काठमाडौं । भाटभाटेनी सुपर मार्केटद्वारा त्रिवि शिक्षण अस्पतालमा नवनिर्मित ईएचएस भवनको आज उद्घाटनसँगै हस्तान्तरण गरिएको छ ।
अस्पतालको वार्षिकोत्सवको दिन पारेर प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भवन हस्तान्तरण गरियो । उक्त भवन ९ करोड ५० लाख लागतमा निर्माण गरिएको कार्यक्रममा जानकरी दिइयो ।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले स्व. मातापिता वृषबहादुर र धनमाया गुरुङको सम्झनामा उक्त भवन बनाइदिएका हुन् । यसअघि ०६८ सालमा पनि गुरुङले १० करोड रूपैयाँ लागतमा आकस्मिक कक्षको भवन बनाइदिएका थिए ।

भवन हस्तान्तरण कार्यक्रममा गुरुङले भने, ‘२०६८ सालमा आकस्मिक कक्ष राख्ने भवन आवश्यक परेकाले १० करोडको लागतमा निर्माण गरेका थियौँ । अस्पताललाई थप सेवा दिन भवन चाहिएको रहेछ, पुनः नयाँ भवन निर्माण गरेर आज हस्तान्तरण गरेका छौँ । भाटभटेनीका तर्फबाट जहिले पनि अग्रपंक्तिमा रहेर देश, जनता र राष्ट्रको सेवामा स्वमनले, राष्ट्रबाट केही पाइन्छ कि भनेर आशा नगरी सफा मनले सहयोग गर्न तयार छौँ ।’
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईले ओपीडी र परीक्षण सेवा नयाँ भवनबाट सञ्चालन गर्ने बताए ।
प्रधानमन्त्री ओलीले धन धेरैले कमाए पनि दानपुण्यको काम कमैले मात्र गर्ने गरेको बताए ।
उनले भने, ‘औधी खुसीको कुरा हो, दानवीर भनेर चिनिएका मीनबहादुरजी, सावित्रा गुरुङजीले फेरि अर्को एउटा महत्त्वपूर्ण दान गर्नुभएको छ, सम्पूर्ण नेपाली जनताको हितको निम्ति । सम्पूर्ण नेपाली जनताले स्वास्थ्योपचार प्राप्त गरून् भन्नका निम्ति ।’
नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेकोले सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभरूपमा सेवा दिनुपर्ने उनको भनाइ थियो ।

Leave a Reply