धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–१, बौनियास्थित राजधानी सेकुवा एण्ड मःम सेन्टर मा कार्यरत १७ वर्षीया याचना सेजुवालको हत्या भएको छ। सोही रेस्टुरेन्टमा किचनकर्मीका रूपमा कार्यरत ३३ वर्षीय निरज साउदले प्रेम सम्बन्धमा आएको विवादकै कारण हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
याचना सेजुवाल उक्त रेस्टुरेन्टमा १५ /१६ दिनअघि वेटरका रूपमा काम गर्न थालेकी थिइन्। सोही क्रममा भान्सामा काम गर्ने निरज साउदसँग उनको चिनजान भएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार साउदको केही समयअघि मात्रै श्रीमतीसँग सम्बन्धविच्छेद भएको थियो। दुई सन्तानका बाबु समेत रहेका साउद याचनासँगको सम्बन्धलाई लिएर निकै गम्भीर भएका थिए।
काम गर्ने क्रममा भएको दैनिक हाँसोमजाकले छोटो समयमा उनीहरूको सम्बन्ध प्रेममा परिणत भएको प्रहरीको भनाइ छ। साउदले याचनासँग बाँकी जीवन बिताउने सोच बनाइसकेका थिए भने याचनाले पनि काम सँगसँगै भान्सामा साउदको सहायकका रूपमा काम गर्न थालेकी थिइन्।
तर, पछिल्ला दिनहरूमा याचनाले अन्य केटासँग फोन र भिडियो कल गर्ने गरेको देखेपछि साउद असन्तुष्ट भएका थिए। यही कारण उनीहरूबीच मनमुटाब सुरु भएको थियो। प्रहरीका अनुसार शुक्रवार राति उनीहरूबीच सँगै भाग्ने सहमति भइसकेको थियो, तर अन्तिम समयमा याचनाले पछि हटेपछि साउद अझ आक्रोशित बने।
शनिवार बिहान करिब १० बजे, काम गर्ने क्रममा उनीहरू भान्सा कोठामा मात्र रहेका बेला विवाद भयो। त्यसक्रममा साउदले भान्सामा रहेको धारिलो चक्कु प्रयोग गरी याचनाको घाँटीमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी राजकुमार सिंहले जानकारी दिए ।
चक्कु प्रहारपछि गम्भीर घाइते भएकी याचनालाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भयो।
‘शनिवार बिहान भान्सामा काम गर्ने क्रममा विवाद भएको देखिन्छ। सोही क्रममा साउदले चक्कु प्रहार गरेका रहेछन्। किशोरी भान्सामै ढलेपछि मात्र काउन्टरमा रहेका होटेल सञ्चालकले थाहा पाए’ प्रहरी नायव उपरीक्षक सिंहले भने ।
प्रहरीले साउदलाई घटनापछि तत्कालै नियन्त्रणमा लिएको हो। हाल उनी इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा छन्। प्रारम्भिक बयानमा उनले याचनासँग विवाह गर्ने सहमति भइसकेको र अन्य केटासँग बोलिरहेको थाहा पाएपछि रिसको झोकमा हत्या गरेको बताएका छन्।
‘उनी मेरो प्रेममा थिइन्, विवाह गर्ने वाचा भइसकेको थियो। तर अरू केटासँग पनि कुराकानी गरिरहेकी थिइन्। सोध्दा झगडा भयो। रिसको झोकमा चक्कु हिर्काएँ, अहिले ठुलो गल्ती गरेको महसुस भइरहेको छ’ उनले प्रहरीलाई भनेका थिए ।
मृतक याचना सेजुवालको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

Leave a Reply