तुइनको त्रासदीः जनता बर्सेनि महाकालीमा खस्छन्, सम्बन्धित निकाय आँखा चिम्लेर बस्छन्

कैलाली । २०७२ सालको असोजमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने घोषणा गर्‍यो । तुइन हटाएर झोलुङ्गे पुल निर्माणको योजना अघि सारियो । अधिकांश स्थानमा झोलुङ्गे पुल पनि बने । तर, नबनेका ठाउँमा मानवीय क्षति हुने गरी वर्षेनि घटना दोहोरिरहेको छ ।

मंगलबारमात्रै दार्चुला व्यास गाउँपालिका-२ तल्लो दुम्लिङका २८ वर्षीय नारायणसिंह बुढाथोकी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भए । यही ठाउँमा २०८० वैशाख ९ गते वर्षीय सिङ्दल सिंह भण्डारीको तुइन तर्ने क्रममा नदीमा खसेर मृत्यु भयो । २०७९ सालमा पनि १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका थिए ।

त्यसअघि साउन १५ मा सोही ठाउँमा तुइन तरेर भारत जाने क्रममा खसेर जयसिंह धामी पनि बेपत्ता भएका थिए । भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा उनी नदीमा बेपत्ता भएका थिए ।

ब्यास गाउँपालिका-४ को डोकटकास्थित ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत १० वर्षीय बालक दीपेन्द्र विष्टदेखि दार्चुला सुन्सेराका ५५ वर्षीय चन्द्रसिंह कुँवरसम्म तुइनबाट खसेर बेपत्ता भए । इन्जिनियर राजेन्द्र न्यौपाने पनि बेपत्ताको सूचीमा छन् ।

प्रधानमन्त्री ओलीले दुई वर्षभित्र तुइनमुक्त देश बनाउने घोषणा गरेको १० वर्षसम्म पनि महाकालीमाथि अझै कति तुइन छन् भन्ने यकिन तथ्यांक प्रहरी प्रशासनसँग छैन । झोलुंगे पुल निर्माण गर्ने भनिए पनि भारतीय पक्षले सहमति नदिँदा स्थानीय तुइनकै सहारा लिन बाध्य छन् ।

‘छिटो यात्रा गर्ने उद्देश्यले दार्चुलाको माथिल्लो क्षेत्रहरूमा तुइनहरू प्रयोग गरेको पाइन्छ’, दार्चुलाका सहायक सीडीओ मोहनसिंह धामीले भने, ‘हामीहरूले हटाइरहेका त छौँ, तर पनि धेरै ठाउँमा प्रयोग भएको पाइन्छ ।’

तुइन हटाउन २०७३ मा सरकारले ‘सार्वजनिक तुइन विस्थापन कार्यविधि’ नै जारी गरेको थियो । त्यसको दुई वर्षपछि मन्त्रिपरिषद्को २०७५ भदौ २९ को बैठकले तुइनको प्रयोग रोकथाम, नियन्त्रण, निरुत्साहित गर्न तथा तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिको उद्धार तथा सहायतासम्बन्धी कोष सञ्चालन नियमावली-२०७५ ल्याएको थियो । तर, नियमावलीमा उल्लेखित प्रावधान अनुसार प्रभावित क्षेत्र लक्षित विशेष कार्यक्रम ल्याएर तुइन प्रयोग नियन्त्रण हुन सकेको छैन ।

गृह मन्त्रालयका अनुसार ७१ वर्षयता तुइनबाट खसेर दार्चुलामा मात्रै ६९ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । जिल्ला प्रहरी र वडा कार्यालयको तथ्यांकअनुसार ब्याँस- २ का मात्रै २६ जना बेपत्ता छन् । ब्याँस- ३, ४ र ६ नम्बर वडाका पनि बेपत्ता हुने धेरै छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले २०७८ यतामात्रै चारजना महाकालीमा बेपत्ता भएको बताए ।

‘प्रत्येक वर्षजसो महाकालीमा तुइन चुँडिएर नेपाली बेपत्ता भएको पाइन्छ । चार जनामध्ये एकजनाको मात्रै शव भेटिएको छ’, उनी भन्छन् ।

महाकाली नेपाल-भारत सीमावर्ती नदी हो । घरायसी र दैनिक उपभोग्य वस्तु किनमेल गर्न यहाँका नागरिक भारतीय बजार जानुपर्ने बाध्यता छ । सहजै वारपार गर्न पायक पर्ने ठाउँमा पुल छैनन् । गर्भवती, बिरामी, स्कुले बालबालिका सबै तुइनबाटै आउजाउ गर्न बाध्य छन् ।

डडेल्धुरा, बैतडी र दार्चुलामा दुई दर्जनको हाराहारीमा तुइन छन् ।

छिटो यात्राको लागि तुइनको प्रयोग गर्ने गरेको र केही स्थानमा विकल्प नै नरहेको व्याँस गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुवर बताउँछन् ।

‘जिल्लाको सदरमुकाम जानकै लागि पनि भारत जानुपर्ने बाध्यता छ । त्यहाँसम्म पुग्न पनि तुइन चढ्नु पर्छ । त्यही यात्रामा धेरैजना बेपत्ता भइरहनु भएको छ’, उनले सुनाए ।

दार्चुला सदरमुकाम खलङ्गालाई भारतसँग जोड्ने झोलुङे पुल ०२८ देखि सञ्चालनमा आए पनि जिल्लाका अन्यत्र क्षेत्रका नागरिक भारत आउजाउका लागि तुइन प्रयोग गर्छन् ।

ब्याँस- २ को दुम्लिङमा नेपाल-भारत जोड्ने झोलुङे पुल निर्माण नहुँदा अहिले पनि स्थानीय जोखिमपूर्ण तुइन तर्न बाध्य छन् ।

‘हामीले झोलुङ्गे पुल र बाटो निर्माणका लागि सरकारलाई पटक-पटक अनुरोध गरेका छौँ, तर नसुनेपछि ज्यान जोखिममा राखेर तुइन प्रयोग गर्न बाध्य छौँ,’ गाउँपालिका अध्यक्ष कुवरले भने ।

पुल र तुइन नभएका ठाउँमा नागरिक ज्यान जोखिममा राखेर ट्युबबाट महाकाली पार गर्न बाध्य छन् । ट्युबमा महाकाली बेपत्ता हुनेहरूमध्ये अधिकांश लेकम गाउँपालिकाका छन् ।

सहायक सीडीओ‌ धामी भन्छन्, ‘दार्चुलाको माथिल्लो क्षेत्रमा तुइन चुँडेर र तल्लो क्षेत्रमा ट्युबबाट बेपत्ता भइरहेका छन् ।’

Comments

One response to “तुइनको त्रासदीः जनता बर्सेनि महाकालीमा खस्छन्, सम्बन्धित निकाय आँखा चिम्लेर बस्छन्”

  1. ksp pyl Avatar
    ksp pyl

    बर्सेनि धेरै मान्छे तुईनबाट खसेर मर्थे यदि ओलिले सयौैं तुईन बिस्थापित नगरेका भए । फेरि प्रश्न ओलि तिर किन ? सरकारमा बसेर एउटा पनि तुईन विस्थापित नगर्नेहरूतिर प्रश्न तेर्साईदैन । त्यसैले त नेपालमा विकास हुदैन ।काम गर्ने ओलि सबै कुराको दोषी । केही नगर्ने अरू राम्रा ? यसो भन्नेहरू कि भ्रष्ट, लुटेरा, बलत्कारी, तस्कर, ज्यानमारा हुन् कि दिल्लीले पालेका भाडाका टट्टु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *