काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएसँगै पार्टी वृत्तमा बहसहरू बढेको छ ।
नेताहरूबीच तर्क र कित्ताकाट चलिरहँदा सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई ललकार्ने काम बन्द गर्न आग्रह गरे । उनले फेसबुकमा लेखेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ । बसौँ, आपसमा विमर्श गरौँ ।’
सचिव भट्टराईको यो पोस्ट सेयर गर्दै एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले दुर्गा प्रसाईँलाई केन्द्रीय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने, राप्रपासँग चुनावी गठबन्धन गर्नेदेखि भीम रावलको पार्टी सदस्यता खोसेकोसम्म पार्टीमा समीक्षा गर्नुपर्ने बताएकी छन् ।
उनले योगेशलाई जवाफ दिँदै भनेकी छन्, ‘विगत ११ वर्ष तपाईँले उल्लेख गरेको कुरा भएको छ दाइ कमरेड ! मान्छेहरू बल्ल पेलिनुको पनि हद हुन्छ भन्दै छन् । तर, राजनीति त विधि र विचारमा टेकेरै हिँड्नु पर्छ । फेरि पनि सांगोपांगो हिसाब, किताब केन्द्रीय कमिटीले गरोस् ।’
उनले खतराको घण्टी, सच्चिने वा सक्किनेलगायत यक्ष विषय र प्रश्नबाट भाग्न मिल्ने ठाउँ नभएको उल्लेख गरेकी छन् ।
तिम्सिनाले थपेकी छन्, ‘दुर्गा प्रसाईँलाई केन्द्रीय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने तहसम्म, राजेन्द्र लिङदेन, कमल थापा, धवल शमसेर , दीपक बोहरासम्मसँग गरेको चुनावी गठबन्धन र भीम रावललाई टिकट नदिने र पार्टी सदस्यता समेत खोस्ने हर्कत कमिटीका नाममा/संस्थाका नाममा भएका यी सबै ध्वस्तताको विषयमा छलफल र समीक्षा गरौँ ।’
तिम्सिना व्यवसायी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा दान लिएको निर्णयको विरोध गर्दा कारबाहीमा परेको थिइन् । उनी र स्थायी कमिटी सदस्य बिन्दा पाण्डेको हालैमात्रै निलम्बन फुकुवा भएको थियो ।

Leave a Reply