गण्डकी । ‘मलाई जागिरकै खोजीका लागि विदेश जान मन छैन यहीँ केही गर्ने इच्छा छ’, स्याङ्जाको आँधिखोला गाउँपालिका–५ का युवा मीनबहादुर नेपालीले भने ।
विदेश नजाने इच्छा कै कारण आफ्नो खेतबारी नहुँदा पनि अर्काको खेत कमाएर नेपालीले यसै वर्ष ५६ मुरी धान र ३५० भारी पराल उब्जाउन गरेको सुखद् अनुुभव सुनाए ।
आँधिखोला गाउँपालिकाको समन्वयमा आयोजित नागरिक सुनुवाई कार्यक्रममा नेपाली सहितका स्थानीयवासीले भइरहेका विकास, बढ्दो विदेश पलायनसँगै विकास निर्माणमा प्रदेशसभाको भूमिकालगायतका विषयमा आ–आफ्ना भनाइ राखे थिए ।
आफ्नो घर भए पनि गरिखाने खेत नभएको दुःखेसो व्यक्त गर्दै नेपालीले आँफूजस्ता स्वदेशमा नै केही गर्छु भन्ने युवाहरूलाई प्रोत्साहनसँगै सहयोग आवश्यक भएको बताए ।
खेतीबालीसँगै व्यवसायिक रूपमा भैँसीपालन गर्ने आफ्नो इच्छा रहेको र स्वदेशमा नै केही गर्नुुपर्छ भन्ने आफ्नो सोच रहेको उनको भनाइ छ । सोही वडाकै अर्का युवा बेदलाल सुनारले आफ्नै देशमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ विदेश नजाने गरी आँफूू फर्केको बताए ।
देशमा बाहिरबाट हेर्दा जस्तो नकारात्मक पन यहाँ नपाएको बताउँदै उनले पछिल्ला समयमा विकासले पनि गति लिएको उल्लेख गरे । ‘यहाँको नागडाँडादेखि कार्कीनेटासम्मको बाटो हामी बच्चा हुँदै खनेको हो’, उनले भने, ‘लगभग ३० वर्षको अन्तरालमा यहाँको बाटो राम्रो भएको छ, यस ठाउँको मुहार फेरिएको छ ।’
सङ्घीय व्यवस्थासँगै स्थापित प्रदेशको पालिकासँगको समन्वयबारे आँफू त्यति जानकार नभएको बताउँदै उनले नागरिकको पहुँचमा प्रदेश पुुग्नुु अपरिहार्य भएकोमा जोड दिए ।
पौरखीसँग सिप रहेपनि जमिन नरहेको तर जमिन हुनेको जाँगर नदेखिएको समाजिक वास्तविकता सुनाउँदै उहाँले आँफू आगामी दिनमा माछापालन गर्ने सोचमा रहेको बताउनुुभयो ।
त्यस्तै, अर्का युवा विज्ञान नेपाली विगत १६ वर्ष यता यहीँ नै केही गर्नुुपर्छ भन्ने भावनासहित निरन्तर लागिरहेको बताए । आफ्नो व्यवसाय सञ्चालनका क्रममा स्थानीय तहका तर्फबाट राम्रो सहयोग पाएको उनको अनुुभव छ ।
‘रोजगारीकै लागि गाउँबाट शहर र शहरबाट विदेश पस्नुपर्ने अवस्था मैले देख्दिन । यही नै बसेर धेरै गर्न सकिन्छ’, उनले भने ।
आँधिखोला गाउँपालिका–२ का ओमप्रकाश सापकोटा विकास निर्माणका काममा गाउँपालिका प्रति आँफूको गुनासो नभए पनि प्रदेशको नामबाट आएका योजनाको अनुुगमन नभएको बताए । प्रदेशका सञ्चालन भएका योजनाको सामाजिक परीक्षण आवश्यक भएको उनको भनाइ छ ।
गाउँठाउँमा पछिल्ला समयमा धेरै विकास भएको बताउने आधिखोला गाउँपालिका–५ की धनमाया विक पछिल्ला समयमा बाटोघाटोसँगै खानेपानीलगायतका समस्या समाधान भएको बताए ।
जातीय छुवाछुतको प्रभाव कायमै रहेको बताउँदै उहाँले अन्तरजातीय विवाह गरेकै कारण समाजबाट भन्दा पनि आफन्तीबाट विभिन्न किसिमका उत्पीडन भोग्नुुपर्ने अवस्था रहेको बताए ।
अर्का युवा प्रेमबहादुर नेपाली घरघरमा बाटोघाटोलगायतका आवश्यक सेवा सुविधा पुुगिसकेका अवस्थामा यही नै केही गर्नुुपर्छ भन्ने भावना जागृत हुनुु अपरिहार्य भएको बताए ।
कार्यक्रममा गण्डकी प्रदेश राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता पञ्चराम गुुरुङले स्वदेशमा नै केही गर्छुु भन्ने युवालाई राज्यको प्रोत्साहन आवश्यक भएको बताए ।
देशमा वार्षिक बजेटभन्दा ऋण बढी हुनुु चिन्ताजनक भएको उनको भनाइ छ । प्रदेशको आफ्नै साधनस्रोत पनि नरहेको अवस्थासँगै यसका सम्बन्धमा भनाइ र व्यवहारमा समानता नदेखिनुुलगायतका कारण राप्रपाले वर्तमान संविधानमा आलोचनात्मक समर्थन गर्दै प्रदेश आवश्यक छैन भन्ने विषयलाई उठाउँदै आएको उनले बताए ।
गण्डकी प्रदेशका सार्वजनिक लेखा समितिका सभापति सुधिरकुमार पौडेलले सङ्घीयताको जग प्रदेश भएको जिकिर गरे । प्रदेश संरचनालाई प्रभावकारी बनाउनका लागि प्रणालीलाई बलियो बनाउनु आवश्यक भएको बताउँदै उनले पछिल्ला समयमा प्रदेशका प्रति विभिन्न किसिमबाट नकारात्मक टिप्पणी भइरहेको बताए ।
कार्यक्रममा आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेल, उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष कमलप्रसाद पौडेल, कृष्णप्रसाद पनेरु, नविन ढकाल, कमलकाजी अधिकारीलगायतले राज्यका तीनवटै तहबीचको सहकार्य र समन्वयबाट मात्रै भएगरेका कामको प्रभावकारिता अभिबृद्धि हुने धारणा राखे । -रासस

Leave a Reply