बढ्दो छ घरायसी हिंसा- ५६ पुरुषले पत्नी र ११ महिलाले पतिकाे ज्यान लिए

काठमाडौं । माया, आत्मियता र सुरक्षाको अनुभूति दिने थलो हो, परिवार । तर, त्यही परिवारभित्र आपसी अविश्वास बढ्दै गएको छ । परिवारभित्रै हत्याका घटना सार्वजनिक हुँदै जाँदा ‘परिवारलाई नै सबैभन्दा सुरक्षित स्थान’ भन्ने मान्यता कमजोर हुँदै गएको छ ।

पछिल्लो समय नेपाली समाजमा घरभित्रै हत्याका घटना बढ्दै गएका छन् । कहिले पतिको हातबाट पत्नी मारिन्छिन् त कहिले ज्वाइँको हातबाट सासु, ससुरा मारिएका छन् । परिवारमा एकपछि अर्को विवाद हुँदा ज्यानको मूल्यमा टुंगिने गरेको छ । यस्ता घटनाले ‘घरभित्रै असुरक्षित’ को भय पैदा गरेको छ । फलतः घरलाई सुरक्षित मानिने धारणा नै चुनौतीमा परेको छ ।

०००

असार ३१ गते मंगलबार । प्यूठानको सरुमारानी गाउँपालिका-३ गोठेरीकी २८ वर्षीय रुक्मणी बरालको हत्या भयो । उनको हत्या आरोपमा आफ्नै पूर्वपति लीलबहादुर बराल पक्राउ परे । प्यूठानका डीएसपी दिपेश बस्यालका अनुसार आफूलाई धोका दिएको आरोप लगाउँदै लीलबहादुरले चक्कुले हानेर रुक्मणीको हत्या गरेका गरेका हुन् ।

ऐरावती गाउँपालिका-२ कात्तिकेका ३० वर्षीय लीलबहादुरले मंगलबार बिहान साढे ९ बजेतिर हत्या गरे । प्रहरीले उनलाई घटनास्थलबाटै पक्राउ गर्‍यो । रोजगारीको सिलसिलामा इजरायल पुगेका लीलबहादुरले नेपाल फर्किएर पूर्वपत्नीको हत्या गरेका थिए । उनी असार २४ मा नेपाल फर्किएका थिए । रुक्मणीले अर्कैसँग विवाह गरेको झोँकमा लीलबहादुरले नेपाल फर्किएको एक सातापछि हत्या गरेको प्रहरीको भनाइ छ । रुक्मणी र लीलबहादुरबाट जन्मिएका एक छोरा र एक छोरी छन् ।

०००

एक साताअघि असार २२ गते भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भयो । हत्यामा संलग्न सोही परिवारका सदस्य थिए । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी युवराज तिमिल्सिनाका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या उनकै ज्वाइँ राजेन्द्र राईले गरेका थिए । घाइते अवस्थामा भेटिएका राईले हत्या गरेको प्रहरीसमक्ष स्वीकारे । घटनास्थलबाट पक्राउ परेका ज्वाइँ राजेन्द्र राईमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

०००

भोजपुरको घटना हुनु चार दिनअघि जनकपुरमा पनि ज्वाइँले छुरा प्रहार गरी ससुराको हत्या गरे । जनकपुरधाम उपमहानगरपालिका २१, कुर्थाका ४८ वर्षीय बेचन महासेठले आफ्नै ससुरा जनकपुरधाम १५ कुवारामपुरका ६५ वर्षीय वासुदेवप्रसाद साह ‘विमल’ को हत्या गरेका थिए । असार १८ मा ससुराको हत्या गरेर फरार रहेका बेचनलाई असार २५ गते पक्राउ गरेर सार्वजनिक गरियो ।

धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीका अनुसार घरायसी विवाद तथा लेनदेनका कारण बेचनले आफ्नै ससुरा वासुदेवको असार १८ गते हत्या गरेका थिए । घटनापछि फरार भएका बेचनालाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाएको छ ।

०००

आइतबार सुनसरीको हरिनगरा गाउँपालिका-६, घुस्कीमा एक किशोरीको हत्या भयो । १८ वर्षीय अर्सी खातुनको गोली प्रहार गरी हत्या गरिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा उनको हत्यामा उनका भिनाजु संलग्न देखिएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार अर्सीका भिनाजु भारतको पत्राहा पञ्चायत–१६, घुर्नाका २९ वर्षीय आजात मियाँ जटले उनको टाउकोमा गोली प्रहार गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भयो ।

०००

यी घटना प्रतिनिधिमात्र हुन् । यस्ता घटना परिवार हुँदै शहरदेखि गाउँसम्म फैलिन थालेका छन् । नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने चालू आर्थिक वर्षको १० महिनामै १६५ जना आफ्नै परिवारको सदस्यबाट मारिएका छन् ।

सबैभन्दा बढी पतिद्वारा पत्नीको हत्या भएको छ । यस अवधिमा ५६ पत्नी पतिको हातबाट मारिए । त्यसबाहेक ११ पत्नीले आफ्ना पतिको हत्या गरेका छन् भने १७ जना छोराले आमाबुवाको हत्या गरेका घटना छन् । यस्तै, १३ जना बुबाआमाले छोराछोरीको हत्या गरेका छन् ।

पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने १ हजार १ सय ७४ जनाको हत्या आफ्नै परिवारका सदस्यले गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा २१५ जना मानिस आफ्नै परिवारका सदस्यबाट मारिए ।

परिवारकै सदस्यबाट मारिनेको संख्या आव २०७९/०८० मा २१७, २०७८/०७९ मा २६१, आव २०७७/०७८ मा २८० र आव २०७६/०७७ मा २०१ रहेको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक स्रोतः नेपाल प्रहरी

पारिवारिक कलह तथा आर्थिक विवादका कारण कर्तव्य ज्यानमा सबैभन्दा बढी आफन्तको संलग्नता हुने गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरे बताउँछन् ।

‘पति-पत्नीबीचको विवाद हत्यासम्म पुगेको छ’, प्रवक्ता घिमिरे भन्छन्, ‘पारिवारिक मनमुटाव, सम्पत्ति बाँडफाँट, जग्गाजमिनको स्वामित्वलगायत विभिन्न किसिमका आर्थिक विवादका कारण परिवारभित्रै ज्यान मार्ने काम भइरहेको छ ।’

उनका अनुसार प्रेम सम्वन्ध तथा अन्तरजातीय विवाहका विषयले पनि हत्या हुने गरेको छ । मादक पदार्थ तथा लागु औषध सेवन, दाइजो प्रथा, महिलामाथिको हिंसालगायतका कारणले हत्याका घटना बढिरहेको छ । डिप्रेसन, पागलपन वा अन्य मानसिक रोगबाट पीडित व्यक्तिहरूबाट पनि हत्या हुने गरेको प्रवक्ता घिमिरेले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *