पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा सिलिङभन्दा ८ कराेड बढी बजेट आएकाे भन्दै जनप्रतिनिधिहरुले विराेध गरेका छन् ।
गाउँपालिकाले गत असार ९ गते लगभग ७२ करोड रूपैयाँको सिलिङमा बजेट बनाउने गरी निर्णय गरेपनि आज एक्कासी ८० करोड ४६ लाख बजेट प्रस्तुत गरेको उनीहरूको भनाइ छ ।
वडा नम्बर ४ का अध्यक्ष गोविन्द रायमाझीले एक्कासी सीमाभन्दा बढीको बजेट आउँदा अचम्ममा परेको बताए ।
‘गाउँपालिका अध्यक्षले सीधै गोजीबाट दिने जस्तो कार्यकर्तालाई बाँड्न कार्यपालिका घोटाला गरे । एक पटक पनि कार्यपालिकामा छलफल नगरी आवश्यकता नभएका, कार्यकर्ता पोस्ने खालका योजना ल्याएकोमा हाम्रो गम्भीर आपत्ति छ’, रायमाझीले आरोप लगाए ।
अन्य जनप्रतिनिधिहरुलाई समेत पार्टीगत पूर्वाग्रहमा बोल्न नदिई जबरजस्ती बहुमतको आड लिएर बजेट पास गरेको उनले जिकिर गरे ।
सुन्दरेढुङ्गा सालझण्डी नेपानेदेखि जुठा खण्डमा संघ र गाउँपालिकाको समपुरक कोषको ३ करोड बजेट फ्रिज गराउने ठेकेदार कम्पनीलाई म्याद थपेकोमा पनि विरोध गरिएको कार्यपालिका सदस्य महेश बरालले बताए ।
‘जसले काम गरेको छैन, आलटाल गरेको छ, जनताको पैसा फ्रिज गराएको छ, उसैलाई कारबाहीको सट्टा प्रोत्साहन गर्नु शंकाको विषय छ । कार्यपालिकामा छलफल नगरी २० प्रतिशत पनि वित्तीय प्रगति नगरेका ठेकेदारलाई म्याद थपियो’, बरालको टिप्पणी छ ।
वडा नम्बर ५ का अध्यक्ष हुमानसिंह कार्कीले यसअघिका वर्षमा कार्यपालिकामा छलफल गरी सहमति प्रयास गरिने भएपनि यसपटक छलफल नै सिलिङभन्दा बढी बजेट पेश गरिएको र आजमात्र थाहा पाएको बताए ।
८ नम्बर वडाका जनप्रतिनिधि, ४ का अध्यक्ष रायमाझी, कार्यपालिका सदस्य महेश बराल, वडा सदस्यहरु दानबहादुर थामी, रविलाल पोखरेल, ३ का वडा सदस्य धनबहादुर रायमाझीलगायतले विरोध गर्दै यसलाई नसच्याएसम्म गाउँपालिकाको कुनैपनि कार्यक्रममा सहभागी नहुने चेतावनी दिए ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले हिजो ४ नम्बरका वडाध्यक्षले कार्यपालिका राख्न प्रस्ताव गरेकोमा अध्यक्षले बैठक बस्न नभ्याइने जवाफ दिएको बताए ।
‘एकैचोटी जे गर्छ, सभाले गर्छ भनेपछि एकछिन भनाभन भयो । कानूनत: बजेट थपघट साथै सभामा लैजाने विषय कार्यपालिकामा छलफल गर्नुपर्ने कुरा अध्यक्षलाई जानकारी गराएको थिएँ । अध्यक्षज्यूले मुद्दा परेमा बेहोर्न तयार हौं । कार्यपालिका बस्नै परे फोन गर्छु । मेरो फोन आएन भने सभाको तयारी गर्नु भन्नुभयो, फोन आएन । अनि सभाको तयारी गरियो’, ज्ञवालीले सुनाए ।
गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई भएको जवाफ दिएका छन् ।
उनले भने,’कार्यपालिका भन्दा त सभा ठूलो होला नि ! सभाको बहुमतले बजेट पास गर्ने, ठेकेदार कम्पनीको म्याद थप गर्ने निर्णय गर्यो, सक्कियो ।’
सभामा सभाध्यक्ष भट्टराईले वडाध्यक्ष रायमाझीलाई कुरा राख्न ३ मिनेट समय दिएको र कार्यपालिका सदस्य बराललाई कुरा राख्ने समय नदिएपछि बैठक बहिस्कार गरेर निस्केका थिए ।

Leave a Reply