काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कांग्रेस एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक राखे ।
सिंहदरबारस्थित दलको कार्यालयमा राखेको बैठकका छलफलको एजेन्डा थियो, ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’।
निर्वाचन आयोगले भोलिसम्म सुझाव दिन भनी दल स्वमूल्याङ्कन कार्यविधि पठाएको छ। तर, साना दलहरू आयोगले कांग्रेस एमालेले चाहेनअनुरुप कार्यविधि ल्याएको भन्दै एकजुट भएका छन् ।
बैठकले आयोगको कदम संविधान विपरीत भएको निष्कर्ष निकालेको नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । यसको संयुक्त प्रतिवाद गर्ने बैठकको निर्णय छ ।
बैठकमा माओवादीको तर्फबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत, रास्वपाबाट गणेश पराजुली र सोविता गौतम, राप्रपाबाट बुद्धिमान तामाङ, एकीकृत समाजवादीबाट माधव नेपाल, राजेन्द्र पाण्डे, प्रमेश हमाल, जनमत पार्टीबाट सिके राउत र आजपाबाट प्रभु साह लगायत सहभागी थिए ।
बैठकमा सहभागी राउत बाहेक सबै विपक्षी दल हुन्। जनमत सत्तारुढ दल हो। पार्टी सरकारमा सहभागी नभएपनि समर्थन गरेको छ ।
तर प्रचण्डले राखेको बैठकमा राउत किन पुगे ? चर्चाको विषय बन्यो । उनले विपक्षी दलको बैठक नभई संसदमा प्रतिनिधित्व गर्ने दुई ठुला दलको बैठक बसेकाले आफू गएको बताए ।
उनले नेपाल प्रेससँग भने, ‘स्वमूल्याङ्कन कार्यविधि अस्वीकार गर्ने निर्णय भएको छ। यो साना दलको साझा मुद्दा हो। कांग्रेस एमालेले साना दललाई मास्न खोज्दैछन्। त्यसैले गएको हुँ, बैठकमा अरू कुनै राजनीतिक मुद्दाबारे छलफल भएन ।’
माओवादीका उपमहासचिव वर्षमान पुनले पनि साझा मुद्दाहरू भएकाले विपक्षी मात्रै नभएर सत्तारुढ दलको पनि सहभागी भएको बताए । बैठकले आयोगले कानुन विपरीत काम गर्न खोजेको भन्ने कुरामा बैठकमा सहभागी दलहरू सहमत रहेको बताए ।
उनले भने, ‘संवैधानिक आयोग निष्पक्ष हुनुपर्ने हो। तर, निर्वाचन आयोग पनि दुई पार्टी सिस्टममा लैजाने कांग्रेस एमालेको चाहना अनुसार प्रयोग हुन खोजेको हो कि भन्ने आशङ्का हाम्रो हो ।’

Leave a Reply