निलम्बित उपाध्यक्ष र कोषाध्यक्षसहितका नेतालाई भौतिक कारबाही गर्ने जनमत सिरहा इन्चार्जको धम्की

जनकपुरधाम । जनमत पार्टीका निलम्बित उपाध्यक्ष ई. दिपक शाहसहितका नेतालाई भौतिक कारबाही गर्ने सोही पार्टीका सिरहा इन्चार्ज बिनोद यादवले चेतावनी दिएका छन् ।

जनमतका सिरहा इन्चार्ज यादवले पार्टीबाट कारबाहीमा परेका उपाध्यक्ष शाह, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव र कार्यकारिणी सदस्य शम्भु साहलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका हुन् । पार्टीको निर्देशन र सिद्धान्त विपरित कार्य गरिरहेको उनीहरुमाथि आरोप लगाइएको छ ।

पार्टीलाई बदनाम गर्न सिरहामा गतिविधि गरिरहेको भन्दै कारबाही गर्न तीनैजना नेताविरुद्ध सिरहा इन्चार्ज यादवले जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन समेत दिएका छन् । सो निवेदनमै पार्टी विरोधी गतिविधि नरोकिए भौतिक कारबाही गर्ने उल्लेख छ ।

भौतिक कारबाही गर्ने चेतावनीसहितको निवेदन जिल्ला प्रशासन कार्यालयले दर्ता पनि गरेको छ ।

पार्टीले कारबाही गरेपछि शाहसहितका नेताहरुले ‘जनसंवाद यात्रा’ सुरु गरेका हुन् । सो क्रममा बारामा उनीहरुमाथि जनमतकै कार्यकर्ताले मोसो छ्यापेर दुव्र्यवहार गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *