अध्यक्ष लिङ्देनले पार्टीमा हैकमवाद लादेको महामन्त्री राणाको आरोप, पार्टी नफुटाउने प्रष्टीकरण (भिडिओ)

काठमाडौं । राप्रपाका महामन्त्री धवल शमशेर राणाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अति गरेपछि बाध्य भएर निर्वाचन आयोगको ढोका ढकढक्याउन आउन बाध्य भएको बताएका छन् ।

नवराज सुवेदीसँगै निर्वाचन आयोगमा उजुरी दिन पुगेका महामन्त्री राणाले अध्यक्षले आफूलाई मन नपरेका नेताहरूलाई हटाउन थालेको आरोप लगाए ।

उनले भने, ‘सहमतिमा जाऔँ भनेर पटक पटका भनेको छु तर त्यस्तो हुन सकेन । त्यो दुर्भाग्य हो । हामी निर्वाचन आयोगमा समेत आउनुपर्ने परिस्थिति बन्यो । लामो समयदेखि पार्टीमा योगदान गरेका मान्छेहरूलाई पार्टीबाट निकाल्ने, कसैले सानो विषयमा उहाँको बारेमा लेखिदियो भने त्यसलाई पदबाट हटाइदिने, हुँदा हुँदा अनुशासन आयोगको अध्यक्षलाई समेत हटाएर अर्को मान्छे राख्ने ?’

उनले अध्यक्षको विरोधमा केही गर्नासाथ जिम्मेवारीबाट हटाउन थालेको दाबी गरे । उनले भने, ‘महाधिवेशन ६ महिनामा आइरहेको छ, महाधिवेशनअघि यस्ता मान्छेहरू यसरी हटाउने भएपछि के को महाधिवेशन गर्ने ? सबैलाई हटाइदिए भइहाल्यो नि। अति नै भयो भनेर आज यहाँ आएको हौँ।’

उनले विधान अनुसार अनुशासन आयोगका अध्यक्षलाई निकाल्न नपाउने भन्दै सुवेदीलाई जिम्मेवारी नै दिनुपर्ने बताए। उनले आफूलाई समेत पटक पटक कारबाही गरेको स्मरण गर्दै हैकमबाट नस्वीकार्ने चेतावनी दिए । उनले पार्टी फुटाउन नदिने प्रस्ट पारे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *