काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रको स्तरोन्नतिको तयारीमा नेपाल जुटेसँगै मुलुकको अन्तरराष्ट्रिय छवि उँचो भई नेपाल आत्मनिर्भर हुने दिशातर्फ अघि बढेको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्र्याजुुएसन)सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्तरोन्नति हुँदा नेपालको ‘कन्ट्री रेटिङ’ सूचकाङ्क बलियो बनी लगानीको थप वातावरण तयार हुने विश्वास व्यक्त गरे ।
सन् १९७१ नोभेम्बर १८ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले अतिकम विकसित मुलुकको सूचीमा सूचीकृत गरेको ५५ वर्षपछि नेपालले स्तरोन्नतिको अवसर पाउँदैछ । हाल ४५ देश सम्मिलित समूहको नेतृत्व गरेको नेपाल अन्य सात मुलुकसँगै आगामी मङ्सिरमा स्तरोन्नति हुँदैछ । उनले ‘भिजिट डिप्लोमेसी’को अवधारणालाई आत्मसात् गरी ‘सगरमाथा संवाद’ र ‘लगानी सम्मेलन’जस्ता राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका सम्मेलनमार्फत आर्थिक कूटनीतिलाई जोड दिएको बताए ।
विगतको १५औँ योजना र चालु १६औंँ योजनाले लिएका लक्ष्य ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाको सफल कार्यान्वयनको नतिजा देखा पर्नथालेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

Leave a Reply