चलचित्रको प्रचारमा रणवीर सिंहको कपी गर्दै नाजिर हुसेन

काठमाडौं । चलचित्र ‘गुन्यु चोलो’ को प्रचारप्रसारका लागि अभिनेता नाजिर हुसेनले बलिउडका चर्चित अभिनेता रणवीर सिंहको प्रचार शैलीलाई डिट्टो कपी गरेका छन् । यस वर्ष डिसेम्बरमा प्रदर्शन हुने चलचित्र ‘धुरन्धर’ को फस्ट लुक सार्वजनिक गर्नलाई रणवीरले आफ्नो इस्न्टाग्रामका सम्पूर्ण पोस्टहरु अर्काइभ गरेका थिए ।

४७ मिलियन फलोअर्स भएको रणवीरको इन्स्टा ह्याण्डलमा अहिले जम्मा एउटा मात्रै पोस्ट छ, ‘धुरन्धर’ को फस्ट लुकको । यता नाजिरले पनि दुई लाखमाथि फलोअर्स भएको आफ्नो इन्स्टा ह्याण्डलबाट सबै पोस्टहरु अर्काइभ गरेका हुन् । दुई सय बढी पोस्टहरु अर्काइभ गरेका नाजिरले केही समयपछि अनअर्काइभ गर्ने बताएका छन् । अहिले नाजिरको इन्स्टा ह्याण्डलमा जम्मा तीनवटा मात्रै पोस्ट छन्, त्यो पनि ‘गुन्यु चोलो’ को ।

चलचित्रको प्रचारशैलीका लागि रणवीरको कपी गरे पनि ‘धुरन्धर’ र ‘गुन्युचोलो’ बीचको कथा भने फरक छ । ‘गुन्यु चोलो’ लैंगिक रुपमा अल्पसंख्यककोको मुद्दा वरिपरि रहेको बताइन्छ । यस चलचित्रका लागि नाजिरले १६ किलो तौल समेत घटाएका थिए ।

चलचित्र आउँदो भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ । केही दिनअघि मात्रै चलचित्रको ‘फूल हुँ कि काँडा’ बोलको गीत सार्वजनिक भएको थियो। गीतमा नाजिरले गरेको महिला पात्रको अभिनयलाई दर्शकले निकै रुचाएका छन् । सिंगो चलचित्र कस्तो बनेको छ, त्यसका लागि भदौ १३ नै कुर्नुपर्ने हुन्छ। सँगै रणवीर सिंहको प्रचारशैली कपी गरिएको नाजिरको प्रचारशैलीले दर्शकलाई कत्तिको आकर्षित गर्छ, त्यसका लागि भदौ १३ कुर्नु बाहेक अर्को विकल्प छैन।

समुन्द्र भट्ट निर्देशित ‘गुन्यु चोलो’मा नाजिरको अलवा संचिता लुइँटेल, अनुपम श्रेष्ठ, विशाल पहारी र निशा बजगाईको पनि मुख्य भूमिका छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *