काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले दुई ठुला दल मिलेर सरकार गठन भएको एक वर्ष बितिसक्दा पनि संस्थागत भ्रष्टाचार, बेरोजगारीलगायत जनताको समस्या हल गर्न नसकेको बताएका छन्।
सरकारको एक वर्षको काम गर्दा कांग्रेस एमालेबाट पनि जनताको समस्याको हल नहुने प्रमाणित भइसकेको बताए।
उनले भने, ‘संसद्का दुई ठुला दल मिलेर बनेको सरकारको गत एक वर्षको सबभन्दा ठुलो उपलब्धि भनेको अब पुराना दलहरूले जति पटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट देश र जनताका गम्भीर संरचनात्मक समस्याहरू (संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्पविकास, परनिर्भरता, पर्यावरण विनाश आदि) हल हुनै सक्दैनन् भन्ने कुरा आम जनताले बुझ्ने गरी व्यवहार मै प्रमाणित गरिदिनु हो।’
प्रचण्डले च्याँखे थापेर प्रधानमन्त्री भए पनि माखो मार्न नसकेको उनको टिप्पणी गरे।
उनले थपेका छन्, ‘तेस्रो ठुलो दलका एकल सुप्रिमोले पटक पटक च्याँखे थापेर सरकारको नेतृत्व गरे पनि यी गम्भीर संरचनात्मक समस्याहरूको समाधानमा कुनै माखो मार्न नसकेको पहिल्यै देखिसकिएकै हो।’
यो स्थितिमा अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलो छिटो आउने निश्चित भइसकेको बताए।
उनले थपे, ‘उनीहरूले त्यसको गम्भीर तयारी कसरी गर्छन् वा गर्नुपर्छ ? आगामी दिनको राजनीतिक विमर्श अव त्यता सोझिनुपर्छ। सबैले आआफ्नो छातीमा हात राखेर ममः भन्ने कि ?’

Leave a Reply