युवा संघ लुम्बिनीका अध्यक्षलाई साेधियाे स्पष्टीकरण, यस्तो छ कारण

दाङ । सामाजिक संजाल मार्फत आगामी एघारौं महाधिवेशनबाट पार्टीको नेतृत्व विद्या भण्डारीले गर्नुपर्ने मत राख्दै आएका राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई स्पष्टीकरण सोधिएको छ ।

खरेललाई युवा संघका महासचिव महेश चौलागाँइले स्पष्टीकरण सोधेका हुन् । असार २५ गते सोधिएको स्पष्टीकरणमा सामाजिक संजालमा पार्टी नेतृत्वलाई लाञ्छना र मानहानि गर्ने गरेको दाबी गरिएको छ । अध्यक्ष खरेललाई संगठनको दशौं महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यमाथि अभद्र व्यवहार गरेको समेत उल्लेख छ ।

स्पष्टीकरणमा संगठनको धारा ४१ र ४२ (क) र (ख) अनुसार कार्वाही गर्न नपर्ने कारण भौतिक रूपमै उपस्थित भइ पेश गर्न भनिएको छ । अध्यक्ष खरेलले स्पष्टीकरण सोधिएको भोलिपल्ट नै ३ पन्ने जवाफ पेश गरेका छन् ।

उनले महाधिवेशनमा अध्यक्षमा सुमन पुरीलाई समर्थन गरेको तर, कसैलाई अभद्र व्यवहार नगरेको जवाफ फर्काएका छन् । सामाजिक संजालमा नेतृत्व परिवर्तनको कुरा उठाउँदा आफूलाई स्पष्टीकरण सोधिएको दाबी गरे ।

‘मैले आगामी महाधिवेशनबाट विद्या भण्डारीलाई अध्यक्ष बनाउनुपर्छ भन्ने ढंगले फेसबुकमा लेखेको छु’, खरेलले नेपाल प्रेससँग भने, ‘नेतृत्वको विकल्प खोज्नु कुनै अपराध होइन ।’

Comments

One response to “युवा संघ लुम्बिनीका अध्यक्षलाई साेधियाे स्पष्टीकरण, यस्तो छ कारण”

  1. ksp pyl Avatar
    ksp pyl

    यसले विद्या आएमा आफ्नो दुनो सोझ्याउँला भनेर चाकडि गरेको हो । यसलाई विद्या नेतृत्वमा आएमा एमाले सकिन्छ भन्ने कुरा के मतलव ? लुटन पाए भयो ।स्पष्टिकरण मात्र होईन निश्काशन गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *