वडाध्यक्ष लक्षित उपमेयरको फेसबुक स्टाटसले बिर्तामोडमा बढ्यो विवाद- माओवादी, राप्रपा र रास्वपाले कार्यालय घेरे

विराटनगर । सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर बिर्तामोड नगरपालिकाका उप मेयर नगेन्द्रप्रसाद सङ्ग्रौलामाथि कार्यकक्षमा भएको हातपातकाे विषय जटिल बन्दै गएको छ ।

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर राप्रपा, माओवादी र राष्ट्रिय स्वतन्त्र पाटीले नगरपालिका घेराउको आन्दोलन सुरु गरेका छन् ।एमालेले भने हातपातको गर्नेलाई कारवाहीको माग राखेको छ ।

दुवै पक्षले हठ नछाड्दा बिर्तामोड नगरपालिकामा विवाद बढ्दै गएको छ । बिर्तामोड नगरपालिकाका उप मेयर सङ्ग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा बिर्तामोड नगरपालिका–८का वडाध्यक्ष अजय कार्कीलाई लक्षित गर्दै फेसबुकमा कमेन्ट गरेका थिए ।

कार्की राप्रपाबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् । केही दिन अघि बिर्तामोड नगरपालिकाको कार्यपालिका बैठकको एउटा फोटो फेसबुकमा सार्वजनिक गरिएको ठाउँमा कार्की चिरन नाम गरेका व्यक्तिले एउटा प्रश्न उठाएका थिए ।

कार्की लेखेका थिए ‘ बिर्तामोड नगरपालिकाको बोर्डको पहिलो बैठकको फोटोहरू प्रशस्त देखिरहेको छु । तर, बिर्तामोड नगरपालिका वडा नं। ८ का एक जना पनि जनप्रतिनिधिहरू देख्दिन कि बिर्तामोड ८ लाई खबर नै प्राप्त नभएको हो कि के हो ? ’

चिरन कार्कीको स्ट्याटसमा उप मेयर सङ्ग्रौलाले असान्दर्भिक जवाफ फर्काए । उनले वडा अध्यक्षको अदालतमा विचराधिन मुद्दालाई लिएर जथाभाबी लेखेका थिए । उनले वडाध्यक्ष कार्कीलाई नागरिकता बेचुवा समेत भनेर लेखेका थिए ।

वडा नं। ८ का वडाध्यक्ष अजय कार्कीमाथि नागरिकता सिफारिस गरिएको विषयको मुद्दा सर्वोच्च पुगेको छ । फैसला पनि भइसकेको छैन ।सोही क्रममा नगर उपप्रमुख सङ्ग्रौलाको कार्यकक्षमा उपप्रमुख सङ्ग्रौलामाथि हातपातको प्रयास भएको थियो । सो क्रममा वडाध्यक्ष कार्कीबीच भनाभन समेत भएको थियो ।

सोही विवाद बढ्दै गएपछि नगर उपप्रमुख संग्रौलाविरुद्ध कारवाहीको माग गर्दै शुक्रवार नगरपालिकामा तीन दलले प्रदर्शन गरेका छन् ।आइतबार पनि प्रदर्शनको कार्यक्रम तय गरे पनि झरीका कारण कार्यक्रम हुन सकेन । उनीहरूले निरन्तर प्रदर्शन गर्ने गरिको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै चरित्र हत्या गर्ने, अशिष्ट भाषा प्रयोग गर्ने तथा समाजमा भ्रम र द्वेष फैलाउने काम गरेको भन्दै राजनीतिक दलले उनलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटी, राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर कमिटी र राष्ट्रिय स्वतन्त्र पार्टी नगर कमिटीले नगरपालिकामा प्रदर्शन गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *