काठमाडौं । सत्तारुढ दल नेकपा एमाले यतिबेला दोस्रो विधान महाधिवेशनको तयारीमा जुटेको छ । भदौ २०-२२ सम्म ललितपुरको गोदावरी सनराइज हलमा हुने विधान महाधिवेशनमा पेस गर्ने गरी उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको प्रस्तावमाथि आजदेखि छलफल सुरू हुँदैछ । त्यसका लागि दिउँसो १ बजे सचिवालय बैठक डाकिएको छ ।
जनसंगठनमा पनि वरिष्ठ पद हटाइएकाले पार्टीमा पनि नराख्ने कि भनेर बहस भइरहेको एक पदाधिकारीले बताए ।
ती पदाधिकारीले भने, ‘जनसंगठनमा पनि वरिष्ठ पद हटाइसकेका छौँ । उपाध्यक्षहरूमात्र राख्ने कि भनेर छलफल चलिरहेको छ । मस्यौदा आइसकेको छैन । पोलिटब्युरो, केन्द्रीय कमिटी हुँदै विधान महाधिवेशनले कसरी टुङ्ग्याउँछ । केही समय पर्खौँ र हेरौँ ।’
सँगै आजको सचिवालय बैठकमा पार्टी र जनसङ्गठनमा ठाउँ नपाएका, पराजित भएका र जनसङ्गठनबाट फर्किएर आएकाहरूको व्यवस्थापनबारे पनि छलफल हुने बताइएको छ । अहिले एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल छन् । पोखरेल भण्डारीप्रति नरम सुनिन्छन् ।
११ औँ महाधिवेशनमा नेतृत्वको लिने रणनीतिसाथ अघि बढेकी पूर्वराष्ट्रपति विद्या भण्डारीको व्यवस्थापनको लागि सहअध्यक्ष राखेर जाने कि भन्ने कोणबाट पनि छलफल चलेको बताइन्छ ।
भण्डारी सक्रिय राजनीतिमा फर्केपछि एमालेमा यति बेला ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था राख्ने वा हटाउने भन्ने विषयमा चर्को बहस चलिरहेको छ ।
तर, यो विधान महाधिवेशनबाट दुवै व्यवस्था हटाएर केपी ओली नै नेतृत्वमा निरन्तरता दिनको लागि विद्याको लागि नयाँ पद सिर्जना गर्ने गरी एमालेले ‘मिलन बिन्दु’ खोज्ने गरी छलफल चलाएको हो ।
अहिले एमालेमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहेका छन् । विधानको मस्यौदामाथि छलफल गर्नको लागि सचिवालयलगत्तै भोलि पोलिटब्युरो र ५ गते केन्द्रीय कमिटी बैठक बस्दैछ ।
केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा प्रस्तुत गर्ने खाका तयार पार्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उनले थपे, ‘उपाध्यक्ष पौडेलले तयार पारेको खाकामा केन्द्रीय सदस्यहरूले सुझाव राख्नुहुन्छ । त्यसपछि हामी थप सुझावका लागि प्रदेश र जिल्ला कमिटीमा पठाउँछौँ । उनीहरूको सुझावलाई पनि लिएर अन्तिम रूप दिनको लागि विधान महाधिवेशनमा प्रस्तुत हुन्छ ।’
साउन ५ देखि भदौ ५ गतेसम्म विधानबारे सुझाव सङ्कलन हुने उनले बताए ।
त्यसो त एमालेका महासचिव शंकर पोखरेलले पनि आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बताइसकेका छन् ।
पार्टी केन्द्रीय विभागहरूको भेलालाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० वर्षे उमेर हद विधान महाधिवेशनबाट अनुमोदन गराउन केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको प्रष्ट्याए ।

Leave a Reply