विराटनगर । सिटी सफारी (ई-रिक्सा ) को कर छुट माग गर्दै धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा पुगेकी सफारी चालक रिना लामालाई मेयरका समर्थकले सामाजिक सञ्जालमा गाली बेइज्जतीसहित धम्की दिएपछि उनले प्रहरी गुहारेकी छन् ।
रिनाले आफूविरुद्ध फेसबुकमा गाली बेइज्जती गर्नेहरूलाई साइबर अपराधमा कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएकी हुन् । कुमारी राई, सविन राई, सोम थापा, केबी गुरुङ , जीवन लामालगायत ११ जना छन् ।
केही दिनअघि सफारीको कर छुटका विषयमा कुरा गर्न पुगेकी लामा र हर्क साम्पाङबीच भनाभन भएको थियो । मेयरसँग भनाभनको भिडिओ युट्यूवर इन्द्र लिम्बूले सार्वजनिक गरेका थिए ।
मेयरले बोलेको कुरा काटेर आफूले मात्र बोलेको भिडिओ युट्युवरमा राखेको लामाले बताएकी छन् । उक्त भिडिओपछि हर्कका समर्थक रिनाविरुद्ध खनिएका थिए । कर छुटको विषयमा मेयरसमक्ष लगेर गएको निवेदन पनि विवादपछि रिनाले टेबलमा फालेकी थिइन् ।
लामाले आफूविरुद्ध गाली गलौज भएपछि माफी माग्दै भिडिओ समेत सार्वजनिक गरेकी थिइन् । त्यति हुँदा पनि गालीको वर्षा नरोकिएपछि उनले भनिन् ‘१० वर्ष लागे पनि मलाई गाली बेइज्जती गर्नेहरू विरुद्ध मुद्दा लड्छु ।’
उजुरी दर्ता लिँदै डीएसपी प्रकाश जवेगुले गाली बेइज्जती गर्नेहरूमाथि अनुसन्धान थालेर साइबर क्राइममा कारबाही हुने बताए ।
(परिवारका सदस्यको आग्रहअनुसार उजुरीकर्ताको तस्बिर हटाइएको छ)

Leave a Reply