नवीना लामा भन्छिन्- विद्यालाई राजनीतिमा रोकियो भनेर म रोएकी होइन

काठमाडौं । एमाले पार्टी कार्यालय च्यासलमा हिजो बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउन नमिल्ने निर्णय गर्‍यो । यस निर्णयसँगै भण्डारीको पार्टी पुनरागमनको च्याप्टर क्लोज भएको छ ।

यही सन्दर्भमा एमाले नेतृ तथा पूर्वसांसद नवीना लामाले प्राइम टेलिभिजनलाई दिएको अन्तर्वार्ता चर्चामा छ । भण्डारीलाई पार्टीले सक्रिय राजनीतिमा बन्देज लगाएपछि लामाको भक्कानो शीर्षकमा अन्तर्वार्ता सार्वजनिक भएपछि अनेकखाले प्रतिक्रिया आइरहेका छन् । तर, यथार्थ त्यस्तो नरहने लामाले बताइन् ।

आफू दिवंगत नेता पुष्पलाल श्रेष्ठलाई सम्झेर भावुक भएको नेपाल प्रेसलाई बताइन् ।

उनले भनिन्, ‘आज उहाँको ४७ औं स्मृति दिवस हो । उहाँ पन्चायतविरुद्ध लडेर, समाजवादको सपना देखेर आउनुभएको नेता हो । नीति कि नेतृत्व भन्दा नीतिलाई प्राथमिकता दिएर आउनुभएको नेता हो । पुष्पलालले बनाएको पार्टीमा पुष्पलालसँग अध्यक्ष कमरेड अ‍ोली र सम्मनीय पूर्वराष्ट्रपतिको तुलना पनि भएको हो । तर, तिनै व्यक्ति लडेर आज यस्तो भयो ।’

लामाले थपिन्, ‘यस्तो लडाइँले हामी सबैको सपनामाथि तुषारापात होला कि भनेर भावुक भएकी थिएँ ।’

सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गरेर काम गरिरहँदा ओली र भण्डारीबीचको लडाइँले भविष्य अन्धकार भयो भनेर भनेर भावुक भएको लामाले बताइन् । उनले थप भनिन्, ‘विद्याजीले पनि राजनीतिमा फर्कने हो भने नेतृत्वसँग कुरा गरेर, सल्लाह गरेर आउनुपर्थ्यो । तर, सबैथोक यति अचानक भयो कि हाम्रो पार्टीलाई कमजोर बनाउन चाहनेहरुलाई खेल्न सजिलो भयो ।’

अहिले ओलीको विकल्प नभएको समेत लामाको जिकिर छ । तर, विधान अधिवेशनपूर्वको बैठकमा जबज बारे, देशको समग्र विकासबारे बहस र छलफल हुनुपर्नेमा अन्य विषयमा केन्द्रित हुँदा आफूहरुजस्तो कार्यकर्तालाई नमीठो लागेको उनले बताइन् ।

‘विद्या भण्डारी सक्रिय राजनीतिमा आउने कुरा नराम्रो चाहिँ होइन । तर, अध्यक्ष पदमै अगाडि बढ्छु भन्ने कुरा सान्दर्भिक भएन । राजनीतिमा आउँछु भन्ने कुरा त स्वागतयोग्य हो,’ उनले थप भनिन्, ‘केपी ओली र विद्या भण्डारी प्रतिस्पर्धी होइनन् । ओलीलाई ओली बनाउन विद्याको सहयोग छ । र विद्यालाई विद्या बनाउन ओलीको सहयोग छ ।’

सम्मानित पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कनु राम्रो हो त ? भन्ने प्रश्नमा उनले भनिन्, ‘सम्मानित पदमा पुगेको, राष्ट्रको सम्मान पाइसकेको मान्छे दलमा आएर नमुछिए हुन्थ्यो भन्ने लाग्छ । यस्तो कुरा राष्ट्रपति हुनु अगाडि नै सोच्नुपर्थ्यो । उहाँ अग्रज व्यक्तित्व हो । उहाँले जुन सम्मान पाउनुभएको छ, त्यसलाई जोगाउनुपर्छ ।’

तर, आफू भावुक भएको कुरा भने पुष्पलाल स्मृति दिवससँग जोडिएको लामाले फेरि पनि बताइन् ।

Comments

One response to “नवीना लामा भन्छिन्- विद्यालाई राजनीतिमा रोकियो भनेर म रोएकी होइन”

  1. Laleek Avatar
    Laleek

    एकदम अच्छा विचार हो, सवैले स्वीकार गर्ने पर्छ, धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *