सामाजिक सुरक्षा कोषमा ८३ अर्ब ८६ करोड संकलन-एकै वर्षमा करिब ३ अर्ब ब्याज वितरण

काठमाडौं । सामाजिक सुरक्षा कोषले गत आर्थिक वर्ष २०८१–८२ को अवधिमा वृद्ध अवस्था सुरक्षा योजनामा आबद्ध योगदानकर्तालाई २ अर्ब ८४ करोड ४२ लाख रुपैयाँभन्दा बढी व्याज वितरण गरेको छ । कोषका अनुसार, यो रकम ५.५ प्रतिशत र ५ प्रतिशत व्याजदरको आधारमा गणना गरिएको हो। वितरण गरिएको व्याज सामाजिक सुरक्षा कोषले उपलब्ध गराएको योगदानकर्ताको खातामा जम्मा भएको छ ।

चालु आर्थिक वर्षको चैत्र ४ गतेसम्म ५.५ प्रतिशत र चैत्र ५ देखि आर्थिक वर्षको अन्त्यसम्म ५ प्रतिशत व्याजदरमा योगदानकर्ताको रकमले कमाएको आम्दानी सोही अनुसार वितरण गरिएको कोषका सूचना अधिकारी समेत रहेका निर्देशक डा।रोशन कोजुले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार हालसम्म सामाजिक सुरक्षा कोषमा २० हजार ९७२ रोजगारदाता तथा २३ लाख ७९ हजार ५८५ योगदानकर्ता आवद्ध छन् । योगदानकर्ताले रोजगारकर्तामार्फत नियमित रूपमा आफ्नो तलबको ३१ प्रतिशत रकम कोषमा जम्मा गर्दै आएका छन् ।

कोषमा अहिलेसम्म जम्मा ८३ अर्ब ८६ करोड रुपैयाँ संकलन भइसकेको छ । सोही अवधिमा २ लाख ३० हजार २३२ योगदानकर्ता तथा उनीहरूका हकवालाले विभिन्न योजनाबाट १५ अर्ब ७५ करोड रुपैयाँको दाबी भुक्तानी प्राप्त गरिसकेका छन् ।

सामाजिक सुरक्षा कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, योगदानकर्ता सापटी योजना सञ्चालन गरिरहेको छ । कोषले अहिलेसम्म ५ अर्ब ९५ करोड ९९ लाख रुपैयाँभन्दा बढी प्रतिफल समेत आर्जन गरिसकेको जानकारी दिएको छ ।

सामाजिक सुरक्षा कोषको यो व्याज वितरणले दीर्घकालीन सामाजिक सुरक्षातर्फ जनविश्वास बढाउने अपेक्षा गरिएको सूचना अधिकारी कोजुले बताए । उनका अनुसार कोषले आगामी दिनमा योगदानकर्ताका सुविधा अझ व्यापक र प्रभावकारी बनाउने तयारी गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *