काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विवरण अद्यावधिक गर्न अझै आलटाल गरिरहेको छ । पार्टीले झण्डै एक वर्ष अगाडि नै अद्यावधिकका लागि निवेदन दिए पनि आयोगले विभिन्न बहानाबाजी गर्दै टारिरहेको हो ।
रास्वपाले महामन्त्री मुकुल ढकाललाई कारबाही गरेर हटाएपश्चात् २०८१ साउन १७ गते आयोगमा लिखित जानकारी गराएको थियो । त्यसमा कुनै पनि निर्णय नलिएको आयोगले एकै पटक १० महिनापछि आएर कागजात अपुग भयो भन्दै रास्वपालाई चिठी पठायो । आयोगले गत जेठ २९ गते पठाएको सो पत्रपछि रास्वपाले माग भए बमोजिम थप कागजात उपलब्ध गराइसकेको छ ।
रास्वपाले असार ८ गते नै कारबाही सम्बन्धी थप कागजात उपलब्ध गराएको हो ।
रास्वपाले फेरि २०८२ असार ७ गते केन्द्रीय समितिमा हेरफेर गर्दै कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ता बनाउने निर्णय गर्यो । त्यसको विवरण अद्यावधिकका लागि असार ९ गते आयोगमा निवेदन दियो । तर, उक्त निवेदनमा केही त्रुटि भएको भन्दै आयोगले विवरण अद्यावधिक गरेन । फेरि रास्वपाले १९ गते अर्को निवेदन दिएको र त्यो दर्ता भएको आयोगले जनाएको छ । तर अझै पनि विवरण अद्यावधिक भएको छैन ।
रास्वपाले पदाधिकारी हेरफेरको विवरण अद्यावधिकका लागि आयोग समक्ष पेश गरेको निवेदन तथा कागजातहरु उपर अझै अध्ययन र जाँचबुझ भइरहेको आयोगले जनाएको छ । यस सम्बन्धमा सूचनाको अधिकार प्रयोग गर्दै चार जनाले दिएको निवेदनमा आयोगले सो जवाफ दिएको हो ।
पूर्वमहामन्त्री डा. मुकुल ढकालले पनि २०८१ साउन १३ गते रास्वपाको ‘अवैधानिक बैठकको पदाधिकारी हेरफेरसँग सम्बन्धित निर्णय राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार अद्यावधिक नगर्न’ निवेदन दिएको आयोगले जवाफी पत्रमा उल्लेख गरेको छ ।
ढकालले आफूलाई गरिएको निस्काशनविरुद्ध सर्वोच्च अदालतमा पनि मुद्दा हालेका छन् । उनको मुद्दा विचाराधीन अवस्थामा छ । पछिल्लो पटक आइतबार मुद्दाको पेशी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो । आयोगले राजनीतिक दबाबमा परेर पार्टीको विवरण अद्यावधिक नगरेको आरोप रास्वपा नेताहरूले लगाउँदै आएका छन् ।

Leave a Reply