विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले विराटनगरको कोइराला निवासमा पत्रकार सम्मेलन गर्दै सभापति शेरबहादुर देउवालाई आफूहरू सफल बनाउन लागिरहेको जिकिर गरेका छन् ।
उनले भने, ‘सभापति सफल हुनुभयो भने पार्टी सफल हुने हो । सभापतिलाई सफल बनाउन सकिएन भने पार्टीलाई गम्भीर धक्का लाग्छ भन्ने मेरो विश्वास हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने छ ।’
कुनैबेला देउवामा प्रिय पात्र खाणले फागुनको दोस्रो साता लुम्बिनीको एक कार्यक्रममा संस्थापन समूहको साथ छाड्ने प्रष्ट संकेत गरेका थिए । खासगरी भुटानी शरणार्थी प्रकरणमा थुनिएको बेला देउवाको साथ नपाएको भन्दै उनी असन्तुष्ट सुनिन्छन् ।
खाणले त्यो कार्यक्रममा अब देश चलाउन सक्नेलाई पार्टीको जिम्मेवारी दिनुपर्ने अवस्था आएको बताएका थिए ।
उनी धरौटीमा छुटेपछि पनि संस्थापन समूहका नेताभन्दा इतर पक्षकासँग सम्बन्ध विस्तारमा छन् । उनी जेलमा रहँदा पनि इतर समूहका नेता डा. शेखर कोइरालले सहयोग गरेको र अन्य नेताहरूले पनि साथ दिएको तर संस्थापन समूहका नेताहरुले खुलेर साथ नदिएको विषय खाणनिकट नेताले बताइरहेका छन् ।
कोइराला निवासमा पत्रकार सम्मेलन गरेको विषयमा पत्रकारको जिज्ञासामा उनले उनले कोइराला निवास कांग्रेसको पवित्र तीर्थस्थल भएको बताए । उनले यहाँ आउनु कुनै मन्दिरमा आएसरह हुने भन्दै आफू मन्दिरको प्राङ्गणमा आएर यहाँको माटो स्पर्श गरेको बताए ।
उनले पार्टीमा कोइराला परिवारको योगदानको पनि प्रशंसा गरे ।
उनले भने, ‘कोइराला निवासमा आउनुलाई गुटका रूपमा नलिनू । कोइराला सम्झिँदा मेयर नागेश कोइरालामात्रै सम्झनु भएन कि ? कृष्ण प्रसाद कोइराला, बीपी कोइराला, मातृका कोइराला, गिरिजा प्रसाद कोइराला र सुशील कोइराला पनि सम्झनु पर्छ । कोइराला निवासमा कांग्रेसीजन मात्र होइन, सबै नेपाली बारम्बार आइरहनु पर्छ । ‘
विराटनगर महानगरपालिकाका मेयर तथा कांग्रेस मोरङका कार्यवाहक सभापति नागेश कोइराला पनि सँगै थिए ।
उनले भने, ‘कोइराला निवास त हाम्रो लागि पवित्र भूमि हो । यो कुनै धार्मिक स्थल गएजस्तै हो । यहाँ आउँदा कुनै मन्दिरको प्राङ्गणमा गएर जमिन स्पर्श गरेजस्तै थप ऊर्जा र प्रेरणा मिल्ने विश्वास राख्छु ।’
नेपाली कांग्रेसको १५ औैं महाधिवेशनलाई लक्षित गर्दै अहिले गुटगत तयारी भइरहेको छ । सभापतिका प्रमुख दाबेदार इतर समूहमा नेता डा. शेखर कोइरालाको स्वामित्वमा अहिले कोइराला निवास छ ।
सभापति देउवासँग टाढिएका खाण विराटनगर आएर कोइराला निवासबाटे पत्रकार सम्मेलन गर्नुलाई अर्थपूर्णरूपमा लिइएको छ । उनले घुमाउरो पारामा गुटका कुरा भने मिलाइ मिलाइ गरे । पत्रकारले राखेको जिज्ञासामा उनले गुटभन्दा आफू पर रहेको भन्दै बचाउ पनि गरिरहे ।
पार्टिको केन्द्रीय अनुशासन समितिले केही दिनअघि गरकेो नेताहरूमाथिको कारबाहीको औचित्य पुष्टि गर्न खाणले चुनौती दिए ।
उनले भने,‘पार्टीको कुनै पनि निकायले एक पक्षीय वा पक्षपातपूर्ण व्यवहार गर्न हुँदैन । अनुशासन समितिको निर्णयमा आलोचना भइरहेको छ । समितिले केन्द्रीय समितिलाई प्रतिवेदन देला । प्रतिवेदनका उपर केन्द्रीय समितिले छलफल चलाउला र टुङ्गोमा पुग्ने गरी निर्णय गर्ला । यसलाई ठिक र बेठिक भन्ने अधिकार केन्द्रीय समितिलाई छ ।’

Leave a Reply