काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबार विगतका दुई निर्वाचनमा आफूले सर्वाधिक मत ल्याएर जितेको प्रसङ्ग कोट्याए।
उनले भनेका थिए, ‘विगत दुई वटा चुनावमा सर्वाधिक मत ल्याएर जितेको सांसद मै हुँ। कुनै प्रकारको ‘अनफेयर’ चिज नगरी कतै बुथ कब्जा नगरी, कसैलाई धम्की नदिई, कुनै अनुचित क्रियाकलाप नगरी एकदम स्वच्छताका साथ जनताले भोट दिएर जितेको हुँ।’
कुनै धन र बल प्रयोग नगरी स्वच्छताका साथ जनताले सर्वाधिक मत दिएर आफूले जितेको उनको भनाइ थियो। ओलीले २०७९ को निर्वाचनमा झापा ५ बाट सर्वाधिक मत ल्याएर जितेका थिए।
ओलीले ५२ हजार ३१९ मत ल्याएर विजयी भएका थिए। त्यसबेला कांग्रेस माओवादी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए। उनीहरूबीचको २८ हजार ५७६ मतान्तर रह्यो।
ओलीपछि दोस्रो धेरै मत ल्याएर जित्नेमा त्यसबेला रास्वपाका सभापति रवि लामिछाने थिए। उनले चितवन २ बाट ४९ हजार ३ सय मत ल्याएका थिए। तर, पहिलो पटक सांसद पद खारेज भएपछि उपनिर्वाचनमा ओलीको सर्वाधिक मत तोडेर रवि नै शीर्ष स्थानमा उक्लिए।
ओली यसअघि २०७४ को निर्वाचनमा पनि सर्वाधिक मत ल्याउनेमा थिए । उनले ५७ हजार १ सय ३९ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका डा. खगेन्द्र अधिकारी नै थिए । त्यसबेला अधिकारी २८ हजार २ सय ५७ मत ल्याएका थिए ।
‘हाइ प्रोफाइल’ ४ सांसद निलम्बनमा
२०७९ मा भएको निर्वाचनमा लोकप्रिय मतको हिसाबले सर्वाधिक मत पाउने टप टेनभित्र ओली र लामिछानेबाहेक अन्य १० छन् । तीमध्ये ‘टप टेन’ सूचीका २ सहित ४ ‘हाइ प्रोफाइल’ सांसद निलम्बनमा छन् ।
निलम्बनमा पर्नेमा रास्वपा सभापति लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा एमालेको निलम्बित सचिव टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत हुन्।
यसअघि कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका लक्ष्मी महतो कोइरी पनि निलम्बनमा थिए । तर दुवै अदालतको आदेशमा निलम्बन फुकुवा भए । त्यसैले २७५ सदस्यीय प्रतिनिधि सभामा अहिले २७१ सदस्य छन् ।
पूर्वउपप्रधान तथा गृहमन्त्री समेत भइसकेका रास्वपा सभापति लामिछानेको सांसद पद गत पुस ७ गते निलम्बनमा परेको हो। सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराधमा मुद्दा दायर भएपछि उनको सांसद पद निलम्बनमा परेको थियो।
तर, लामिछानेले निलम्बन फुकुवा गरिदिन सभामुख देवराज घिमिरेलाई भेटेरै आग्रह गरेको भएपनि सभामुखले कानूनबाहिर गएर निलम्बन फुकुवा गर्न नसक्ने जवाफ दिइरहेका थिए। अहिले उनी रुपन्देही कारागारमा छन्।
पहिलो पटक सांसद पद नै खारेज भएपछि लामिछाने ०८१ वैशाखमा भएको उपनिर्वाचनबाट चितवन २ बाट सर्वाधिक मत ल्याएर विजयी भएर आएका थिए। लामिछानेले ५४ हजार १७६ मत ल्याउँदा कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार ११४ मत मात्रै पाएका थिए। उनीहरूबीचको मतान्तर ४३ हजार ६२ छ। सर्वाधिक लोकप्रिय मत र मतान्तर दुवैको रेकर्ड रवि लामिछानेसँग रहेको छ ।
‘टप टेन’ सूचीमा रहेका निलम्बित सांसद हुन् टोपबहादुर रायमाझी।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेशसँगै रायमाझीको सांसद पद ०८० असार १ बाट निलम्बनमा परेको थियो।
अर्घाखाँचीबाट निर्वाचित रायमाझीले ४२ हजार ६७५ मत ल्याउँदा कांग्रेसकी पुष्पा भुसालले ४० हजार ९४५ मत ल्याइएकी थिइन्।
अर्का हाई प्रोफाइल सांसद हुन् पूर्वप्रधानमन्त्री समेत रहेका माधव नेपाल।
रौतहट १ बाट निर्वाचित नेपालको सांसद पद जेठ २२ गतेबाट निलम्बनमा छ। पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको पद निलम्बनमा परेको थियो। उनी सो मुद्दामा ३५ लाख धरौटीमा रिहा भए।
अर्का निलम्बनमा परेको अर्का हाइ प्रोफाइल सांसद हुन् पूर्वमन्त्री समेत रहेका मोहनबहादुर बस्नेत।
सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद बस्नेतको अख्तियारले टेरामक्स प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि २०८२ जेठ १ बाट निलम्बनमा परेका थिए।
यी चार ४ सांसदको मुद्दा किनारा नलागेसम्म सांसद पद स्वतः निलम्बनमा रहनेछ।
‘टप टेन’ सूचीका अरू को–को ?
मतको हिसाबले टप टेन सूचीमा रहेका सांसद हुन् कांग्रेस डा.सुनिल शर्मा। शर्माले मोरङ ३ बाट ४८ हजार ६३१ मत ल्याएका थिए भने एमालेका भानुभक्त ढकालले २५ हजार ८९५ मत ल्याएका थिए। एमालेको गढमा शर्माले पाएको मत २३ हजार बढी थियो,ढकालले एमालेकै मत पनि सबै पाउन सकेनन् ।
सर्वाधिक मत ल्याउने अर्का सांसद हुन् पूर्णबहादुर (कान्छाराम) तामाङ। रामेछापबाट निर्वाचित उनले ४७ हजार ९९ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी एमालेका कैलाश ढुंगेलले ३० हजार ७३० मत ल्याएका थिए।
तामाङले १६ हजार ३६९ मतले मतान्तरले जितेर आएको र आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्मा नआउन् भन्दै प्रार्थना समेत गरेर चर्चामा आएका थिए।
संसद्को रोस्ट्रमबाटै उनले भनेका थिए, ‘०८४ को चुनावमा यी दुई वटै उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा बुद्ध भगवान् र पशुपतिनाथसँग प्रार्थना गर्छु।’
सर्वाधिक मत ल्याउने अर्का सांसद हुन् गोकुल बास्कोटा। एमालेका सांसद बास्कोटाले काभ्रे २ बाट ४५ हजार ३४५ मत ल्याएका जितेका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका शिवप्रसाद हुमागाईँले ३९ हजार ४८२ मत ल्याएका थिए।
धेरै मत ल्याएर जित्ने अर्का सांसद हुन् प्रेम सुवाल। नेपाल मजदुर किसान पार्टीका सुवालले भक्तपुर १ बाट ४२ हजार ७६१ मत ल्याएका जितेका थिए भने प्रतिस्पर्धी एमालेका नवराज गेलालले ११ हजार ९६८ मतमा खुम्चिएका थिए।
सर्वाधिक मत ल्याएर जित्ने अर्का सांसद हुन् माओवादीका वर्षमान पुन। पुनले रोल्पाबाट ४१ हजार ७१४ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत मात्रै ल्याए।
प्युठानबाट निर्वाचित एमाले सांसद सूर्य थापा पनि लोकप्रिय मतले जित्ने ‘टप टेन’ सूचीमा पर्छन्। थापाले ४१ हजार ११८ मत ल्याउँदा प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८१४ मत ल्याएकी थिइन्।
यस्तै, सर्वाधिक मत ल्याएर जित्नेको सूचीमा एमाले सांसद भगवती चौधरी पनि पर्छिन्। उनले सुनसरी ३ बाट ४० हजार ७८८ मत ल्याउँदा कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाएका थिए।
यो चुनावमा एमाले जसपा नेपालसँग मधेसका केही क्षेत्रमा तालमेल गरेको भएपनि धेरै क्षेत्रमा एक्लै लडेको थियो भने कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी गठबन्धन गरेका थिए।


Leave a Reply