रुपन्देही । बाँकेको कोहलपुर नगरपालिका वडा नं १ का एक सय २२ जना अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाण-पुर्जा वितरण भएको छ ।
भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले लामो समयदेखि लालपूर्जाबिहीन भएका स्थानीयलाई प्रकृया पूरा गरेर आज वितरण गरिएको जनाए । बाँकेमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण गरी भूमिहीन समस्या समाधानमा काम गरिएको उनले बताए ।
स्थानीयलाई पूर्जा वितरण गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाण–पुर्जा वितरणको कामलाई तीव्रता दिएको बताए ।
भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा बिहीवार बाँकेको कोहलपुरमा आयोजित अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले भूमिहीन र अव्यवस्थित वसोवासीका लागि लालपुर्जा वितरणलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गरे ।
उनले भने, ‘संघीय सरकारले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासीको हातमा जग्गाको लालपुर्जा पुर्याउने अठोटका साथ काम अघि बढाएको छ । यसमा प्रदेश सरकारको साथ र सहकार्य रहेको छ । भूमिको समस्या स्थायी रूपमा समाधान गर्दै भूमिहीन नागरिकलाई जग्गाको मालिक बनाउने वर्तमान सरकारको स्पष्ट चाहना हो । सोही अनुसार कामहरू अघि बढेका छन् ।’

मुख्यमन्त्री आचार्यले बर्षौंसम्म भूमि अधिकारबाट वञ्चित भएका नागरिकहरूलाई अधिकार दिलाउन सरकार निरन्तर क्रियाशील रहेको बताए । साथै, उनले अव्यवस्थित वसोवासीहरूले उठाएका समस्याहरू समाधान गर्न प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गर्दै आवश्यक पहल गरिरहेको जानकारी दिए ।
‘भूमिसँग जोडिएका सबैखाले समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर र संवेदनशील भएको छ’ उनले भने ।

Leave a Reply