विराटनगर । माओवादी नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको ढुङ्गेकला पार्कमा प्रतिमा (ढुङ्गामा खोपिएको आकृति) बनाइएपछि सामाजिक सञ्जालमा आलोचना र ट्रोल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘किराँती देशलाई के योगदान दिएर यो प्रतिमा खोपाउन लगाए ?’ भन्दै प्रश्न वर्षाइरहेका छन् ।
धरान उप महानगरपालिका वडा नम्बर ४ ढुंगेकला पार्कमा खोपिएको किराँतीको आकृति सेयर गर्दै प्रमिस राई लेख्छन्, ‘लु आयो सुदन किराँती ढुङ्गे कला पार्कमा । के योगदान छ भनिदिनु पर्यो ? तपाईँ–हाम्रा बाउ–बाजे पनि देशका लागि लडेका थिए । अब हामीले बनाउन पाउने कि नपाउने ?’

यसरी सुदन किराँतीको योगदानको बारेमा प्रश्न गर्नेहरू धेरै धरानका मेयर हर्क साम्पाङका समर्थकहरू रहेका छन् । केही दिनअघि धरानमा ४ मा निर्माण भएको ढुंगेकला पार्कको अनुगमनका क्रममा धरानका मेयर हर्क साम्पाङ आएका थिए । मेयरले पार्कको अनुगमन गरेर फर्किएपछि सुदनको प्रतिमा बनाइएको विषयमा प्रश्नहरू उठेका हुन् ।
सुदन किराँती सस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री भएका बेला मेयर साम्पाङले धरानमा एयरपोर्ट बनाउन पहल गरिदिन आग्रह गर्दै पत्र लेखेका थिए । धरान उपमहानगरपालिका–१७ मा हवाई मैदान निर्माणका लागि यती इन्करपोरेटेड प्रालिबाट जग्गा खरिद गरी हालसम्म एयरपोर्ट निर्माण नभएको भन्दै साम्पाङले मन्त्री किराँतीलाई २०८० साल कात्तिकमा पत्र लेखेका थिए । नागरिक उड्डयन प्राधिकरणले सम्भाव्यता अध्ययन गरी धरान उपमहानगर क्षेत्रमा विमानस्थल बनाउन नमिल्ने निष्कर्ष निकालेको थियो ।
२०८० फागुनमा विमानस्थल बनाउन नमिल्ने प्रतिवेदन आएपछि मेयर साम्पाङ राईमाथि खनिएका थिए । उनले स्ट्याटस लेख्दै किराँतीलाई ‘हुतीहारा, गोज्याङ्ग्रा’जस्ता शब्दले गाली गरेका थिए । मेयर साम्पाङले किराँतीलाई कुलले धिक्कार्नेसम्म भन्न भ्याएका थिए भने अब आफ्नै पहलबाट धरानमा विमानस्थल बनाउने दाबी समेत गरेका थिए ।
धरान ४ का वडा अध्यक्ष तथा ढुंगेकला पार्कका संयोजक धनबहादुर राई मेयर साम्पाङ र किराँती बिचको विवादले ढुंगेकला पार्कमा राखिएको किराँतीको आकृतिका बारेमा प्रश्न उठेको हुन सक्ने बताउँछन् ।
उनले भने, ‘केही दिनअघि मेयर साब अनुगमनमा आउनु भो । हेरेर जानु भो तर केही पनि भन्नु भएन । अस्तिबाट नेगेटिभ कमेन्टहरू आउन थाल्यो ।’
अध्यक्ष राईले आकृति बनाउने विषयमा किराँतीको कुनै भूमिका नरहेको दावी गरे ।
‘उहाँलाई जानकारीसमेत छैन । यो विषयमा उहाँको भूमिका र योगदानको बारेमा प्रश्न गर्नु बेकार हो,’ उनले भने ।
यता पूर्वमन्त्री किराँतीले भने उक्त प्रतिमा आफ्नो चाहना अनुसार नबनेको बताएका छन् । आफू शालिक पुजा गर्ने संस्कारको पहिल्यैबाट विरोधि रहेको उनको भनाइ छ ।
आफ्नो शालिकलाई कसैले नदेख्ने ठाउँमा कसैले नभेट्ने गरी लगेर गाडीदिन उनले धरानको स्थानीय सरकार (धरान उपमहानगरपालिकासँग माग गरेका छन् ।
किराँतीको स्टाटस यस्तो छः
धरानमा मेरो शालिक बनाईदिनुहुने सबैलाई हृदय भित्रबाटै उच्च सम्मान गर्दछु ।
सबैमा स्मरण रहोस्, मलाई मेरो शालिक बनाउने चाहना अहिले पनि छैन र पछि पनि हुने छैन । साँच्चै भन्नुपर्दा मान्छेको शालिक बनाउने र शालिकलाई पूजा गर्ने संस्कृतिको सिद्धान्तत म विरोधी हुँ । फेरि मैले शालिक बनाउनु पर्ने किसिमको देशलाई योगदान पनि के नै पो गरेको छु र ? त्यसैले त्यो बनिएको शालिक कसैले नदेख्ने ठाउँमा र कसैले कहिल्यै नभेट्ने गरी लगेर गाडिदिनु हुन स्थानीय सरकार धरानसँग माग गर्दछु ।

ढुंगेकला पार्क निर्माणको कथा
धरान उप महानगरपालिकाको वडा नम्बर ४ मा रहेको सेउती खोलाको किनारमा बाँजगरा क्षेत्रको फोहोर फाल्ने ठाउँ थियो । झाडी र एकान्त भएका कारण लागू औषध प्रयोगकर्ताहरूको अखडाको रूपमा विकास हुन थाल्यो । दिनदहाडै चोरी हुन थालेपछि वडा कार्यालयलाई यो ठाउँको सदुपयोग कसरी गर्ने भन्ने चिन्ता थपियो ।
सोही चिन्ताका विषयमा छलफल गर्दै जाँदा पार्क बनाउने योजना फु¥यो ।
वडा अध्यक्ष धनबहादुर राईले भन्छन्, ‘भोजपुर जाँदा ठूलो ढुङ्गामा पेन्टिङ गरेर चित्र बनाएको देखेको थिएँ । यहाँ पनि यस्तै बनाउने भनेर आर्टिस्ट खोज्दै जाँदा ढुंगेकला पार्कको योजना बन्यो ।’
ढुंगेकला पार्कका प्रोजेक्ट म्यानेजर भैरव आङ्लाले डम्पिङ साइटको रूपमा रहेको क्षेत्र अतिक्रमण हुन थालेपछि पार्क बनाउने योजना सुरु भएको बताए । वडा अध्यक्ष राई पार्क बनाउन सहमत भएपछि बगरमा रहेका डुङ्गाहरूमा देशका लागि योगदान गरेका व्यक्तीहरुको पेन्टिङ गरेर चित्रहरू बनाउने योजना बनेको उनको भनाइ छ ।
आङलाका अनुसार सुरुमा पेन्टिङ गर्ने र फुलबारी बनाउने भन्ने तयारी भएको थियो । पेन्टिङ गर्ने मान्छे खोज्दै जाँदा रोजन राईले सञ्चालन गरेको आर्ट स्टुडियोमा पुगेपछि पेन्टिङको साटो ढुङ्गामा आकृति खोपेर प्रतिमा बनाउने सहमति भएको उनी बताउँछन् ।

पार्क बनाइएको क्षेत्र डेढ विगाहमा फैलिएको छ । यत्रो जग्गामा पार्क बनाउन र ढुङ्गामा आकृति खोपेर प्रतिमा बनाउन भने बजेट थिएन । मूर्तिकारलाई पैसा पनि दिनु पर्छ । कसरी जोहो गर्ने ? अध्यक्ष राईको जिज्ञासामा आर्ट स्टुडियोका सञ्चालक रोजन राईले नै उपाय पनि फुराए । प्रदेश भरिका मुर्तिकारहरूलाई बोलाएर श्रमदानको रुपमा एउटा–एउटा प्रतिमा बनाउन लगाउने र बाँकीलाई ज्याला दिने उनको प्रस्ताव थियो ।
रोजनकै कुरा सुनेर सामाजिक सञ्जालबाट मूर्तिकारहरुलाई धरानमा आउन आव्हान गरिएको म्यानेजर आङ्लाले बताए । सामाजिक सञ्जालमा गरिएको आव्हान अनुसार मूर्तिकारहरू धरान आए ।
मूर्तिकार रोजन राई का अनुसार मुर्तीकारहरुलाई श्रमदानका लागि आव्हान गरेपछि १५ जना मूर्तिकारहरू सम्पर्कमा आएका थिए । उनीहरूलाई एउटा एउटा प्रतिमा श्रमदानमा बनाउने र दोस्रो पनि बनाउने भए त्यसको भने पारिश्रमिक पाउने भनियो ।
ढुंगेकला पार्कमा पछि ५ जना मूर्तिकारहरूले नियमित काम गरे । सो कामको सुरुवात पुस १३ गते भएको थियो । पार्कको निर्माण शिलान्यास धरानका मेयर हर्क साम्पाङले गरेका थिए ।
यसरी बन्यो ढुंगेकला पार्कमा सुदनका आकृति
देशको लागि योगदान गरेका व्यक्तिहरूको सम्मान स्वरूप जीवितै हुँदा प्रतिमा बनाउने निर्माण समितिको निर्णय थियो । निर्णयअनुसार दाताहरूले नामै तोकेर प्रतिमा बनाइदिनु भनेर चन्दा पठाएको आङ्ला बताउँछन् ।
व्यक्तिको परिचयसमेत खुल्ने गरी ढुंगामा अनुहारको आकृति खोपिएको छ । सन्दुक रुइतको परिचय आँखाको उपचारसँग छ ।
आङलाले भने, ‘आँखाको नानी भित्र उहाँको प्रतिमा बनाइएको छ । उहाँको प्रतिमा बनाउन पनि अरू कसैले स्पन्सर गरेको थियो ।’
भूतपूर्व गोर्खा सैनिक सङ्घ (गेसो) अध्यक्ष कृष्णकुमार राई सुदन किराँतीको प्रतिमा बनाउन आफूले स्पोन्सर गर्ने भन्दै आए ।

वडा अध्यक्ष धनबहादुर राईले भने, ‘हामीले छलफल गर्दा पनि त्यत्तिको मानिसको बनाउँदा उहाँलाई सम्मान नै हुन्छ भनेर ओके ग¥यौं । सुदनको प्रतिमामा उहाँले लेखेको कविता समेत राखौँ भनेर दाताले भन्नु भएको छ ।’
राईले युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण गर्न समेत किराँतीलाई सात लाख रुपैयाँ दिएका थिए । प्रतिमामा किराँतीले लेखेको बुद्ध गान (लुम्बिनी) शीर्षकको कविता पनि लेखिने राईले बताए ।
वडा अध्यक्ष राई आफूहरूले किराँतीसँग प्रतिमा बनाउने विषयमा सल्लाह नगरेको बताउँछन् ।
अरु कसका छन् प्रतिमा ?
ढुङ्गे कला पार्कमा सुदनको बहेक २२ वटा ढुङ्गामा खोपेर प्रतिमा बनाइएको छ । सो पार्कमा डा सन्दुक रुइत, महावीर पुन, धाविका मिरा राई, मेयर हर्क साम्पाङको पनि प्रतिमा बनाइएको छ । यस्तै किराँत धर्मगुरु फाल्गुनन्द, श्रीजङ्गाको पनि प्रतिमा बनाइको छ ।
त्यस्तै, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, द कमाण्डो फिल्मका हिरो राजकुमार राई, नेपाली फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङको प्रतिमा बनाइएको छ । यस्तै, महिला फुटबल टिमकी पूर्वकप्तान एन्जिला तुम्बापो, खेलाडी प्रिती राई, रेखा पौडेल र साबित्रा भण्डारी साम्बाको पनि प्रतिमाहरु छन् ।

सो काम गर्नका लागि १० लाख रुपैयाँ भन्दा बढी लागेको म्यानेजर आङलाले बताए । तर उपमहानगरपालिका र वडाको एक रुपैयाँ पनि खर्च नभएको उनको भनाइ छ ।
आङलादे भने, ‘श्रमदान र दाताहरूको पैसाले पार्क बनेको हो । अझै बनाउने काम भइरहेको छ ।’

Leave a Reply