रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले अपाङ्गता भएका र सदरमुकाम आउन नसक्ने नागरिकलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्न सुरु गरेको छ।
सदरमुकाम आउन नसकेर नागरिकता लिनबाट वञ्चित हुने अवस्था अन्त्य गर्न अभियानकै रूपमा प्रशासनले गाउँ–गाउँमा सेवा दिन लागेको हो ।
यसैक्रममा रामेछाप नगरपालिका–७ सुकाजोरका टिकाबहादुर खत्रीलाई प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा गएको टोलीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र दिएको छ ।
जन्मजात अपाङ्गता भएकाले बसेको ठाउँबाट उठ्न नसक्ने अवस्थामा रहेका खत्रीलाई आमाको सहयोगमा स्याहार गरिँदै आएको छ।
नागरिकताको अधिकारबाट वञ्चित नहोस् भनेर प्रमुख जिल्ला अधिकारी थापाले वडा अध्यक्ष समीर कार्कीको उपस्थितिमा घरमै नागरिकता दिनुभएको हो । ‘कुनै पनि नागरिक सदरमुकाम आउन नसकेकै कारण नागरिकताको अधिकारबाट वञ्चित हुनु हुँदैन, सूचना पाएपछि हामी घर–घरमा पुगेर नागरिकता दिन तयार छौँ’, उनले भने ।
त्यस्तै, कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणलाई पनि वडास्तरसम्म विस्तार गरेको छ। फोटो सङ्कलनदेखि कार्ड वितरणसम्मको प्रक्रिया स्थानीय तहमै पुर्याउने प्रशासनको योजना छ। ‘डिजिटल कार्ड लिन कार्यालय आउन नसक्ने सेवाग्राहीलाई घरनजिकै सुविधा दिन वडास्तरसम्म पुगेर परिचयपत्र दिन लागेका हौँ’ प्रमुख जिल्ला अधिकारी थापाले भने ।
नागरिकतासहित राज्यको पहुँच सबै नागरिकसम्म पुर्याउन यस्ता कार्यक्रम प्रभावकारी रहेको उनको भनाइ छ । यसले नागरिक प्रतिको उत्तरदायित्व पनि बढ्ने उनले बताए ।

Leave a Reply