काठमाडौं । काठमाडौंको घट्टेकुलोमा रहेको नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा आएको छ । शुक्रबारदेखि यस कलेजले आफ्नो सेवा पुनः सञ्चालनमा ल्याएको हो ।
‘लामो समयको स्थगनपछि काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताललाई हामीले आजैदेखि पुनः सञ्चालन गर्न सफल भएका छौँ । यस अस्पतालको पुनः सञ्चालनको मूल उद्देश्य भनेकै मेडिकल शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवालाई पुनः सशक्त बनाउनु हो’, कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले भने ।
अध्यक्ष अन्सारीका अनुसार अस्पतालले सर्वसाधारणलाई लक्षित गर्दै प्रारम्भिक चरणमा निःशुल्क ओपिडी सेवा प्रदान गर्ने भएको छ । यो सेवा अर्को सूचना जारी नभएसम्म निरन्तर रहनेछ ।
अस्पतालले बहिरंग (ओपिडी) सेवाका अतिरिक्त अन्य विभिन्न विशेषज्ञ सेवाहरूमा पनि विशेष छुटको व्यवस्था गरेको छ । यस अन्तर्गत जेनरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, र नाक–कान–घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवाहरूमा छुट उपलब्ध हुनेछ ।
त्यस्तै, अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने भएको छ । जसमा एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्स–रे र फिजियोथेरापी जस्ता सेवाहरूमा पनि विशेष छुट दिइनेछ । बिरामीहरूको सुविधालाई ध्यानमा राख्दै अस्पताल परिसरमै फार्मेसी सेवा पनि उपलब्ध गराइएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जहगिर अन्सारीले काठमाडौं सहरको केन्द्रमा अवस्थित यस अस्पतालले नागरिकहरूलाई गुणस्तरीय, सुलभ र सरल स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको बताए । अस्पताल पुनः सञ्चालनको अवसरमा निःशुल्क सेवा उपलब्ध गराउने निर्णय भएको समेत उनले जानकारी दिए ।
कलेज पुनः सञ्चालनले नागरिकहरूको विश्वास जित्ने, उनीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने र स्वास्थ्य तथा स्वास्थ्य शिक्षा दुवै क्षेत्रमा आफ्नो उत्तरदायित्व पूरा गर्ने अस्पतालका व्यवस्थापक दिलीप साहले बताए ।

Leave a Reply