३० करोड लागतमा कास्कीको घट्टेखोला–धम्पुस–खानीगाउँ सडक बन्दै

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माणको शिलान्यास गरिएको छ । नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त सडकको गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शुक्रबार शिलान्यास गरे ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत ग्रामिण सडक सञ्जाल सुधार आयोजनाबाट कार्यान्वयन भइरहेको उक्त सडक २ वर्षभित्र निर्माण सक्ने गरी २०८१ फागुन २१ मा सम्झौता भएको थियो । सडक निर्माणका लागि एमएस इकेके–एमसिएसपीएल–बिबिआर जेभिले ३० करोड १८ लाखमा सम्झौता गरेको छ ।

सडकको शिलान्यास गर्दै मन्त्री केसीले निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण व्यवसायीलाई सचेत बताए । सडक निर्माण कार्य पर्यटकीय क्षेत्रसँग जोडिएको हुनाले यो परियोजना स्थानीय अर्थतन्त्र, रोजगारी, तथा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने मन्त्री केसीको विश्वास छ ।

‘समयमै गुणस्तरीय रूपमा कार्य सम्पन्न गर्न, काम निरन्तर अघि बढाउन, निर्माणस्थलको नियमित अनुगमन गरि समयमै आयोजना सम्पन्न गर्ने वातावरण तयार गर्न, हाम्रो कार्यालय, निर्माण व्यवसायी र स्थानीय तहलाई विशेष आग्रह गर्दछु,’ उनले भने ।

यो आयोजनाले माछापुच्छ्रे गाउँपालिका आसपासका क्षेत्रमा यातायात सेवा विस्तार गरी सामाजिक, आर्थिक, पर्यटकीय, स्वास्थ्य र शैक्षिक क्षेत्रमा बहुआयामिक भूमिका खेल्ने मन्त्री केसीले उल्लेख गरे ।

सडकको लम्बाई १३.३ किलोमिटर रहनेछ । पहिलो ७ किलोमिटरसम्म अस्फाल्ट पिच र बाँकी सडकमा डिबिएसटी प्रविधिबाट पिच गरिने ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रमुख लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । निर्माण कम्पनीका प्रतिनिधि अनिल घिमिरले आजैदेखि निर्माण सुरु हुने र समयमै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सडक निर्माणमा स्थानीयको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *