विराटनगर । इटहरी उपमहानगरपालिको चालू आर्थिक वर्षको बजेट पारित भएको छ । असार मसान्तसम्ममा बजेट पारित गरिसक्नु पर्ने भएपनि आन्तरिक विवादले एक महिना धकेलिएको हो ।
शुक्रबारबाट सुरू नगर सभाले चालू आर्थिक वर्षका लागि २ अर्ब ५५ करोड २१ लाखको बजेट पारित गरेको हो । असार १० गते उपमेयर सङ्गीताकुमारी चौधरीले पेस गरेको बजेट आज सर्वसम्मतरूपमा पारित भएको हो ।
मेयर हेमकर्ण पौडेलले वडामा दिइएको बजेट सिलिङको अनुसूची उपलब्ध नगराएको भन्दै एमालेले विरोध गरेको थियो । जसका कारण उपमहागरपालिका बजेट होलिडेमा गयो । अहिले मेयरले अनुसूची उपलब्ध गराएपछि एमालेका जनप्रतिनिधि सहमतिमा आए ।
पारित बजेटमा चालू खर्चतर्फ १ अर्ब ४ करोड ११ लाख रूपैयाँ वित्तीय व्यवस्थापनअन्तर्गत सावाँ ब्याज भुक्तानीमा ९० लाख र पुँजीगत खर्च एक अर्ब ५० करोड १९ लाख रूपैयाँ छुट्याइएको छ ।
इटहरीले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । संघीय सरकार र प्रदेश सरकारसँग आवश्यक समन्वय गरी उपमहानगरको बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन गरिने भएको छ ।
इटहरीलाई सुन्दर सहर बनाउन सौन्दर्यीकरणका लागि सडक निर्माणसँगै सडक क्षेत्राधिकारभित्र पर्ने आवश्यक स्थानमा रोड फर्निचर लगाइने भएको छ ।
धरानमा अझै अन्यौल
छिमेकी उपमहानगर धरानमा भने अझै बजेट बन्न सकेको छैन । बजेट श्रोत अनुमान समितिको बैठक समेत बस्न नसकेपछि यहाँको बजेट अनिश्चित बनेको हो ।
उपमेयर आइन्द्रविक्रम बेघाले अब चाँडै बजेट पास हुने बताए । उनले बजेटको आकार टुंगिसकेकव दाबी गरे ।
उनले भने, ‘बजेटको आकारबारे टुङ्गो लागेको छ । तर, नगरसभा कहिले बस्छ त्यो मलाई नभई मेयरलाई थाहा हुनुपर्छ । ।’
उनले वडाहरूलाई बजेटको सिलिङ पठाइसकेको बताए । वडाहरूबाट योजनाको सूची आएपछि नगरसभा बस्ने उनले सुनाए ।
मेयर हर्क साम्पाङले राजनीतिक दलका जनप्रतिनिधिले पार्टीको निर्देशन पछ्याउँदा बजेट विलम्ब बनेको जिकिर गरेका छन् ।

Leave a Reply