विराटनगर । नेकपा एमाले कोशीको बैठकमा नाम टिपाएका नेताहरूले बोल्न नपाएको गुनासो आइरहेको बेला प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले अपानीको बर्खिलाप हुने गरी बोल्न नदिएको प्रष्टीकरण दिएका छन् ।
‘पार्टी बैठकमा ४२ जना कमरेडहरूले बोल्नु भयो । केही कमरेडहरूले पार्टी केन्द्रको निर्णय र अपानी १२ को बर्खिलापमा छलफल गर्न खोज्नुभएको थियो ’ खतिवडाले भने, ‘एमालेमा उपल्ला कमिटीको निर्णयका विषयमा तल्ला कमिटीमा छलफल हुँदैन । तल्ला कमिटीको काम केन्द्रको निर्णय कार्यान्वयन गर्ने हो । त्यही कारणले केही साथीहरूले बोल्ने समय पाउनु भएन । ’
धनकुटाको हिलेस्थित होटल काञ्जिरोवा होटलमा मंगलबार र बुधबार २ दिन चलेको बैठकको अघिल्लो दिन अन्तिमतिर केही नेताले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई निषेध गर्ने पार्टीको निर्णय सच्याउन ध्यानाकर्षण गराएका थिए । प्रत्येकलाई ३ मिनेटको समय छुट्याइएको थियो ।
बुधबार बोल्न नाम टिपाएकाहरूलाई लिखित सुझाव दिन भनेर एकैपटक स्थायी कमिटी सदस्यबाट मन्तव्य सुरू गरिएको सहभागी एक नेताले बताए ।
प्रदेश सदस्यहरू रोशन बस्नेत, मोरङका डीबी कार्की, सुनसरीकी अञ्जु पाण्डेले विद्या भण्डारीलाई रोक्दा कार्यकर्तामा निराशा बढेको बताएका थिए । विद्याको गृहजिल्ला भोजपुरका अध्यक्ष मकर खड्काले पनि पूर्वराष्ट्रपतिको सदस्यता विवादको असर पार्टीको तल्लो तहसम्म देखापरेकाले यसले मिसन ८४ लाई नै असर पुर्याउन सक्नेतर्फ सचेत गराउँदै केन्द्रले चाँडै हल गर्नुपर्ने बताएका थिए ।
विधान महाधिवेशन समेट्नु पर्ने विभिन्न विषयमा सुझाव संकलन गर्न प्रदेशले सचिव राजकुमार भण्डारीको संयोजकत्वमा १० सदस्यीय कार्यदल बनाएको छ ।

Leave a Reply