काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजकुमार गुप्ता मधेशी मूलका भएको कारणले राजीनामा दिन बाध्य पारिएको दाबी गरेका छन्।
घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि प्रधानमन्त्रीको निर्देशनमा गुप्ताले राजीनामा दिएका थिए । तर, उनको जस्तै भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको पनि ३२ लाख घुस लिएको दाबीसहितको अडिओ सार्वजनिक भएको छ। तर, उनले राजीनामा दिनु नपर्ने उनको बुझाइ छ।
उनले फेसबुकमा लेखेका छन्, ‘ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जे गर्न पनि छूट छ । सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेश मूलका थिए, र उनलाई राजीनामा दिन बाध्य पारियो ।’
बिचौलिया, कमिशनखोर र भ्रष्टाचारीहरूका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठुलो काण्ड गरे नि ‘बा’ को शिरमा विराजमान भइरहने उनको आरोप छ।
उनले थपेका छन्, ‘भूमि मन्त्री अधिकारी, गुप्ताजीकै केस र अडियो काण्डमा मुछिएका हुन् । अडियो लगायतका प्रमाणहरू मिडियामा छ्यापछ्याप्ती छन् । तर, ‘बा’ र अधिकारीको सगोत्री समुदाय मौन छ ।’
बलराम अधिकारीको ठाउँमा कुनै मधेशी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए यो केसमा ओलीले राजीनामाको फरमान जारी गर्न निर्देशन दिइसक्ने दाबी गरेका छन्।

Leave a Reply