ग्रामथान गाउँपालिका अध्यक्षको मनोमानी : २ वडाध्यक्षलाई गाँउसभाको बैठकमा आउन रोक (भिडिओ)

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडा नम्बर ५ र वडा नम्बर ७ का अध्यक्षलाई गाउँ सभामा आउन नपाउने आदेश दिएका छन् ।

असार २७ गते भएको १७ औ गाउँ सभाको बैठकमा अनुशासन भङ्ग गरेको, अपमान जनक शब्द बोलेको र गाउँ सभाको प्रतिष्ठामा धक्का पुर्याएको आरोप लगाउँदै सात दिन सम्म गाउँ सभामा आउन नपाउने गरीको आदेश दिएका हुन् । अध्यक्ष माझीले वडा नम्बर ७ का अध्यक्ष वीरेन्द्र चौधरी र ५ का वडाध्यक्ष भेषनारायण चौधरीलाई सात दिन सम्म गाउँ सभाको बैठकमा आउन नपाउने गरी आदेश दिएका हुन् ।

उनले असार २७ गते पत्र जारी गर्दै वडा अध्यक्षद्धयलाई गाउँ सभामा आउन नपाउने गरीको आदेश दिएका हुन् । पत्रमा ग्रामथान गाउँपालिका सभा सञ्चालन कार्यविधि २०७४ को दफा १६(४) अनुसार सात दिन सम्म निजहरूलाई सभामा आउन नपाउने गरीको आदेश जारी गरिएको उल्लेख छ । वडा नम्बर ५ र ७ का वडाअध्यक्षहरु नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

गाउँ पालिका अध्यक्ष भने नेकपा माओवादीबाट निर्वाचित भएका हुन् ।

७९ को निर्वाचनमा विजयी भएका पालिका अध्यक्ष जय प्रकाश गच्छदार थारुको निधन भएपछि भएको उप निर्वाचनमा नमोनारायण माझी विजयी भएका हुन् । उनी विजयी भएसँग पालिकामा विवाद उत्पन्न हुँदै आएको छ ।

पत्रमा भनिएको छ, ‘१७ औ गाउँ सभाको तेस्रो बैठक सञ्चालन भइरहेको अवस्थामा यस ग्रामथान गाउँ पालिकाको गाउँ सभामा तपसिल बमोजिमका सदस्यहरूले अनुशासन भङ्ग गरेका छन् ।’

आज भएको गाउँ सभाको बैठकमा वडाअध्यक्षहरुले गाउँ सभाको नीति तथा कार्यक्रम माग गरेका थिए । पालिकाको अर्थ विधेयक र विनियोजन विधेयक कार्यपालिका बैठकबाट पास नभई सभामा पेस हुने भएपछि एमाले र काँग्रेसका जनप्रतिनीधिहरुले असार १० गतेको सभा बहिस्कार गरेका थिए ।

वडा नम्बर ७ का वडाध्यक्ष वीरेन्द्र चौधरीले अर्थ विधेयक र विनियोजन विधेयक कार्यपालिका बैठकमा पेस नभई बहुमत गाउँ सभाका सदस्य अनुपस्थित भएका सभामा कसरी बजेट पास भयो भनेर प्रश्न गर्दा अध्यक्षले आफूलाई निलम्बन गरेको बताए ।

उनले भने बजेट नीति तथा कार्यक्रम उपाध्यक्षले पढ्ने कानुनी व्यवस्था छ । उपाध्यक्ष सभामा उपस्थित नै नभएको अवस्थामा कसरी बजेट पारित भयो ? पारित भएको नीति तथा कार्यक्रम के हो भनेर माग गर्दा अध्यक्षले मनपरी गरेको बताए ।

गाउँपालिका उपाध्यक्ष गुणावती थारुले नीति तथा कार्यक्रम समेत आफूलाई हेर्न नदिएको बताइन् । उनले भनिन्,‘नीति तथा कार्यक्रम नदिईकन पास भयो भनेर पालिका अध्यक्षले भन्नु भयो । हामीले पास भएको नीति तथा कार्यक्रम दिनुस् भनेर माग गर्दा उहाँले वडाअध्यक्षहरुलाई निलम्बन गर्नु भएछ ।’

पालिकामा एमाले र काँग्रेसको बहुमत छ । बहुमत सदस्यले सभा बहिस्कार गरे पनि अध्यक्षले नीति तथा कार्यक्रम पास भएको घोषणा गरेपछि आजको बैठकमा विवाद भएको थियो ।

उप निर्वाचनबाट अध्यक्षमा माझी निर्वाचित भएपछि गैर कानुनी रूपमा नहरबाट माटो खनेर बेचेको विषयमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले नहर नखन्न भन्दै पत्र लेखेका थिए ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजाराम पौडेलले गैर कानुनी रूपमा नहरको शाखाबाट माटो निकालेर बेच्नेहरूलाई कारबाही गर्न अनुरोध गर्दा पौडेलले स्पष्टीकरण दिनुपरेको हो ।

पौडेलले प्रहरीलाई रोकिदिन भन्दै पत्र पठाएका थिए । पौडेलले पुस ९ गते ग्रामथानमा रहेको झोरा हाट प्रहरी चौकीलाई पत्र लेखेका थिए ।

यसै गरी उपाध्यक्ष हुँदा हुँदै वडाध्यक्षलाई कार्यबहाक अध्यक्ष दिएको विषयमा पनि अध्यक्ष विवादमा तानिएका थिए । उनले दिएको कार्यवाहक विषयमा उपाध्यक्ष थारुले हालेको रिट उपर सुनुवाइ गदै उच्च अदालतले अन्तरिम आदेश दिएको थियो । यसै गरी अध्यक्षमा निर्वाचित भएपछि उनले उपाध्यक्षको गाडी सुविधा समेत खोसेका थिए ।

अध्यक्ष माझीले वडा नम्बर २ का वडाध्यक्ष यादव खतिवडालाई गाली गलौच र अप शब्द बोल्दै ज्यान मार्ने धम्की दिएका थिए । ग्रामथान गाउँपालिकामा वडाहरूमा दिने भुक्तानी रोकिएको विषयमा दबाब दिएको भन्दै खतिवडा माथि माझी निकट गयानन्द माझीले समेत ज्यान मार्ने धम्की दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *