आज पाल्पामा भगवती जात्रा, प्रदेश सरकारले दियो सार्वजनिक बिदा

पाल्पा । नेपाल अंग्रेज युद्धको वीरतासँग गाँसिएको पाल्पाको ऐतिहासिक भगवती जात्रा आज आइतबार निकालिँदै छ । नेपालले विसं १८७१/१८७२ मा भएको बुटवल जितगढीयुद्वमा अंग्रेजलाई पराजित गरेको इतिहाससँग सम्बद्ध यो जात्रा २०६ औँ भगवती जात्रा हो ।

रथयात्राको तयारी भव्य रूपमा भएको श्री ७ रणउजिरश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए । गुठी व्यवस्थापन समितिले विभिन्न उपसमिति गठन गरी विजय उत्सवलाई भव्य बनाउने तयारी गरेको समितिका अध्यक्ष महर्जनले जानकारी दिए ।

आज साढे १२ बजे देखी १ बजेको बिचमा विजय उत्सव स्वरूप भगवतीको रथ उठाउने कार्यक्रम तय भएको छ । जात्रामा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विशिष्ट अतिथिका रूपमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल सरकारका पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेयको सहभागिता रहने बताइएको छ । जात्राको दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

पाल्पाको भगवती जात्रा र रथ यात्रा यस क्षेत्रकै विशिष्ट परम्परा बोकेको ऐतिहासिक र वीरतासँग जोडिएको परम्परा भएको हुनाले यस जात्रालाई राष्ट्रिय जात्रा र पर्वकै रूपमा लिई सोही अनुसारको महत्त्व दिनुपर्ने यस क्षेत्रका बासिन्दाको भनाइ छ । पाल्पा क्षेत्र नं २ का सांसद ठाकुर गैरेले यो जात्रा पाल्पाको मात्र नभई अंग्रेज साम्राज्यलाई पराजित गरेको इतिहाससँग पनि जोडिएको हुनाले सरकारले सोही अनुसार राष्ट्रिय पर्वकै मान्यता दिनुपर्ने बताए ।

तत्कालीन नपाली सेनाका कमान्डर कर्णेल उजिर सिंह थापाले युद्धमा जानु अघि युद्धमा जितेमा तीन तले मन्दिर बनाइ भगवतीको सिन्दूर जात्रा गर्ने भाकल गरे अनुरूप युद्धमा विजयी भएपछि तत्कालीन कर्णेल उजिर सिंह थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सव स्वरूप भगवती जात्रा मनाउन थालिएको हो । ऐतिहासिक पाल्पा गौंडा र तत्कालीन नेपाल अंग्रेज युद्धमा विजयोल्लास स्वरूप सुरुवात भएको भनिने पाल्पाको ऐतिहासिक भगवती जात्रालाई पाल्पाको गौरव र महत्त्वपूर्ण उत्सवको रूपमा लिइन्छ ।

तत्कालीन पाल्पा गौंडाका कर्णेल उजिरसिंह थापाले नेपाल अंग्रेजको जीतगढी युद्धमा विजय प्राप्त गरेपछि त्यसैको उत्सवको रूपमा यो जात्रा मनाउन लागिएको इतिहासविदको भनाइ छ । तत्कालीन जितगढीको युद्धका लागि दलबल सहित तानसेन देखि हिँड्नु अघि कर्नेल उजिरसिंह थापाले तानसेन दरबार छेवैमा रहेको भगवतीको प्रतिमा अगाडि उभिएर “अंग्रेजलाई जितेर फर्केमा जीर्ण मन्दिरको जिर्णोद्वार गर्नुका साथै अबिर जात्राको परम्परा बसाल्ने भाकल गरेका थिए ।” छ महिना सम्मको जितगढीको युद्धपछि आफ्नो पल्टनलाई सुरक्षित मुकाम फिर्ता ल्याई भगवतीको नवनिर्मित मूर्ति प्रतिष्ठापित गरी जात्राको परम्परा चलाएको भन्ने जानकारहरु बताउँछन् ।

घरेलु हात हतियार, सेनाको संख्या कम भएको अवस्थामा समेत बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिहं थापाले युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूर जात्रा गर्ने भाकल गरेका थिए । विजय उत्सव प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन भगवतीको रथजात्राको सञ्चालन हुँदै आएको छ । यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रूपमा लिने गरिन्छ । अंग्रेज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाउन जितगढी विजय गरेको इतिहास छ ।

भगवती जात्राको अघिल्लो दिन हिजो कृष्ण जन्माष्टमी साँझदेखि नै जाग्रामबसी नवमीको दिन आज दिउँसो स्थानीय भगवती मन्दिरदेखि रथयात्रा सुरु गर्ने गरिन्छ । रणउजिरेश्वरी भगवतीको रथले तानसेन नगरका विभिन्न स्थानहरूमा भोग, बली र फूल प्रसाद ग्रहण गरी साँझ मन्दिरमै विसर्जन गर्ने परम्परा छ । रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शिक्षण संस्थाका विद्यार्थी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, स्थानीय नरनारी भक्तजनहरूको लामबद्ध हुने रूपमा सहभागी हुने गर्दछन् ।

विजय उत्सवको अघिल्लो दिन हिजो मन्दिरमा विधिवत् पूजा, भजन कीर्तन, बजार घुमाउने रथलाई ३ पटकसम्म परिक्रमा र भगवतीको मूर्ति राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *