रुपन्देही । रुपन्देही क्षेत्र नं ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनमा मधेश केन्द्रीत दलहरुले नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारलाई साझा बनाउने निर्णय गरेसँगै यो सहमति पालना भए यहाँ बलियो शक्ति बन्ने भएको छ ।
उत्तर–दक्षिण भूगोलमा रहेको यो क्षेत्र तराई–मधेशमा सक्रिय राजनीतिक दलहरूको एलायन्स ‘संघीय लोकतान्त्रिक मञ्च’मा आवद्ध दलहरुको राम्रो जनमत भएको क्षेत्र हो ।
दुई दिनअघि यो मन्चले रूपन्देही ३ मा हुने उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने र त्यसका लागि नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारलाई साझा उम्मेदवारको रूपमा समर्थन गर्ने निर्णय गरेको छ । यसअघि पनि उनीहरु बसेर सहकार्य गर्ने निर्णय गरेका थिए ।
यो क्षेत्रबाट २०७९ सालको उपनिर्वाचनमा मधेश केन्द्रित दलहरूमध्ये नाउपाका उम्मेदवारले धेरै मत पाएको र समानुपातिकमा पनि उसैको धेरै मत आएकाले त्यसले अगाडि सार्ने उम्मेदवारलाई समर्थन गर्ने आधार तय गरेर अगाडि बढेको यो बैठकको अध्यक्षता गरेका तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले जनाएका छन् ।
यो बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपा अध्यक्ष रंजिता श्रेष्ठ, नेता रेशम चौधरी तथा मधेश केन्द्रित दलका नेताहरू राजेन्द्र महतो, हृदयेश त्रिपाठी, रामकुमार शर्मा, डा. शिवजी यादव, केशव झालगायत उपस्थित भएकाले पनि यसलाई बलियो आधार मान्न सकिने नाउपाका नेताहरुको बुझाई छ ।
यो क्षेत्रमा २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले ६ हजार दश र जसपाले ५ हजार २९१ मत, लोसपाले ५ हजार ०५३, जनमत पार्टीले ३ हजार ७३२, माओवादी केन्द्रले २ हजार ६ सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी लौरोले १ हजार ३४७ र नेकपा एसले ७८१ मत पाएका थिए ।
त्यसैगरी पहिलो बनेको नेपाली कांग्रेसले २० हजार २७८, दोस्रो बनेको एमालेले १६ हजार ९८६, तेस्रो बनेको रास्वपाले १४ हजार १५४ र चौथो बनेको राप्रपाले ९ हजार १८३ मत पाएको थियो । यस आधारमा पनि मधेश केन्द्रीत दलको मत जोड्दा र उनीहरुबीच सहमति कार्यान्वयन भएमा बलियो शक्ति बन्न सक्ने आंकलन गर्न सकिन्छ तर दलबाट बन्ने उम्मेदवार कस्तो छनौट हुने भन्ने विषय प्रमुख रहने मोर्चामा रहेका दलका नेताहरुको भनाइ छ ।
को–को छन् नाउपाबाट मुख्य दावेदार ?
नाउपामा सबै मधेसी दलले साथसमर्थन दिने भएपछि उम्मेदवारको लागि धेरै जना आकांक्षी देखिएका छन् । पार्टी केन्द्रीय सदस्य ई. धनिराम चौधरी, प्रदेश समितिका अध्यक्ष डा. सरोज चौधरी, केन्द्रीय सदस्य रहेकी नन्दा चौधरी, जिल्लाका वरिष्ठ उपाध्यक्ष रहेका राकेश कोइरी, नेता तुलसी थारु प्रमुख दावेदारका रुपमा अघि बढेका छन् ।
यसअघि नाउपाबाटै कुलमान घिसिङलाई उम्मेदवार बनाउने र नेता रेशम चौधरी रुपन्देही आउने विषयका समाचारलाई सो पार्टीले अस्वीकार गरेको छ । नेता रेशमले नेपाल प्रेससँग कुरा गर्दै कुलमान पार्टीको उम्मेदार बन्न नसक्ने र रुपन्देहीकै उम्मेदार बनाउने गरी प्राथमिकतामा नराखेको जनाएका छन् ।
अहिले आकांक्षी भएका धनिराम सोही क्षेत्रमा पर्ने सियारी, सरोज भैरहवा, नन्दा सियारी, राकेश भैरहवाकै हुन् । प्रदेश अध्यक्ष सरोजले ६ दलहरुले गरेको सहमतिअनुसार अघि बढ्ने र उम्मेदार सिफारिसका विषय तयारीमा रहेको नेपाल प्रेसलाई बताए ।
‘उम्मेदारका विषयमा छलफल भइरहेको छ, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रमा पठाएर उम्मेदारको नाम टुंगो लाग्नेछ’ उनले भने । नाउपाबाट आकांक्षी धेरै भएपनि सरोज, नन्दा, धनीराम र राकेश मध्येबाटै उम्मेदार हुनसक्ने पार्टीका नेताहरुको आंकलन छ ।
यता यो मोर्चामा रहेका जनमतले भने निर्वाचनका विषयमा सहमति नभएकोले आफ्नो पार्टीको उम्मेदार हुनसक्ने जनाएको छ । केन्द्रीय सचिव भूपेन्द्र यादवले भने–‘अन्य विषयका बनेको मोर्चा हो, अधिकार प्राप्ति र संरक्षणका लागि बनेको हो निर्वाचनका लागि होइन, हामीले पनि उम्मेदार खोजिरहेका छौं ।’
स्थानीय तहको राजनीतिक अवस्था
उत्तर दक्षिण चिरा परेको रूपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन्, जुन निर्वाचन आयोगद्वारा अद्यावधिक प्रक्रिया अन्तर्गत छ । यो क्षेत्र बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिका समेटिएको छ ।
त्यस्तै, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा ७ र ८, ओमसतिया गाउँपालिकाको वडा २, सियारी गाउँपालिकाको वडा १, २, ३, ६, ७ र तिलोत्तमा नगरपालिकाको वडा १३, १४ पनि यसै क्षेत्रमा पर्छन् । स्थानीय तहको नतिजाअनुसार कांग्रेस बलियो देखिएको छ । सात पालिकामध्ये कांग्रेस–माओवादी गठबन्धनले ६ पालिकामा प्रमुख र २ पालिकामा उपप्रमुख जितेको छ ।
एमालेले १ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १ पालिकामा उपप्रमुख जितेको छ ।

Leave a Reply