कुसोम कलेजले पब्लिक पोलिसी अध्यापन गराउने

काठमाडौं । काठमाडौं विश्वविद्यालयअन्तर्गतको स्कुल अफ म्यानेजमेण्टले सार्वजनिक नीति र व्यवस्थापनमा स्नातकोत्तर अध्यापन गराउने भएको छ ।

व्यवस्थापन शिक्षामा नेपालकै उत्कृष्टमध्येको यस स्कुल अफ म्यानेजमेण्टले नेपालमै सार्वजनिक नीतिसम्बन्धी दक्षिण एसियाकै उत्कृष्ट अध्यापन गराउने उद्देश्यले सो कार्यक्रम अगाडि ल्याएको डीन प्रा.डा. विजय केसीले बताए ।

नेपालबाट राम्रो शिक्षाको खोजीमा दिनहुँ युवा पलायन भइरहेको सन्दर्भमा नेपालमै यस किसिमको कार्यक्रम ल्याएर आफूहरूले विदेशिन खोजेका युवालाई नेपालमै रहने र नेपालको सार्वजनिक नीतिको क्षेत्रमा योगदान गर्न प्रोत्साहन गर्ने प्रयास गरेको कार्यक्रमका फ्याकल्टी प्रमुख लालबहादुर पुनले बताए ।

नेपालमा राम्रो नीति निर्माण नहुनु र भएका नीतिको कार्यान्वयनमा समस्या देखिनु नेपालको आर्थिक विकासका लागि पनि बाधक मानिँदै आएको छ । यस अवस्थामा स्कुल अफ म्यानेजमेण्टको यो कार्यक्रम कुशल नीति निर्माता र व्यवस्थापक जन्माउने उचित थलोको रूपमा स्थापित हुने उनको विश्वास छ ।

नयाँ सत्रको भर्ना अहिले खुलेको र अगस्ट महिनाको अन्त्यसम्म भर्नाका लागि आवेदन दिन सकिने उनको भनाइ छ । स्कुलले मास्टर अफ पब्लिक पोलिसी एण्ड म्यानेजमेन्ट (एमपीपीएम) नामक कार्यक्रममा भर्ना हुने विद्यार्थीलाई विभिन्न अनुसन्धानमूलक कार्यक्रममा भाग लिन लगाएर सिकाउने काम गर्ने पुनले बताए ।

स्कुलको आफ्नै विशेषज्ञ समूह (थिंक ट्यांक) ‘कुसोम पोलिसी ल्याब’ मार्फत विभिन्न नीतिका सम्बन्धमा अध्ययन र अनुसन्धान गर्ने, मुलुकले कुनै खास विषयमा अपनाउनुपर्ने दीर्घकालीन, अल्पकालीन वा तत्कालीन नीति तथा सञ्चालन गर्नुपर्ने योजना, कार्यक्रम तथा अनुसन्धान गर्ने, नेपालको सामरिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा परराष्ट्र नीतिको अध्ययन तथा अनुसन्धान गरी त्यसमा अपनाउनुपर्ने उपायका बारे नेपाल सरकार र विभिन्न तहका सरकारी निकाय एवं संयन्त्रलाई नीतिगत सुझाव दिँदै आएको छ ।

विद्यार्थीलाई पनि सो विशेषज्ञ समूहमा सामेल गराई फेलोसिप र इन्टर्नसिपको माध्यमबाट दक्षतामा वृद्धि गर्ने उद्देश्य रहेको डीन प्रा।डा। के।सीले जानकारी दिए ।

नेपालमै बसेर नेपालको सार्वजनिक नीतिको क्षेत्रमा केही योगदान गर्छु भन्ने, सरकारी सेवामा प्रवेश गरेर नेपालको विकासमा योगदान दिन्छु भन्नेलगायतको लागि यो कार्यक्रम अति उपयोगी हुने डा। केसीको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *