रूपन्देही । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेको सिण्डिकेटविरुद्ध जनअसन्तोष झल्किने गरी रूपन्देहीको तिलोत्तमा नगरपालिका-८ स्थित मिलन टोल विकास संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत प्राप्त गरेको छ ।
पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण र एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे तथा कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणको छेउमा पर्ने सो टोलको १५ सदस्यीय कार्यसमितिमा रास्वपाले ४ पदाधिकारीसहित ८ सदस्य पद जितेको छ। ३ जना सदस्य एमालेबाट, रास्वपाकै प्यानलबाट राप्रपाका २ जना र कांग्रेसबाट २ जना सदस्य निर्वाचित भएका छन् ।
२७२ घरधुरी रहेको टोलमा २३३ मत खसेको थियो। अध्यक्षमा रास्वपाका रामाकान्त भुसाल १२४ मत ल्याएर निर्वाचित भए भने एमालेका कृष्ण चापागाईं १०० मतमा रोकिए ।
उपाध्यक्षमा रास्वपाका पर्सुराम काफ्लेले १४५ मत ल्याउँदै कांग्रेसकी रिना बराललाई सहजै हराए। बरालले ८१ मत मात्र पाइन्। सचिवमा रास्वपाकै सीता तिवारी ११९ मतसहित निर्वाचित भइन् भने कांग्रेसका थम्मन गुरुङले १०५ मत ल्याए। कोषाध्यक्षमा रास्वपाका प्रतिक पाण्डेले १२६ मतसहित एमालेकी बबी चापागाईंलाई पराजित गरे। चापागाईंले ९८ मत पाइन् ।
कांग्रेस-एमाले बलियो भएको ठाउँमा बढेको असन्तुष्टि
टोल विकास संस्थाको यो चुनाव सत्तारुढ दलहरू कांग्रेस र एमालेका लागि चेतावनीरुपमा आएको छ। तिलोत्तमाका अधिकांश उपभोक्ता समिति, सामुदायिक वन, खानेपानी संस्था लगायतमा यी दुई दलको भागबन्डा हुँदै आएको छ । त्यसैको असन्तुष्टि मतदाताले मतदानमार्फत व्यक्त गरेको एमाले तिलोत्तमाका एक नेताले बताए ।
रास्वपाका स्थानीय नेता बुद्धि सापकोटा भन्छन्, ‘अब टोल टोलबाट सत्ता गठबन्धनको सिण्डिकेटविरुद्ध विद्रोह सुरु भएको छ। यसपटकको जित त्यो संकेत हो ।’
चुनाव भएको टोलमै पर्ने करहिया खानेपानी संस्थामा एमाले अध्यक्ष यज्ञ गैरे अध्यक्ष छन् भने कांग्रेस नेतृ शान्ता अधिकारी उपाध्यक्ष। सोही वडामा रहेको करहिया सामुदायिक वनमा कांग्रेस नगर सभापति हरिलाल पाण्डे अध्यक्ष र एमाले प्रतिनिधि उपाध्यक्ष छन् ।
केही महिनाअघि भएको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रको चुनावमा पनि मतदाताले सत्तारुढ गठबन्धनलाई अस्वीकार गरेका थिए । उक्त चुनावमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट स्वतन्त्र उम्मेदवार खिमलाल पाण्डे विजयी भएका थिए ।
त्यसमा संघीय सांसद बासुदेव घिमिरे, लिला गिरी लगायत एमाले नेताहरु मतदाता थिए। तर जनताले स्पष्ट बहुमत भएको गठबन्धनका उम्मेदवारलाई नदिएर स्वतन्त्र उम्मेदवारलाई जिताएका थिए ।
स्थानीय संस्थामा सिण्डिकेट शैलीमा सञ्चालित सत्ता साझेदारीप्रति मतदाताको असन्तुष्टि टोल विकास संस्थाको चुनावमा पनि देखिएको छ। राजनीतिकरणविहीन, जनमुखी नेतृत्वको चाहना राख्ने मतदाताले वैकल्पिक शक्तिप्रति आशा देखाएको जनाएका छन् ।

Leave a Reply