पोखरा । एमाले प्रदेश कमिटी सदस्य विद्रोही गिरीले निर्वाचन क्षेत्रीय कमिटीहरूलाई कार्यकारी बनाउने गरी विधान संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् । एमाले गण्डकी प्रदेश कमिटीको चौथो बैठकमा उनले निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाई जिल्ला कमिटीलाई समन्वय बनाउनु पर्ने धारणा राखे ।
‘निर्वाचित हुने क्षेत्रलाई नेताहरूले कार्यथलो बनाउँदा पार्टी काम उठाउने परिस्थिति हुन्छ’, गिरीले भने ।
प्रदेश सरकार गठन भएको एक वर्षमा उपलब्धि र कामका बारे बैठकमा एजेन्डाका रूपमा आउनुपर्ने र समीक्षा हुन जरूरी रहेको उनले बताए । जन प्रतिनिधिले पार्टीलाई सहयोग नगरेको, पार्टी नेतृत्वलाई संसदीय मोर्चाले नटेरेको जस्तो देखिएकाले त्यसको अन्त्य हुनुपर्ने उनले बताए ।
नेताहरू कमिटीगत प्रणालीलाई बेवास्ता गरेर चल्दा कार्यकर्तामा उत्साह नभएको उनले बताए ।
‘नियमित कामलाई अभियानको रूपमा सञ्चालन गर्नुपर्ने स्थिति किन बन्यो ? युवा पुस्तालाई राजनीतिमा आकर्षण गर्ने कार्यक्रम तत्लो तहमा आएका छैनन् । जनसंगठनलाई कामकाजी बनाउन पर्छ । केन्द्रीय कमिटी दुई अंक र प्रदेश कमिटी ५१ र मातहतका कमिटीको आकार घटाउनुपर्छ । त्यहीअनुसार समीक्षा होस्’, गिरीले भने ।

Leave a Reply