले – प्रत्यक्ष सेवा पाएको महसुस गर्न सक्नुपर्छ।

– तर, अहिले इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई, इलामबाट सारेर अन्यत्र जिल्ला लागिएको छ । सो कार्यालयले इलाम, ताप्लेजुङ र पाँचथर– तीन जिल्लाका हजारौँ नागरिकलाई प्रत्यक्ष सेवा पु¥याउँदै आएको थियो ।

यस कार्यालयलाई हटाउने निर्णयले जनतालाई सहज सेवा पाउने पहुँच मात्र गुमाएको होइन, सम्पूर्ण सेवा प्रवाहलाई कमजोर बनाउने, खतरा बोकेको छ।

– सेवा प्रवाहलाई प्रभावकारी बनाउनु सुशासनको पहिलो आधार हो । यसलाई टाढा सारेर होइन, अझ नजिक ल्याएर जनताले सहजै सेवा पाउने अवस्था सिर्जना गर्नु पर्दछ ।

– त्यसैले, म सम्बन्धित मन्त्रालय र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु —यथासिघ्र यो कार्यालय इलाममै कायम गरियोस्, वा यसको विकल्प स्वरूप, पूर्ण सेवायुक्त कार्यालय, त्यहीं स्थापना गरियोस् ।

धन्यवाद।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *