रुपन्देही । रोल्पामा पहिरोले च्यापिएर एक वृद्धको मृत्यु भएको छ ।
शनिबार बेलुका थबाङ गाउँपालिका–४ उवास्थित थापाखर्कमा स्थानीय ७२ वर्षीय गोठे घर्तीमगरको घरमाथिबाट पहिरो खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अत्यधिक वर्षा भइरहेका बेला घरभित्र रहेका उनीसँगै घरसमेत बगाएर झन्डै ३० मिटर मुनि पुर्याएको र परिवारका अन्य ५ जना भने घटना हुँदा घर बाहिर भएकाले सुरक्षित अवस्थामा भएको वडाअध्यक्ष हिक्मतसिंह घर्ती मगरले बताए ।
घटनास्थल दुर्गममा रहेकाले शव पोस्टमार्टमका लागि अस्पताल पुर्याउन समस्या भएको वडाध्यक्ष घर्तीमगरले बताए । उनले जिल्लास्थित सुरक्षा अधिकारीहरुसँग समन्वय गरेर छिमेकी जिल्ला रुकुम पूर्वको अस्पतालमा लैजान सजिलो हुने भएकाले समन्वय गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रोहितकुमार शाहीले आइतबार दिउँसो पहिरोबाट उनको शव निकालिएको बताएका छन् ।
उनले बिहान घटना भएपनि सो क्षेत्रमा मोबाइल नेटवर्कले काम नगरेकाले स्थानीयले १० बजे खबर गरेर प्रहरी पुगेको र अहिले रुकुमपूर्वमा पोष्टमार्टमका लागि पठाउन थालिएको जनाए ।

Leave a Reply