‘जबजलाई नयाँ शिराबाट अघि बढाउन विद्या भण्डारीको व्यक्तित्व नै काफी’

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा आउन रोक लगाएपछि उनीतिर खुलेका स्थायी कमिटी सदस्य कर्ण थापाले स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लड्ने बेला आएको बताएका छन् । उनले घृणा, अपमान र निषेधको अन्त्य र जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ सङ्कल्प आवश्यक परेको अपिलसमेत गरे ।

थापाले भने, ‘घृणा, अपमान र निषेधको अन्त्य र जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ सङ्कल्प गरौँ । स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लडौँ । हरेक विवेकसित एमाले कार्यकर्तासँग हार्दिक अपिल गर्दछु ।’

बैठकमा भण्डारीलाई निषेध गर्ने निर्णयविरुद्ध थापासहित उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली मात्रै भए ।

एमालेले राष्ट्रपति नेपाली सेनाको परमाधिपति भइसकेको राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा पुगेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षण गर्ने व्यक्तित्व, नेपाली सेनाको परमाधिपति, साझा व्यक्तित्व, राष्ट्रको गौरव, गणतन्त्रको प्रतीक, देशकै अभिभावक राजनीतिक दलको कार्यकर्ता वा नेता हुने कुरा हाम्रा स्थापित मान्यताले पनि राम्रो नहुने निष्कर्ष निकालेको छ ।

साथै बैठकले सम्मानमा कुनै कमी हुन नदिने निष्कर्ष निकालेको थियो । तर, भण्डारीको एमालेमा कमब्याकको च्याप्टर क्लोज गरिएपछि आगामी रणनीतिबारे उनै थापासँग नेपाल प्रेसका लागि रमेश पराजुलीले गरेको संक्षिप्त कुराकानी-

-पार्टीको निर्णयविरुद्ध फरक मत राख्नुभयो, अब कसरी अघि बढ्नुहुन्छ ?

मैले बैठकमा असहमति राखिसकेको छु, अब यो विषयलाई कार्यकर्ताको बीचमा लैजान्छु ।

-विद्या भण्डारीलाई पार्टी सदस्यता नै नदिनुको कारण के जस्तो देख्नुहुन्छ ?

पार्टी अध्यक्ष केपी ओली उहाँदेखि डराउनुभयो । उहाँलाई पनि पद चाहियो, आफ्नो पदको लागि आफ्नो मूल्य मान्यता सबै छाड्नुभयो । हिजो उहाँले नै स्थापित गरेको कुरा आफ्नो पद अगाडि बढाउने सिँढीका रूपमा प्रयोग गर्नुभएको रहेछ । मैले दिउँसो नै पार्टी अध्यक्षको समय लिएर कुरा गरेको थिएँ । खाजा खाने समयमा भेटेर लामो कुराकानी गरेको थिएँ । पार्टीको लोकतान्त्रिकरणको नेतृत्व तपाईँले गर्नुभएको छ ।

तपाईँको साथमा हामी पनि थियौँ । तपाईँले नेतृत्व गर्दा जति दुःख पाउनुभयो त्यस बेलादेखि म पनि तपाईँको साथमै थिएँ । तर, अहिले यो मान्यतालाई तपाईँले बोल्नुभएन । तपाईँले यो मान्यता नबोकेपछि म तपाईँकै मान्यतामा उभिन्छु, मलाई फरक मत राख्न दिनुस् भनेको थिएँ । मैले तयार पारेको लिखित प्रस्तावलाई मैले उहाँलाई देखाएँ पनि। उहाँले हुन्छ भन्नुभएको पनि थियो ।

उहाँले मलाई फरक देखाउनको लागि नगर्नुस् भन्नुभयो, मैले फरक देखाउन होइन शब्द सच्याउनुस् भनेँ । हामीले अघि सारेको मान्यतालाई स्थापित गर्नुपर्छ भनेरै हो फरक देखाउनुपर्ने जरुरी छैन भनेँ, मैले यति भनेपछि उहाँले समय दिन्छु पनि भन्नुभएको थियो । मैले अचानक उठेर राख्दा उहाँले हुँदैन भन्नुहोला भनेर मैले अनुशासित कार्यकर्ताको हैसितमा मैले पहिला नै जानकारी गराएको हुँ ।

बैठकको सबै प्रक्रिया सकिन लागेपछि उहाँले निर्णय सुनाउनुभयो । सबै प्रक्रिया सकिएपछि मैले हात उठाएँ । उहाँले म बोल्दैछु सुनाइसकेपछि गर्नुहोला नि भन्नुभयो । मैले अगाडिदेखि नै भनेको उहाँलाई थाहा थियो । मैले विष्णु पौडेललाई पनि भनेको थिएँ ।

पछि केही मान्छेहरूले होहल्ला गर्न थाले, मैले तथ्यमा बहस गर्नुस् होहल्ला किन भनेर अध्यक्षलाई रोक्न लगाएँ । म कसैको दादागिरी सहने मान्छे होइन पनि । त्यसपछि अध्यक्षले सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलाई समय दिनुभयो । मलाई चाहिँ लिखित छ त्यो दिनु भनेर बोल्न दिनुभएन । माइनोटमा लेख्नुहोला भन्नुभयो ।

फरक मत भनेको लेखेर दिनेमात्रै होइन । विधिको व्यवस्थाले माइन्यूटमा लेखेको कुरालाई मात्रै फरक मत भन्छ । त्यो लेखेको छैन । भोलितिर लेख्लान् नि ! लेख्ने बेलामा आफैँले दर्ता गर्ने हो । मैले उहाँहरूलाई पनि भनिसकेको छु, त्यो दर्ज भएको मानौँ न ।

यो कुनै व्यक्तिसँग सम्बन्धित छैन । हामीले नेपाल र विश्वको कम्युनिस्ट आन्दोलनमा नेतृत्वको निम्ति अनावश्यक प्रकारको द्वन्द्व, वैध अवैध प्रकारको काम, शक्तिको प्रयोग, गुटबन्दी हुँदै छ। त्यो परिस्थितिको अन्त्य गर्नको आवश्यक छ ।

एकपटक भइसकेपछि आजीवन भइराख्ने यो कमरेड केपी ओलीले नै प्रयोग गरेको शब्द हो यो । नेतृत्व नछाड्ने भएपछि ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा राखिएको थियो ।

तर, दुई पटक भइसकेपछि फेरि हुन्छु भन्नेको अर्थ त आजीवन नै हुन्छु भन्ने हुन्छ नि त । त्यो चिजको अन्त्यको लागि यो व्यवस्था गरिएको हो । यो केपी ओलीविरुद्ध गरिएको व्यवस्था होइन । अहिले पो उहाँ नेतृत्वमा हुनुहुन्छ ।

-तर फरक मत राख्ने दुई उपाध्यक्षसहित तीनजना मात्रै हुनुभयो नि ?

फरक मत लेख्ने भनेको त त्यो मत हो । पहिला पनि मदन भण्डारीले फरक मत राख्नुभएको थियो त्यो कहाँ पुग्यो भन्ने कुरा त पछि हुन्छ नि ! कति संख्याले गर्‍यो भन्नुको केही अर्थ छैन । त्यो विचार हो, संख्याले निर्धारण गर्दैन । विचारलाई कार्यकर्ताको बीचमा लिएर जान पाउनुपर्छ भन्ने हो के हुन्छ त पछि थाहा हुन्छ नि !

– उहाँ (विद्या) निकट भनिएका धेरै नेताहरू बैठकमा नखुल्नुको कारण के देख्नुहुन्छ ?

भय र डरको स्थिति छ, पहिले पहिले राता आँखे जनवाद भन्थे, अहिले जनताको बहुदलीय जनवाद होइन, सत्ता आँखे जनवाद हाबी भइरहेको छ ।

त्यसैले फरक विचार राखेबापत पार्टीमा कसैले कुनै पूर्वाग्रह राख्न पाइँदैन भन्ने कुरा हामीले स्थापित गरेको आन्तरिक लोकतन्त्रमा हामीले स्पष्ट ढङ्गले लेखेका छौँ । त्यो चिजलाई स्थापित गर्न आवश्यक छ । लोभ, डर देखाउने अनेक प्रपञ्च गर्ने, कुनै जालझेल भन्दा माथि हो जबज, त्यो मान्यतालाई स्थापित गर्नको लागि मेरो फरक मत हो ।

-पार्टीको सदस्यता समेत नवीकरण नभएपछि उहाँको रणनीति के हुन्छ ?

अहिले रणनीतिमा नजाऔँ न । उहाँले थालेको राजनीतिक अभियान हो । त्यो निरन्तर चल्छ ।

– अदालत जाने चर्चा पनि छ नि ?

अहिले यो राजनीतिक अभियान भएकाले त्यही ढङ्गले बढ्छ । जबजको मूल मान्यतालाई स्थापित गर्नको लागि नेपालमा नयाँ शिराबाट आन्दोलन अगाडि बढ्छ ।

-भनेपछि उहाँ अब मदन भण्डारी फाउन्डेसनको नामबाटै देशव्यापी जानुहुन्छ ?

उहाँलाई अहिले कुनै पद ओहोदा नभएपनि विद्या भण्डारीको व्यक्तित्व आफैँमा काफी छ ।

Comments

3 responses to “‘जबजलाई नयाँ शिराबाट अघि बढाउन विद्या भण्डारीको व्यक्तित्व नै काफी’”

  1. ksp pyl Avatar
    ksp pyl

    अनैतिक कुरा गर्ने पनि अनैतिक हुन्छ ।

    1. Ra Avatar
      Ra

      Kp oli chai khub natik cha. Ek numbar ko corrupt

      1. Raj Avatar
        Raj

        केपी ओली नभएको भए माकुने प्रचण्डले एमाले सिध्याउंथे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *