बौरिइन् जलजला

बन्द भइसकेको गायन रियालिटी शो नेपाली तारा सिजन ३ हेरेका दर्शकहरुका लागि अर्घाखाँचीकी जलजला परियार नौलो नाम होइन । टप सिक्समा पुगेर बाहिरिए पनि नेपाली संगीतप्रेमी दर्शकको मनभित्र उनी भित्रिइसकेकी थिइन् ।

नेपाली ताराबाट बाहिरिएपछि ‘बाटोमुनिको फूल २’को एक गीतमा उनले स्वर भरिन् । गीतको बोल थियो, ‘केही कदम तिमीसँग हिँड्न मन छ’ । यो गीत आज पर्यान्त दर्शक स्रोताले धेरै खोज्ने चलचित्रको गीतमध्येमा पर्छ ।

यसरी रियालिटी शोबाट उदाएर पश्र्व गायन हुँदै नेपाली सांगितिक दुनियाँमा सुवास छर्न कम्मर कसेर लागिरहेकी जलजलाको गतिमा अचानक ब्रेक लाग्यो । भारतको रवीन्द्र भारती संगीत विश्वविद्यालयमा शास्त्रीय संगीत पढिरहेकी थिइन् । होस्टेलमा बस्थिन् ।

यहीबीचमा उनको पेट असाध्यै दुख्ने, असह्य पीडा हुने क्रम सुरु भयो । अचानक स्वास्थ्यमा समस्या भएपछि जलजलाले आमालाई भारतको कलकत्तामा बोलाइन् । आमा पनि आइन् । आमाछोरीको घर सल्लाह भयो,– भारतमा उपचार महँगो हुन्छ, नेपालमै चेकजाँच गरौं ।

सन् २०१८ मा नेपाल आएर बिपी स्मृति अस्पतालमा चेकअप गरे । चेकअपको रिपोर्टले भन्यो, ‘जलजलाको दुवै मृगौला फेल भएको छ ।’

अब के गर्ने ? अन्यौलमा परिन् जलजला । परिवार झनै अन्यौलमा पर्यो । अर्कातिर परिवारको आर्थिक अवस्था एकदमै नाजुक थियो । खेतीकिसानी गर्ने परिवारसँग कति नै पैसा हुन्छ र ! यहीवेला डक्टरले भने, ‘जतिसक्दो चाँडो मृगौला प्रत्यारोण गर्नुपर्छ । उहाँको अवस्था गम्भीर बनिसकेको छ, जे पनि हुनसक्छ ।’

यसपछि उनी टिचिङ अस्पताल भर्ना भइन् ।

हाडजोर्नीको रोगले रोकिदिएको नृत्यको बाटो

उनका पिता नारायण परियार र आमा जुना परियार गीत संगीतमै थिए । नारायण परियार गाउँथे भने जुना परियार नृत्य गर्थिन् । उनीहरु तत्कालीन जनमोर्चा निकट सांस्कृतिक अभियान रक्तिम परिवारमा संलग्न थिए ।

घरको माहौल नै सांगीतिक थियो । यहीकारण जलजला सानैदेखि गीत संगीतमा सक्रिय भइन् । जलजला सम्झिन्थिन्, ‘सधैं हार्मोनिम, मादल बजिरहन्थ्यो । बाबाले गीत गाउनुहुन्थ्यो, लेख्नुहुन्थ्यो । म सांगीतिक माहौलमै हुर्किएँ ।’

जलजलाका पिताले जमानामै ‘आँधीहुरी’ एल्बम निकालेका थिए । गीतले गाउँतिर चर्चा पाए पनि मूलधारको संगीतमा नारायण स्थापित हुन सकेनन् । आफ्नो गायक हुने अधुरो सपना जलजलाले पुरा गर्नेछिन् भन्ने विश्वास नारायणमा थियो ।

बाबुआमा नै गीत संगीतमा सक्रिय भएकाले जलजलाले रगतमै संगीतको राग बोकेर आएकी थिइन् । घरको सांगीतिक माहौल र गाउनसक्ने क्षमताका कारण जलजलामा पनि विश्वास थियो,– ‘बुवाको अधुरो सपना म पूरा गर्नेछु ।’

सानैदेखि जलजलाको झुकाव नृत्यमा थियो । पाँच वर्षदेखि उनले डान्स प्रतियोगिता जित्न थालिन् । नृत्य प्रतियोगिता जित्दै अगाडि बढिरहेकी जलजलालाई शरीरले साथ दिएन । सात, आठ वर्षको उमेरमै हाडजोर्नी सम्बन्धी रोगले उनलाई थला पा¥यो ।

शरीर चलमलाउनै उनलाई गाह्रो हुन थाल्यो । अन्तिममा उनलाई विरामीले नृत्य गर्न नसक्ने अवस्थामै पुर्याइदियो । उनको नृत्यको यात्रामा पूर्णविराम लाग्यो ।

नृत्य रोकिए पनि संगीतको यात्रा भने रोकिएन । उनको स्वरमा बेग्लै जादु थियो । गायनमा अलग्गै रस थियो । अलिअलि गुनगुनाउने गर्थिन् । एक दिन नारायणले जलजलालाई हार्मोनियमअघि राखेर भने, ‘गाऊ त छोरी !’

‘त्यहीँबाट मेरो गायन सुरु भयो,’ उनी सुनाउँछिन्, ‘राजु परियार, बिमाकुमारी दुरा जस्ता दिग्गज कलाकारलाई सुन्दै हुर्किएँ म ।’

जलजलाका लागि बाआमाले थातथलो नै छाडिदिए

गायनमा निखारिँदै गएपछि उनले जिल्लाको रेडियो कार्यक्रममा फोन गरे गीत गाउँथिन् । विभिन्न पुरस्कारहरु जित्थिन् । यहीबीचमा काठमाडौं आएर उनले रेडियो नेपालको स्वर परीक्षा पास समेत गरिन् ।

जिल्लामा चिनिए पनि काठमाडौं आएर सांगीतिक यात्रा सुरु गर्नु उनलाई लागि सजिलो थिएन । तर, उनलाई नारायण र जुनाले कम्मर कसे । जलजलाका लागि जेसुकै गर्न तयार उनीहरुले अर्घाखाँचीमा कमाएको सम्पूर्ण सामाजिक प्रतिष्ठालाई त्याग्न तयार भए ।

जे जसो भए पनि प्रगतीशील गीत गाउँदै, नाच्दै हिँडेका नारायण र जुनाको जिल्लामा अलिकति भए पनि प्रतिष्ठा थियो । कमाएर खानका लागि अलिकति भए वनि जमिन थियो । तर, सबैथोक दाउमा राखेर नारायण र जुना जलजलाको लागि काठमाडौं आएर सडकबाट संघर्ष सुरु गर्न तयार भए ।

जलजला सुनाउँछिन्, ‘सबैथोक त्यागेर मेरो लागि काठमाडौं आउनुभयो । त्यो त्याग म कहिल्यै तिर्न सक्दिन ।’

काठमाडौंमा नारायण, जुना र जलजलाको नयाँ शीराबाट संघर्ष सुरु भयो । उनी आठ कक्षा पास गरेर आएकी उनले नौ कक्षाबाट पढ्न सुरु गरिन् । मनोजराज शिवाकोटीसँग औपचारिक संगीत सिकाइ पनि सुरु गरिन् ।

अनि ‘केही कदम’…

हेर्दाहेर्दै अर्घाखाँचीको सानो गाउँमा हुर्किएकी जलजलाले पहिलो गीत रेकर्ड गरिन् । गीतको बोल थियो, ‘म त रोएँ रोएँ तिम्रो सम्झनामा’ ।

गीतको संगीत थियो, कमल सौरागको । पुरुष स्वरमा साथ दिएका थिए नरेन्द्र प्यासीले । पहिलो गीत रेकर्डबारे जलजला बोल्छिन्, ‘गाउँको महोत्सवमा गाएको सुनेर कमल मामाले स्टेजमै भन्नुभएको थियो, नानीलाई म गीत दिन्छु । उहाँले त्यही वचन पूरा गर्नुभएको थियो ।’

यसपछि उनले रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा भाग लिइन्, दोस्रो स्थान हात पारिन् । यसपछि नेपाली तारा सिजन ३ को प्रतिस्पर्धी बनिन् । टप सिक्ससम्म पुगिन् । नेपाली ताराले नै उनलाई लाखौँ स्रोतामाझ पुर्यायो ।

जलजलालाई पनि लाग्छ, ‘नेपाली ताराले मलाई ‘जलजला परियार’ भनेर चिनाएको हो ।’

यसपछि उनले ‘बाटोमुनिको फूल २’मा ‘केही कदम’ गीत गाइन् । यो हिट गीतबारे जलजला भन्छिन्, ‘गीत गाएर सुनाएपछि यशकुमार सरले गीत दिनुभयो । त्यसले मलाई अझै धेरै स्रोतामाझ पुर्‍यायो ।’

आमा जुनाले जलजलालाई पुनः जन्माइन्

१२ कक्षापछि जलजला छात्रावृत्तिमा भारतको कोलकाताको रविन्द्र भारती विश्वविद्यालयमा शास्त्रीय संगीत पढ्न गइन् । त्यहाँ अध्ययनरत रहेकै बेलामा उनलाई गम्भीर स्वास्थ्य समस्या देखा पर्‍यो, दुवै मृगौला फेल भयो ।

यसपछि नियमित डायलाइसिस गर्नुपर्ने भयो । नियमित अस्पताल धाउनुपर्ने भयो । डायलाइसिसले दिने पीडा अहिलेसम्म पनि उनको स्मृतिमा ताजै छ । उनी सुनाउँछिन्, ‘डायलोसिस त नरक जस्तै लाग्थ्यो । ‘सिरिन्ज, पेन, अक्सिजन… साँच्चै गाह्रो ।’

उनको विरामीबारे एक कान दुई कान हुँदै सबैतिर फैलियो । उनको अवस्थाबारे थाहा पाएपछि संगीत क्षेत्रका अग्रज, दर्शक, शुभचिन्तक सबैले आर्थिक सहयोग जुटाए ।

अन्ततः भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उनको सफल मृगौला प्रत्यारोपण भयो । उनलाई आमा जुनाले आफ्नो मृगौला दिइन् ।

‘हाम्रो ब्लड ग्रुप मिल्यो, म्याच भयो,’ उनी बताउँछिन्, ‘मम्मीले दोस्रो जीवन दिनुभयो ।’

ती दिन र आमा सम्झिँदै उनी भन्छिन्, ‘मम्मीले केवल मृगौला होइन, पुनर्जन्म दिनुभयो ।’

पुनः रफ्तार समात्न तम्तयार जलजला

मृगौला प्रत्यारोपणपछि अहिले जलजला स्वास्थ्य अवस्थामा फर्किएकी छन् । उनी रोकिएको सांगीतिक यात्रालाई पुनः सुचारु गर्न चाहन्छिन् ।

‘मैले अझै धेरै गीत गाउन बाँकी छ ‘तर स्वास्थ्यसँग जति लड्नुपर्छ, समाजसँग पनि उत्तिकै लड्नुपर्छ,’ जलजलाको दुखेसो छ, ‘मैले धेरै गीत गाएँ, धेरै रेकर्ड भए, तर रिलिज भएनन् । धेरैजसो रफ भोकलमा अर्कैले भर्नुभयो ।’

हिजो जे जस्तो भए पनि अब भने पुनः सक्रिय भएर सुन्दर गीतहरु दर्शक स्रोतालाई दिन चाहन्छिन् जलजला । पुरानै लय समातेर गाउन चाहन्छिन् । विरामीबाट ऊर्जा लिएर दर्शक स्रोतामाझ देखिन चाहन्छिन् ।

‘जिन्दगीको सही सदुपयोग गर्न सक्यौं भने हामी आफैं पनि बाँच्न सक्छौं, अरूलाई पनि बचाउन सक्छौं । आफैंलाई मात्रै होइन, अरूको भलो पनि सोच्नुपर्छ । जिन्दगी फेरि पाउँदा थाहा हुन्छ, हरेक क्षण अनमोल छ,’ जलजला प्रण गर्छिन्, ‘बाबाको अधुरो सपना थियो, त्यसलाई जसरी पनि पूरा गर्नेछु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *