काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा विधान महाधिवेशन स्थलको निरीक्षण गरिएको छ ।
आगामी भदौ २० देखि २२ गतेसम्म चल्ने महाधिवेशनस्थल ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गरेका हुन् । निरीक्षणका लागि कार्यवाहक अध्यक्ष पोखरेलसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सङ्गठन विभाग प्रमुख भानुभक्त ढकाल, नेताहरू कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतमलगायत पुगेका थिए ।
महाधिवेशन स्थलको सम्पूर्ण अवस्थाबारे अनुगमन गरिएको एमाले नेता नवराज सिलवालले बताए ।
उनले भने, ‘सम्पूर्ण व्यवस्थापनको पाटोमा केन्द्रित रहेर आज अनुगमन गरिएको हो। हलमा ३ हजार प्रतिनिधि अट्छन् ।’

खानाको व्यवस्था त्यही हुने भएपनि आवासको व्यवस्था महाधिवेशन प्रतिनिधिले नै गर्नुपर्ने बताए ।
महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले साङ्गठानिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
यस्तै महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा र सल्लाहकार परिषद्का अमृतकुमार बोहराले प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

Leave a Reply